वीरगन्जका शिख समुदायले प्रकाशोत्सवलाई धार्मिक पहिचान दिनुका साथै राष्ट्रिय बिदाको माग गरेका छन् ।
पर्सा — शिख धर्मका प्रवर्तक तथा प्रथम गुरु नानक देवको कात्तिक शुक्ल एकादशीमा पर्ने जन्मजयन्ती शुक्रबारदेखि वीरगन्जमा धार्मिक श्रद्धा र उत्साहका साथ मनाइएको छ । मंगलबार साँझ गुरुद्वारा तथा आ–आफ्ना घरमा दीप प्रज्वलन गरी प्रकाशोत्सव मनाउने कार्यक्रम रहेको समुदायका अगुवा जसपाल सिंहले बताए।
शुक्रबारदेखि लगातार भजन–कीर्तन, अखण्ड पाठ, प्रभातफेरी र लंगर (सामूहिक भोजन) आयोजना गरेर प्रकाशोत्सव मनाएका शिख समुदायले यस धार्मिक पर्वमा बिदाको माग गर्दै आफ्नो धार्मिक पहिचान र राज्यबाट सम्मान पाउनुपर्ने बताएको छ।
वीरगन्जस्थित शिख समुदायको धार्मिक स्थल गुरुद्वारा साहेबमा बिहानैदेखि श्रद्धालुको चहलपहल हुने गरेको छ । लंगर प्रसाद वितरण कार्यक्रममा शिख समुदायबाहेक अन्य धर्मावलम्बी पनि पुगेर शुभकामना आदानप्रदान गरी रहेका छन् । शुक्रबारदेखि समुदायले प्रभातफेरी निकाल्नुका साथै गुरुद्वारामा अखण्ड पाठ गरिदै आएको छ ।
गुरु नानक जयन्तीलाई शिख समुदायले प्रकाशोत्सवका रूपमा मनाउँछ। यस दिन गुरु नानकको जीवन, दर्शन, योगदान र यात्राको स्मरण गर्दै शब्द–कीर्तन गर्ने, धार्मिक प्रवचन सुन्ने र मानव कल्याणका लागि प्रार्थना गर्ने परम्परा छ।
गुरु नानकलाई बाबा नानक र नानकशाहलगायत नामले पनि सम्बोधन गरिन्छ। उनको जन्म सन् १४६९ अप्रिल १५ मा तत्कालीन पञ्जाब क्षेत्रको तलवन्डीमा भएको थियो। अहिले उक्त स्थान पाकिस्तानको ननकाना साहिबका नामले चिनिन्छ।
गुरु नानकले मानव समानता, श्रमको सम्मान, सेवा र परोपकारलाई आफ्नो दर्शनको आधार बनाएका थिए। ‘किरत करो’ अर्थात् इमानदारीपूर्वक श्रम गर, ‘नाम जपो’ अर्थात् ईश्वरको स्मरण गर र ‘वंड छको’ अर्थात् आफूसँग भएको कुरा अरूसँग बाँडेर खाऊ भन्ने उनका तीन प्रमुख सन्देशलाई शिख समुदायले जीवनपद्धतिका रूपमा आत्मसात् गर्दै आएको छ।
गुरु नानक आफ्नो धार्मिक यात्राका क्रममा काठमाडौंसम्म आएको प्रमाण रहेको सिंह बताउँछन्। उनका अनुसार गुरु नानकले चार उदासी अर्थात् धार्मिक यात्राका क्रममा नेपालको भूमिमा समेत पाइला टेकेका थिए। उनका अनुयायी सन्त, महन्त, निर्मल र उदासी सम्प्रदायका व्यक्तिहरूको उपस्थिति तथा देशका विभिन्न स्थानमा रहेका मठ र गुरुद्वारामा सुरक्षित पुराना गुरु ग्रन्थ साहेबले पनि नेपालसँग शिख धर्मको पुरानो सम्बन्ध देखाउने सिंहको भनाइ छ।
गुरु नानक जयन्तीको अवसर पारेर सिंह नेतृत्वको श्री गुरु नानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिख समुदायका धार्मिक पर्वमा सार्वजनिक बिदा र राष्ट्रप्रमुखबाट शुभकामना सन्देश जारी गर्न माग गरेको छ।
राष्ट्रपति कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा गुरु नानक देवको प्रकाशोत्सव, नवौं गुरु तेगबहादुरको शहीदी दिवस, दशौं गुरु गोबिन्द सिंहको जन्मजयन्ती र वैशाखी पर्वमा सार्वजनिक बिदा दिन आग्रह गरिएको छ।
ज्ञापनपत्रमा गुरु नानकलाई शिख समुदायका मात्र नभई सम्पूर्ण मानव जातिका गुरुका रूपमा चित्रण गरिएको छ। उनको मानवता, करुणा, समानता, सेवा र धार्मिक सद्भावको दर्शनलाई राज्यले पनि सम्मान गर्नुपर्ने समुदायको माग छ। अन्य धर्मका प्रमुख पर्वमा राज्यका तर्फबाट शुभकामना सन्देश आउने गरे पनि शिख समुदायका पर्वमा राष्ट्रप्रमुखबाट शुभकामना सन्देशसमेत नआउनु विडम्बना भएको ज्ञापनपत्रमा उल्लेख छ।
धार्मिक पर्वमा बिदाको मागसँगै ज्ञापनपत्रले नेपालमा शिख समुदायले पुर्याएको आर्थिक तथा सामाजिक योगदान र अहिले भोगिरहेको उपेक्षाको विषय पनि उठाएको छ।
वीरगन्जमा शिख समुदायको बसोबास करिब ६ दशक पुरानो हो। आदर्शनगर र पानीटंकी क्षेत्रमा बाक्लो उपस्थिति रहेको यो समुदाय अहिले भने पातलिँदै गएको छ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।