निगमसँग वाइडबडी विमान अभाव भएपछि नियमित दिल्ली उडानको न्यारोबडी प्रयोग गरिएको छ, जसमा भीभीआईपी सुरक्षा मापदण्ड लागू हुनेछ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह नेपाल वायुसेवा निगमको न्यारोबडी विमानबाट अहिले दिउँसोको उडानबाट भारतको नयाँ दिल्ली जाँदैछन् ।
प्रधानमन्त्रीको भ्रमणका लागि निगमको नियमित दिल्ली उडान आरए २१७ प्रयोग हुने भएको हो । निगमसंग वाइबडी विमान अभाव भएकाले न्यारोबडी विमान उडानमा राखिएको निगमको उच्च स्रोतले बतायो ।
नेपाल वायुसेवा निगमका एक निर्देशकका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना छन् । न्यरोबडी विमान भएकाले निजी क्षेत्रका अधिकाशं सदस्य शनिबार अन्य निगम लगायत उडानबाट भारत गइसकेका छन् ।
प्रधानमन्त्रीको उडान निगमको भीभीआईपी उडान सञ्चालनसम्बन्धी कार्यविधि र म्यानुअल अनुसार संचालन गर्छ । यस्तो उडानमा कमान्ड सम्हाल्ने कप्तान इन्स्ट्रक्टर पाइलट (आईपी )हुनुपर्ने र चालक दलका तर्फबाट ककपिटमा तीन जनासम्म रहने व्यवस्था छ ।
‘सुरक्षा जँच पनि सामान्य उडानभन्दा बढी संवेदनशील र कडाइका साथ गरिन्छ,’ निगमका एक पाइलटले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक रिन्जी शेर्पाका अनुसार प्रधानमन्त्रीको आवागमनलाई ध्यानमा राखेर हवाई उडान सूचना (नोटाम) जारी गरीएको छ ।
‘हामी भीभीआईपीको वास्तविक आवागमनलाई हेरेर रियल टाइममै नोटाम जारी गर्छौं। पहिलेजस्तो लामो समय नराखी छोटो अवधिका लागि मात्रै यस्तो सूचना जारी गर्ने गरेका छौं,’ शेर्पाले भने।
प्रधानमन्त्रीको उडानका क्रममा विमानस्थलको हवाई आवागमन व्यवस्थापन, सुरक्षा जाच र अन्य उडानसंगको समन्वयलाई विशेष प्राथमिकता दिइने भनिएको छ । प्रधानमन्त्री सोमबार निगमको नियमित उडानबाटै काठमाडौं फर्किने तालिका छ ।
फर्किदा निजी क्षेत्रका प्रतिनिधिसहितको टोली रहेको जानकारी निगमले दिएको छ ।
सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।