Trending
Prev Story
Next Story

एनपिएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

Nagarik News •
November 22, 2026 • 07:07 AM
2
2 reads 0 reactions

एनपिएलको इतिहासमा एउटै खेलमा ५४ बलमा सर्वाधिक १२५ रन बनाएर सुदूरपश्चिम रोयल्सलाई उपाधि दिलाउन जर्ज मुन्सीले उल्लेखनीय भूमिका खेलेका थिए।

एनपिएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

टेलिभिजनमा मात्र देखिएका विश्व प्रसिद्ध क्रिकेटरहरूका साथै नेपाली युवाहरूद्वारा काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा गरिएको छक्का र चौकाको वर्षासँगै एकपछि अर्को विकेट झरेका रोमाञ्चकारी दृश्यहरूको सुखद सम्झनाका साथ नेपाल प्रिमियर लिग क्रिकेट एनपिएलको तेश्रो संस्करण सम्पन्न भएको छ।

दर्शकहरुले यसपालि एनपिएलमा तीन वटा शतक प्रत्यक्ष रूपमा अवलोकन गर्ने महत्त्वपूर्ण अवसर पाएका थिए।  पोखरा एभेन्जर्स टिमबाट खेलेका क्यानडाको राष्ट्रिय टिमका ओपनर ब्याटसम्यान युवराज सामरा, चितवन राईनोजबाट खेलेका श्रीलङ्काका ब्याटसम्यान कामिल मिसाराको शतकपछि फाइनलमा दर्शकहरुले स्कटल्याण्डका जर्ज मुन्सीको सनसनीपूर्ण सतकको मज्जा लिने मौका पाए।

एनपिएलको इतिहासमा एउटै खेलमा ५४ बलमा सर्वाधिक १२५ रन बनाएर सुदूरपश्चिम रोयल्सलाई उपाधि दिलाउन जर्ज मुन्सीले उल्लेखनीय भूमिका खेलेका थिए। सुदूरपश्चिम टिम तीन पटक फाइनलमा पुगे पनि यसपटक पहिलो चोटि लुम्बिनी लायन्स टिमलाई गत वर्षको बदला लिँदै १० विकेटले पराजित गरेर उपाधि जित्न सफल भएको थियो। लुम्बिनी लायन्स टिम भने अपराजित बन्दै फाइनलमा पुग्ने पहिलो टिम बनेको थियो।

गत वर्षको उपाधि विजेता लुम्बिनीले यसपालि पनि फाइनलमा उत्कृष्ट पुनरागमन गरेको थियो। पहिलो संस्करणमा सहभागी टिमहरूमध्ये पुछारमा रहन पुगेको लुम्बिनी दोस्रो संस्करणमा उपाधि हात पार्न सफल भए पनि यसपालि फाइनलमा फितलो प्रदर्शनले अघि बढन असमर्थ बन्न पुग्यो।

सुदूरपश्चिम रोयल्स भने तेस्रो संस्करणमा दोस्रो क्वालिफायर्समा चितवन राईनोजलाई पराजित गरी तेस्रो पटक फाइनलमा पुग्न सफल भएको थियो। गत वर्ष भने यो टिम फाइनलमा पुग्ने पहिलो टिम बन्न पुगेको थियो। गत दुई संस्करणको उप विजेताका रुपमा खुम्चनु परेको पीडामा रहेको सुदूरपश्चिम टिमका लागि फाइनल खेलमा जर्ज मुन्सीले लगातार प्रहार गरेको १२ छक्का तथा ८ चौकाले रङ्गशालामा भएको गुञ्जयमान दरिलो मल्हम बन्न पुगेको थियो।

यस वर्ष नेपालमा तीन  खेल मात्र खेलेका मुन्सीले लुम्बिनी लायन्ससँगै खेलेको पहिलो खेलमा कुनै पनि रन लिन नसकि पेभेलियर फर्किनुपरेको थियो भने चितवनसँगको खेलमा ८ रन मात्र लिएका थिए। अघिल्लो संस्करणमा विराटनगर किङ्गसका तर्फबाट खेल्दा ६ खेलमा कूल ६० रन मात्र बनाउन सकेका मुन्सीको पछिल्लो पटकको सफलता ऐतिहासिक हुन पुग्यो।

अझ उल्लेखनीय प्रसङ्ग त एनपिएलमा ८ टिममा सहभागी भएका स्वदेशी तथा विदेशी खेलाडीहरूमध्ये व्यक्तिगत रूपमा सबैभन्दा बढी कूल १७ वटा विकेट लिन चितवन राईनोज टिमका नेपाली खेलाडी रिजन ढकाल सफल हुनु नेपाली खेल जगतको गौरवको विषय मानिएको छ।

प्रतियोगितामा पोखरा एभेन्जर्सका युवराज सामराले व्यक्तिगत रुपमा कूल २९४ रन बनाउन सफल भएका थिए। दोस्रो स्थानमा विराटनगर किङ्गसका नेपाली खेलाडी लोकेश बमले २४२ विशाल रन बनाएका थिए।

प्रतियोगिता अवधिभर सबैभन्दा बढी १८ वटा छक्का बनाउन लोकेश बम सफल भएका थिए। पोखरा टिमका युवराज सामराले कूल २९ वटा चौका लिएका थिए। एउटै खेलमा सर्वाधिक ६ विकेट लिएर नेपालका सन्दिप लामिछानेले अर्को महत्वपूर्ण कीर्तिमान बनाएका थिए।

नेपालमा हालसम्म आयोजना भएका खेलकुद प्रतियोगितामध्ये सर्वाधिक धनराशिको पुरस्कार प्रदान गरिनु एनपिएल क्रिकेट प्रतियोगिताको विशेषता बन्न पुगेको छ।  निजी क्षेत्रको लगानीमा सञ्चालन भइरहेका सहभागी टिमहरुको यो प्रतियोगितामा निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुको सक्रियता तथा संलग्नता पनि आकर्षक रूपमा भइरहेका छन्। यसकै कारण जुटेको थुप्रै प्रयोजनले उपाधि विजेता सुदूरपश्चिम, उपविजेता लुम्बिनी लायन्स, तृतीय चितवन राईनोज र काठमाडौँ चौथो भएको काठमाडौँ गोर्खाजलाई गरी करोडौँ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। यसबाहेक विभिन्न टिमका नेपाली तथा विदेशी खेलाडीहरूले लाखौँ रुपैयाँ नगद पुरस्कार पाएका छन्।

प्रतियोगिता अवधिभर २१८ रनका साथै ६ विकेट लिएर प्रतियोगिताकै सर्वोत्कृष्ठ खेलाडी घोषित भई सुदूरपश्चिम टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले ५ लाख रुपैयाँ नगद पाएका थिए। फाइनलका सबैभन्दा प्रभावशाली खेलाडी बन्न सफल सुदूरपश्चिम टिमका जर्ज मुन्सीले बेग्ला बेग्लै राशिका विभिन्न चार पुरस्कार हात पार्न सफल भएका थिए।

यसपालि एनपिएल खेलेका खेलाडीहरूमध्ये सर्वाधिक भाग्यमानी नेपाली खेलाडीमा चितवन राईनोज टिमका बलर रिजन ढकाल हुन पुगे। हेटौँडाका २७ वर्षीय ढकालले सर्वोत्कृष्ठ नेपाली खेलाडीका रूपमा प्रतियोगिताको सबैभन्दा आकर्षक मानिएको करिब ६५ लाख रुपैयाँ लागतको ओमोडाको मोटरकार पुरस्कार जित्न सफल भएका छन्।

नेपाली राष्ट्रिय टिममा समेत प्रतिनिधित्व गरिसकेका ढकालले एनपिएलको तेस्रो संस्करणका ८ खेलमा सर्वाधिक १७ विकेट लिएका थिए। ढकालले ६.२२ को इकोनोमी रेटमा बलिङ गरेर विकेटहरू लिन पुगेका थिए।

यस अघिका प्रतियोगितामा सुदूपश्चिम टिमका कप्तान दिपेन्द्रसिंह ऐरी र लुम्बिनी टिमका कप्तान रोहित पौडेलले कार पुरस्कार जितिसकेका छन्। भोलि सुखद सम्भावना बोकेका रिजन ढकालले गोल्डेन क्यापका साथै मोटरसाइकल तथा दुई लाख रुपैयाँ नगद पुरस्कार पनि पाएका छन्।

जनकपुर बोल्ट्स टिमका तर्फबाट पहिलो पटक प्रतिभा छनौट शिविरमार्फत डेब्यु गरी कूल १२ विकेट लिन सफल रौतहटका १६ वर्षीय राहुल यादवलाई प्रतियोगिताको इमर्जिङ प्लेयर घोषणा गरेर मोटरसाइकल पुरस्कार प्रदान गरिएको थियो।

९ कक्षामा अध्ययन गरिरहेका राहुल ४४६ जनाले नाम दर्ता गराएको प्रतिभा छनौट शिविरमा उत्कृष्ट प्रदर्शन गरी टिममा समावेश हुन सफल भएका थिए।

नेपाली दर्शकहरूमाझ तक्लु दाइका नामले परिचित स्कटल्याण्डका टेलिभिजन कमेण्टेटर एण्ड्रयु लियोनार्ड विगत केही वर्षदेखि विभिन्न क्रिकेट प्रतियोगिताको सिलसिलामा नेपालको सकारात्मक सन्देश प्रवाह गर्ने काममा सक्रिय हुँदै आएका छन्।

एनपिएल क्रिकेटको टेलिभिजन कमेण्ट्री गरेका उनी सहितका अन्य विदेशी कमेण्टेटरहरूले प्रतियोगिता अवधिभर नेपालको कला संस्कृति, प्राकृतिक सौन्दर्य, मौलिकता आदि नेपालबारे जानकारी दिएका थिए। यस्तो प्रसंशनीय कार्यले भविष्यका दिनमा नेपालमा पर्यटन प्रर्वद्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।अझ फाइनलका दिनमा सबै कमेण्टेटरले ढाका टोपीका साथै नेपाली मौलिक पोसाक लगाएर उद्घोषण गरी गौरवान्वित बनाएका थिए।

एनपिएल खेल्न आएका विभिन्न मुलुकका ख्यातिप्राप्त खेलाडीहरूले नेपाल बसाइका सिलसिलामा सगरमाथाका साथै अन्य पर्यटकीय क्षेत्रमा गरेको भ्रमण तथा उनीहरूको अभिव्यक्ति पनि नेपालको प्रचारका लागि निकै महत्त्वपूर्ण हुने ठानिएको छ।

जाडोको मौसम बढिरहेको अवस्थामा रातिको समयमा समेत दिनहुँ अत्यधिक सङ्ख्यामा दर्शकहरू रङ्गशालामा उपस्थित भएर क्रिकेटको मनोरञ्जन लिनु यो प्रतियोगिताको सफलता मान्न सकिन्छ।

एनपिएलको उद्घाटन तथा फाइनल लगायतका खेलको टिकट छोटो अवधिमै सोल्डआउट भएबाट पनि क्रिकेटप्रतिको बढ्दो क्रेज देखिएको छ।

फाइनलका दिनको टिकट पाउन नसकेका क्रिकेटप्रेमीहरूले विरोध प्रदर्शनसमेत गरेका थिए।  विरोध बढ्दै गएपछि नेपाल क्रिकेट सङ्घ क्यानले फाइनलको टिकट प्राप्त गर्न नसकेका दर्शकहरूलाई आधिकारिक डिजिटल प्लेटफर्ममार्फत हेरेर प्रतियोगितालाई समर्थन गरिदिन आग्रहसमेत गर्नुपरेको थियो।

एनपिएलले दर्शकहरूमा क्रिकेटप्रतिको अभूतपूर्व आकर्षण बढाउँदै छुट्टै पहिचान स्थापित गरेको छ। तेस्रो संस्करणसम्म आइपुग्दा एनपिएलले क्रिकेटलाई सीमित खेलप्रेमीहरूको रुचिबाट आम नेपालीहरूका साथै विश्वका विभिन्न मुलुकका क्रिकेटलाई माया गर्नेहरूको ध्यान नेपालप्रति केन्द्रीत गर्न सफल भएको छ।

यो प्रतियोगिताको माध्यमबाट नेपालमा फ्रेन्चाइज क्रिकेटको व्यावसायिक ढोका खुल्न गएको छ। आठ फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धाले नेपाली क्रिकेटमा व्यावसायिक लगानी, प्रायोजन, विज्ञापन र खेल व्यवस्थापनको सम्भावना क्रमश: विस्तार हुँदै गएको छ।

एनपिएलले ३ वर्षको अवधिमा नेपालमा क्रिकेटलाई व्यावसायिक रुपमा उचाइमा स्थापित गरेर खेलकुद जगतमै अभूतपूर्व परिवर्तन भित्र्याउन सफल भएको छ। नेपाली क्रिकेटले पछिल्लो समय हासिल गरेको लोकप्रियता र अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाईमा पु¥याउन एनपिएल महत्वपूर्ण माध्यम बन्न पुगेको छ।

यो प्रतियोगिताले घरेलु क्रिकेटमा नयाँ उत्साह थप्नुका साथै खेलाडीहरूमा व्यावसायिक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्दै गएको छ। एनपिएलमा विदेशी खेलाडीहरूको बढ्दो सहभागिताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीसँग खेल्ने, सिक्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर पनि विगतका वर्षहरुको तुलनामा यस वर्ष अझ बढन पुग्यो। एनपिएलको माध्यमबाट नेपालका नयाँ तथा प्रतिभाशाली  खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर पाए। जसको कारण उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडीले राष्ट्रिय टोलीमा समेत प्रवेश गर्ने अवसर प्राप्त गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एनपिएलको तेस्रो संस्करणलाई आधिकारिक स्वीकृति दिनु यस पटकको उल्लेखनीय उपलब्धि मान्न सकिन्छ। एनपिएलका क्रममा खेलाडीहरूले लिएको रन तथा विकेटलाई खेलाडीको आधिकारिक टि २० तथ्याङ्कमा उल्लेख गरिएपछि खेलाडीहरू दीर्घकालीन रूपमा लाभान्वित हुन पुगे।

यसैगरी यसैपालि लागु गरिएको डिसिजन रिभ्यु सिष्टम डिआरएस प्रविधिले अम्पायरका कयौँ निर्णयसमेत सुधार गर्न सहयोग गर्यो जसले एनपिएल अझ निष्पक्ष र व्यावसायिक बन्दै यसको विश्वसनियता अझ बढ्न गएको महसुस गरिएको छ।

एनपिएल सञ्चालन भइरहँदा नेपालमा इन्टरनेशनल क्रिकेट काउन्सिल आईसिसीको क्षेत्रीय सम्मेलन आयोजना हुनु अर्को महत्त्वपूर्ण उपलब्धि हुन पुग्यो।  विभिन्न मुलुकका क्रिकेटका उच्च पदाधिकारीहरूको सहभागिता रहेको उक्त सम्मेलनका सिलसिलामा सहभागीहरूले एनपिएलको दोस्रो क्वालिफायर तथा फाइनल खेलको अवलोकन गरी नेपालको क्रिकेटको भविष्यको आंकलन गरेका थिए।

नेपाली क्रिकेटको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहिचानको लक्ष्यसहित आयोजना गरिएको एनपिएलमा नेपाली भाषाको टेलिभिजन कमेन्ट्री नहुनु उचित थिएन।आफ्नै देशको घरेलु क्रिकेट प्रतियोगिता हेर्न नेपाली दर्शकहरु अङ्ग्रेजी कमेन्ट्री सुन्न बाध्य भएका थिए।

विश्वभरका क्रिकेट प्रेमीहरुका लागि टेलिभिजन प्रत्यक्ष प्रसारण गरिएको भएता पनि नेपाली दर्शकलाई लक्षित गरी नेपाली भाषामा समेत टेलिभिजन प्रसारण गर्न भने आयोजक र प्रसारण अधिकार प्राप्त संस्थाले प्राथमिकता दिनुपर्ने थियो।

नेपाली भाषा मात्र बुझ्ने दर्शकहरुले खेलको प्राविधिक पक्ष, रणनीति र खेलाडीको प्रदर्शन सहज रूपमा बुझ्न पाएनन्।  नेपाली कमेन्ट्रीले खेलप्रतिको उत्साह, भावनात्मक सम्बन्ध र अपनत्व बढाउँछ।

नेपाली क्रिकेटको व्यावसायिक विकास र दर्शक विस्तारको लक्ष्य राखेको एनपिएलले नेपाली भाषाको प्रसारणलाई प्राथमिकता नदिनु दुखदायी पक्ष मानिएको छ।

एनपिएलका तेस्रो संस्करणसम्म राजधानी काठमाडौँमा भव्य रूपमा सम्पन्न भएका छन्। अब यसलाई विस्तारै राजधानी बाहिरका सहरहरूमा पनि विस्तार गरिँदै लैजानु आवश्यक ठानिएको छ। यसो गर्न सकिएको खण्डमा काठमाडौँ उपत्यका बाहिर पनि खेलकुदका पूर्वाधारको विकास हुनुका साथै स्थानीय दर्शक तथा खेलाडीहरू बढी मात्रामा लाभान्वित हुन सक्ने थिए।

एनपिएलका आगामी संस्करणहरूलाई अझ व्यवस्थित बनाउन एनपिएलमा आबद्ध भएका खेलाडीहरूलाई प्रतियोगिता सम्पन्न नभएसम्म अर्को प्रतियोगिता खेल्न नपाइने नियम कडाइका साथ लागू गरिनुपर्छ तर एनपिएलको क्यालेण्डर बनाउँदा अन्य सम्भावित प्रतियोगितालाई पनि ध्यान दिनुपर्ने जरुरी देखिन्छ।

विगतमा दसैँ र तिहार सक्किएपछि आयोजना गर्ने गरिएको एनपिएल क्रिकेटलाई यसपाली दसैँको उत्तरार्द्ध मा अघि सारिए पनि नजिक पर्ने महत्त्वपूर्ण प्रतियोगितालाई क्यानले उचित प्राथमिकता नदिएको स्पष्ट महसुस देखियो।

कतारको राजधानी दोहामा मङ्सिर ३ गतेदेखि सुरु भएको एसिसी मेन्स एसिया कप राईजिङ स्टार्समा एनपिएल नसक्किदैं नेपालले खेल टोली पठाउँदा भारत जस्तो क्रिकेटमा स्थापित मुलुकसँग लज्जाजनक रूपमा पराजय भोग्नुपर्यो। क्यानले १५ सदस्यीय खेल टोलीको घोषणा गरे पनि एनपिएलका कारण पाँच खेलाडी कतार जान नपाएपछि भारत ए सँग नेपालको खेल प्रदर्शन इतिहासमै कमजोर साबित हुन पुग्यो।

क्यानको प्राथमिकता एनपिएलभन्दा मुलुकको प्रतिनिधित्व गर्ने प्रतियोगिता हुनुपर्दथ्यो। दोहामा नेपालका खेल अझै बाँकी छन्। यसतर्फ क्यानको सचेतता अत्यन्त आवश्यक ठानिएको छ।

नेपाली क्रिकेटको क्यालेण्डर सन् २०२७ मा पनि व्यस्त रहने भएको छ। यस सिलसिलामा नेपालले विभिन्न देशमा थुप्रै प्रतियोगिताले खेल्दैछ क्रिकेटको भूमि अर्थात् होम अफ लर्डसमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पनि पाउने भएको छ। बङ्गलादेश, स्कटल्याण्ड तथा आयरल्याण्डसँग हुने आगामी खेल नेपालको क्रिकेटलाई अझ परिस्कृत बनाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई जितको बधाइ दिँदै प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत खेल क्षेत्रको विकासको लागि गरेकाे ऐतिहासिक घोषणा नेपालको खेलकुदको समग्र विकासमै महत्त्वपूर्ण मानिएको छ।

नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण हुने तथा क्रिकेट रङ्गशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिने भएपछि नेपालको खेलकुद क्षेत्र समग्र रुपमा गौरवान्वित भएको छ।

यसक्रममा सुदूरपश्चिमको फाप्ला क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको तथा आगामी तीन महिनाभित्र सबै रङ्गशालाको निर्माण प्रकृया अघि बढाइने भएको छ। हाल एनपिएललमा सहभागी क्लबहरुका लागि विभिन्न रङ्गशालाको व्यवस्था गरिने भएको छ। जसअनुसार विराटनगर किङ्ग्सका लागि बैजनाथपुर क्रिकेट रङ्गशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला,कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रङ्गशाला, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रङ्गशाला, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सकालागि पोखरा क्रिकेट रङ्गशाला, जनकपुर बोल्ट्सकालागि रामजानकी क्रिकेट रङ्गशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशालामा आवश्यक कार्य गरिने भएको छ।

क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारको अग्रसरताले विश्व मानचित्रमा नेपाललाई क्रिकेटको उचित भूमिको रूपमा पहिचान बनाउन स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १२:५२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

सरकारले नेपाल प्रिमियर लिग (एनपिएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको छैटौँ संस...

#एनपिएल #क्रिकेट
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः००...

#क्रिकेट #संस्करण
Compare →
Bizshala
13h ago
एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा...

#संस्करण
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशस्तरीय छनोट क्रिकेटमा सिरहा र धनुषाको जित

मधेश प्रदेशस्तरीय छनोट क्रिकेटमा सिरहा र धनुषाको जित

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा सुरु छनोटको पहिलो दिन सिरहाले आयोजक सप्तरी र धनुषाले महोत्तरीलाई समान ७ विकेटले हराए ।

#क्रिकेट
Compare →
Onlinekhabar
1d ago
१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

६ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पुरुष र महिला दुवैतर्फका खेलहरु मंसिर ८ गतेबाट सुरु हुनेछन् । पुरुषतर्फ सात प्रदेश, तीन विभागीय र एनआरएनएको सहभागिता …

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612