झण्डै पाँच सय वर्ष पुरानो धार्मिक परम्पराअनुसार निकालिएको रथयात्रामा स्थानीयका साथै छिमेकी जिल्लाबाट आएका सयौं भक्तजन सहभागी भएका थिए ।
पाल्पा — पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरमा परम्परागत रथयात्रा निकालिएको छ । कात्तिक शुक्ल द्वादशीका अवसरमा शनिबार भगवान् ऋषिकेशवको रथयात्रा निकालिएको हो ।
झण्डै पाँच सय वर्ष पुरानो धार्मिक परम्पराअनुसार निकालिएको रथयात्रामा स्थानीयका साथै छिमेकी जिल्लाबाट आएका सयौं भक्तजन सहभागी भएका थिए । तानसेन नगरपालिका–१४, अर्गलीस्थित ऋषिकेशव मन्दिर परिसरबाट सुरु भएको रथयात्रा गुल्मीको रिडी बजार, ऋषिकेशव क्षेत्र हुँदै पाल्पाको अर्गली बजारसम्म पुर्याइएको थियो । रथलाई विभिन्न स्थानमा परिक्रमा गराउँदै भगवानको पूजा, आराधना र दर्शन गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईका अनुसार कात्तिक द्वादशीमा हरेक वर्ष ऋषिकेशव भगवान्को रथयात्रा निकाल्ने परम्परा रहिआएको छ । झण्डै पाँच सय वर्षदेखि निरन्तर चल्दै आएको यो परम्पराले रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जोगाउँदै आएको उनले बताए । रथयात्राका क्रममा वैदिक मन्त्रोच्चारण, धार्मिक भजन–कीर्तन र पण्डितहरूबाट पूजापाठ गरिएको थियो ।
भक्तजनले भगवान् ऋषिकेशवको रथ बोकेर रूरू क्षेत्र परिक्रमा गरेका थिए । बाटोमा स्थानीयले फूलमाला, धूप, दीप र प्रसाद चढाएर भगवान्को पूजा गरेका थिए । रथयात्रामा सहभागी भक्तजनले धार्मिक आस्था प्रकट गर्दै भगवान्को दर्शन र पूजाआजा गरेका थिए ।
पुजारीका अनुसार रथयात्रा केवल धार्मिक उत्सव मात्र नभई पुस्तौंदेखि चल्दै आएको परम्परा र संस्कृतिसँग जोडिएको पर्व हो । यसले स्थानीय समुदायबीच धार्मिक सद्भाव र एकता कायम गर्न पनि सहयोग पुर्याउँदै आएको छ ।
किंवदन्तीअनुसार सोह्रौं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्ने क्रममा भगवान् ऋषिकेशवको मूर्ति फेला पारेका थिए । उनले उक्त मूर्ति स्थापना गरी पूजा आराधना सुरु गराएको विश्वास गरिन्छ । त्यसयता यो मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ ।
रूरू क्षेत्र पुग्ने श्रद्धालुले कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशव मन्दिरमा दर्शन गर्ने परम्परा छ । यहाँ कालीगण्डकी स्नान, पूजा, दान र धार्मिक अनुष्ठान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । ऋषिकेशवसँगै गायत्री मातालगायत विभिन्न देवालयमा पनि भक्तजनले पूजा गर्ने गर्छन् । धार्मिक मान्यताअनुसार रूरू क्षेत्रलाई रूरू कन्याको जन्मस्थलका रूपमा समेत चिनिन्छ ।
विभिन्न धार्मिक ग्रन्थमा यस क्षेत्रलाई ऋषिमुनिहरूको तपोभूमिका रूपमा उल्लेख गरिएको छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको रूरू क्षेत्रको ऋषिकेशव मन्दिरले पाल्पासहित छिमेकी जिल्लाका श्रद्धालुलाई आकर्षित गर्दै आएको छ । रथयात्राले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।