यो जोडीको इन्गेजमेन्ट करिब एक वर्षअघि नै भएको थियो । नोभेम्बर २०२५ मा जापान भ्रमणका बेला ‘लीली’ ब्यान्डका ड्रमर म्याक्स मोरान्डोले माइलीलाई विवाहको प्रस्ताव राखेका थिए ।
काठमाडौँ — अमेरिकी पप गायिका तथा अभिनेत्री माइली साइरसले संगीतकार म्याक्स मोरान्डोसँग विवाह गरेकी छन् । ग्रामी विजेता ३३ वर्षीया गायिका साइरस र ‘लीली’ ब्यान्डका २८ वर्षीय ड्रमर मोरान्डोको वैवाहिक समारोह शनिबार क्यालिफोर्नियाको पाल्म स्प्रिंग्समा सम्पन्न भएको हो ।
ईटी (ईन्टरटेनमेन्ट टूनाइट) र पिपुल म्यागजिन का अनुसार वैवाहिक समारोह पाल्म स्प्रिंग्सस्थित एक स्विमिङ पुल छेउमा आयोजना गरिएको थियो, जहाँ माइली र म्याक्सले सेतो फूलले सजाइएको आकर्षक ‘आर्क’ मुनि उभिएर विवाह गरेका थिए ।
समारोहमा माइलीकी आमा टिस साइरस र बहिनी नोआ साइरससहित परिवारका निकट सदस्यहरूको उपस्थिति थियो । विवाहको अघिल्लो दिन शुक्रबार यो जोडीले आफ्ना नजिकका मानिसहरूका लागि ‘रिहर्सल डिनर’ को आयोजना गरेका थिए ।
माइलीकी सौतेनी बहिनी लिली–रोज पर्सेलले इन्स्टाग्राम स्टोरीमा शेयर गरेका तस्वीरहरूमा रातो फूलहरूले सजाइएका टेबल र दुवैको नामको पहिलो अक्षर अंकित (एम प्लस एम) लेखिएको मेनु कार्ड देखिएको थियो ।
एक वर्षअघि नै भएको थियाे ‘गोप्य’ इन्गेजमेन्ट
यो जोडीको इन्गेजमेन्ट करिब एक वर्षअघि नै भएको थियो, जसको औपचारिक पुष्टि डिसेम्बर २०२५ मा गरियो । अक्टोबर–नोभेम्बर २०२५ मा उनीहरू जापान भ्रमणमा रहेका बेला मोरान्डोले क्योटोको एक ऐतिहासिक होटल परिसरमा माइलीलाई विवाहको प्रस्ताव राखेका थिए ।
वन्डरल्यान्ड म्यागजिन सँग कुरा गर्दै मोरान्डोले भनेका थिए, ‘माइलीलाई प्रस्तावबारे पहिले नै शंका भइसकेको हुनाले मैले उनलाई अचम्ममा पार्न अन्तिम दिनको अन्तिम क्षणसम्म पर्खिनुपर्यो । होटलको एउटा सानो बन्द बगैंचामा पुगेपछि उनी भिडियो खिचिरहेकी थिइन्, त्यही बेला मैले उनको काँधमा थिचेर घुँडा टेकें ।’
सोही प्रसंगलाई सम्झिँदै माइलीले एप्पल म्युजिकका जेन लोसँग भनेकी थिइन्, ‘भ्रमणका क्रममा मैले उनलाई औंठी छ कि भनेर खोज्ने प्रयाससम्म गरेकी थिएँ । पछि जब उनले घुँडा टेकेर ‘के तिमी मसँग विवाह गर्छ्यौं ?’ भनेर सोधे, म त स्तब्ध भएँ । मैले लगभग त्यो सरप्राइज बिगार्न लागिसकेकी रहेछु ।’
डिसेम्बर २०२५ मा लस एन्जलसमा आयोजित ‘अवतारः फायर एन्ड एश’ को प्रिमियरमा माइलीले सुनको औंठी लगाएर आएपछि उनीहरूको इन्गेजमेन्ट सार्वजनिक भएको थियो । त्यसपछि माइलीका बुबा, प्रसिद्ध गायक बिली रे साइरसले पनि सामाजिक सञ्जालमा ‘तपाईंहरू दुवैलाई यति खुसी देख्न पाउँदा धेरै खुसी लागेको छ’ भन्दै बधाई दिएका थिए ।
‘ब्लाइन्ड डेट’ बाट सुरु भएको सम्बन्ध
सन् २०२१ को नोभेम्बरमा गुच्ची ‘लभ परेड’ फेसन शोमा पहिलोपटक सँगै देखिएका यी दुईको पहिलो भेट एक ‘ब्लाइन्ड डेट’ मार्फत भएको थियो । ब्रिटिश भोगलाई सन् २०२३ मा दिएको अन्तर्वार्तामा माइलीले भनेकी थिइन्, ‘त्यो मेरा लागि ब्लाइन्ड डेट थियो, तर उनका लागि होइन । मैले सोचेकी थिएँ, धेरैमा के नै होला र, चित्त नबुझे म उठेर हिँड्छु ।’
त्यसपछि अप्रिल २०२२ मा वेस्ट हलिउडमा उनीहरू खुलेर प्रेममा रहेको पुष्टि भयो । निजी र व्यवसायिक जीवनलाई सँगै लगेका यी दुईले माइलीका चर्चित सांगीतिक एल्बमहरू ‘इन्डलेस समर भेकेसन’ र ‘समथिङ ब्युटिफुल’ मा पनि सँगै काम गरेका छन् ।
यसअघि माइलीको विवाह अभिनेता लियाम हेम्सवर्थसँग भएको थियो । सन् २०१० को फिल्म ‘द लास्ट सङ’ को सुटिङका क्रममा भेटिएका उनीहरूबीच एक दशकसम्म प्रेम सम्बन्ध रहेपछि सन् २०१८ मा विवाह भएको थियो । तर, सन् २०२० मा उनीहरूले सम्बन्धविच्छेद गरे ।
पुराना अनुभवहरूबाट सिक्दै माइलीले यसपटक आफ्नो सम्बन्ध र विवाहलाई निकै निजी र सीमित राख्न चाहेकी थिइन् । पिपुल म्यागजिनसँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘उमेर बढ्दै जाँदा आफूले के कुरा बाहिर ल्याउने र के कुरा गोप्य राख्ने भन्नेमा मानिस बढी सचेत हुन्छ । हाम्रो यो गोपनीयता र सानो दायरा नै मेरा लागि सबैभन्दा महत्वपूर्ण कुरा बनेको छ ।’
अन्ततः ‘फ्लावर्स’ जस्ता चर्चित गीतकी गायिका माइलीले म्याक्स मोरान्डोसँग पाल्म स्प्रिंग्सको शान्त वातावरणमा आफ्नो नयाँ जीवनको अध्याय सुरु गरेकी हुन् ।
–यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारमा आधारित भई तयार पारिएको हो ।