५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन् ।
शुक्रबार दिउँसो १ बजे टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरू आक्रोशित भएका हुन् ।
उनीहरूले हिजो पनि त्रिवि क्रिकेट मैदानको गेटमा पुगेर प्रदर्शन गरेका थिए ।
आज पनि उनीहरूले ‘कालोबजारी बन्द गर’ लगायतका नारा लगाउँदै क्यानका पदाधिकारीविरुद्ध नाराबाजी गरेका छन् ।
टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट किन्न नसक्नुले सामाजिक सञ्जालदेखि त्रिवि मैदानसम्म नै असन्तुष्टि बढेको हो ।
एनपीएलको फाइनल खेल आज साँझ हुँदैछ ।
त्रिवि मैदानमा साँझ ५ बजेबाट सुरु हुने फाइनल खेलका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यसअघि खेल हेर्नका लागि टिकट नपाएको र टिकट वितरणमा पारदर्शीता नभएको भन्दै दर्शकहरू आन्दोलनमा उत्रिएका हुन् ।
प्रसाईं अनलाइनखबरका फोटोपत्रकार हुन् ।