नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशनमा उनले धार्मिक गुरुहरूले नेताहरूलाई प्रश्न गर्दै संसद् र सडक दुवैतर्फ अभियान चलाउनुपर्ने बताइन्।
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दु राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट आवाज उठाउनुपर्ने बताएकी छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले हिन्दु राष्ट्र स्थापनाका लागि धार्मिक गुरुहरूले पनि राजनीतिक दलका नेताहरूलाई दबाब दिनुपर्ने बताइन् । मठमन्दिरमा आउने नेताहरूलाई ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भनेर प्रश्न गर्नुपर्ने उनको भनाइ थियो ।
उनले हिन्दु समुदायका पक्षमा आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको बताइन् । गौहत्या, गौतस्करी र हिन्दु समुदायमाथि हुने हिंसाका घटनामा धार्मिक संगठनहरू सडकमा उत्रिएर विरोध गर्नुपर्नेमा उनले जोड दिइन् ।
‘गुरुवर्गहरूले अब मठ–मन्दिरमा आएकाहरूलाई समान व्यवहार गर्नुपर्छ । सबै आस्था वा अनास्था लिएर आएका हुन्छन्, धर्मनिरपेक्षवादी दलका मान्छेहरू पनि आएका हुन्छन् । फूलमाला पहिर्याउनुस्, स्वागत गर्नुस्, पूजापाठ गराइदिनुस्, तर तपाईंहरूको पनि जिम्मेवारी छ, हाम्रो हिन्दु राष्ट्र खोइ ? भनेर मठ–मन्दिरमा आउने नेताहरूलाई गुरुवर्गहरूले अब प्रश्न तेस्र्याउनुपर्छ,’ उनले भनिन् ।
उनले छठका बेला घाट भत्काइएको घटनामा राजनीतिक दलका नेताहरू र धार्मिक गुरुहरूले प्रश्न नगरेको भन्दै असन्तुष्टि जनाइन् । ‘अस्ति छठको कार्यक्रममा हेर्नुस् त, कस्तो सनातनीहरूको देश हो यो, छठको साँझ छठको घाट भत्काइयो । तर त्यही समयमा देशका शीर्ष सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलका सबै नेताहरू, वरिष्ठ नेताहरू तराईमा थिए । तर कसैले, न नागरिकले, न गुरुवर्गहरूले प्रश्न सोध्नुभयो, यो किन भयो भनेर ?’ उनले भनिन् ।
सनातनी समुदायको विश्वास जित्न हिन्दु समुदायका पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने उनको भनाइ थियो । ‘हामीले विश्वास गुमाएका छौँ, सनातनीहरूको । यस्तै समयमा हामी चुकेका छौँ । हिन्दुहरूको पक्षमा उभिन हामी कहिलेकाहीँ चुकेका छौँ । अबको यो संगठनले र राप्रपाले पनि गौहत्या हुँदा कहिल्यै मौन त बसेको छैन, तर अब हामी सडकमा आउनुपर्छ । गौहत्या हुँदा हामी सडकमा आएर प्रश्न सोध्नुपर्छ, गौतस्करी हुँदा हामीले त्यसको विरोधमा सडकमा आउनुपर्छ, हिन्दुहरूको हत्या हुँदा हामी खुलेर आवाज उठाउनुपर्छ,’ उनले भनिन् ।
उनले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले संसद्मा आवाज उठाउने र धार्मिक गुरुहरूले संसद्बाहिरबाट सहयोग गर्नुपर्ने बताइन् । ओलीले भनिन्, ‘हाम्रो यही समयमा, यही कालमा हिन्दु राष्ट्र स्थापना गर्न सकियोस् । यहाँहरूको आवाज हामी सदनमा राखेर निरन्तर आवाज उठाइराख्छौँ । यहाँहरूले सदनबाहिरबाट हामीलाई सहयोग गरिदिनुहुन अपिल गर्दछु ।’