६ मंसिर, विराटनगर । केशरकुमार बुढाथोकी निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । विराटनगरमा भएको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा अर्का उम्मेदवार कमलप्रसाद गौतमलाई १४० मतले पराजित गर्दै बुढाथोकी अध्यक्ष निर्वाचित भएका हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बुढाथोकीले २७२ मत प्राप्त गरेका छन् । गौतमले १३२ मत पाएका छन् । अध्यक्षसहित नौवटै पदाधिकारीमा बुढाथोकी नेतृत्वको प्यानल विजयी भएको छ ।
निर्माण व्यवसायी संघ उदयपुरको कार्यसमिति सदस्यबाट संस्थागत नेतृत्वमा प्रवेश गरेका बुढाथोकीले जिल्ला संघको सचिव हुँदै कोशी प्रदेशको नीतिगत उपमहासचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् ।
महासंघको प्रथम उपाध्यक्षमा रमेश कार्की २४० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लेखनाथ खत्रीले १५५ मत पाए । द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा २३३ मतसहित विजयी हुँदा ऋषिकेश रिजाल (केशव) ले १५६ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेतले २६२ मत पाएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी रमेश पौडेल (दिनेश) ले १३४ मत प्राप्त गरे ।
महासचिवमा सन्तोषकुमार बस्नेत २८७ मतसहित निर्वाचित भए । उनले दुर्गाबहादुर बुर्जा मगरलाई १७२ मतान्तरले पराजित गरेका हुन् । मगरले ११५ मत पाए । पदाधिकारीमध्ये बस्नेतले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
उपमहासचिवमा लीलाप्रसाद गुरागाईं २४४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी योगराज दाहालले १४९ मत प्राप्त गरे । अर्काे उपमहासचिवमा चन्द्र पाठक २४० मतसहित निर्वाचित हुँदा इन्द्रकुमार कार्कीले १५३ मत पाए ।
कोषाध्यक्षमा किशोर भट्टराई २४३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी सुरेश भट्टराईले १४९ मत प्राप्त गरे । सहकोषाध्यक्षमा मनोजकुमार राई २३३ मतसहित विजयी हुँदा दिलबहादुर गुरुङले १६१ मत पाए ।
आठ सदस्यका लागि १० जनाबीच प्रतिस्पर्धा भएको थियो । सदस्यमा लक्ष्मी श्रेष्ठले ३६१ मत प्राप्त गर्दै निर्वाचनकै सबैभन्दा बढी मत पाइन् । उत्तमकुमार पौडेल ३५४, सुप्रिम राई ३४२, रणबहादुर कार्की ३०८, तिलकराज पोखरेल (मनोहर) २८६, चन्द्रशेखर सुवेदी २६३, गणेशप्रसाद यादव २५४ र सन्तकुमार मेहता २५३ मतसहित निर्वाचित भए ।
सदस्यका उम्मेदवार अर्जुन शेर्पाले २४५ र गोपालबहादुर बस्नेतले २४३ मत पाए पनि निर्वाचित हुन सकेनन् । प्रमुख निर्वाचन आयुक्त मुकेशकुमार उपाध्यायले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ पदाधिकारी र आठ सदस्य गरी १७ जना निर्वाचित भएका छन् ।