Trending
Prev Story
Next Story

उपप्रमुखको सेवासुविधाले पढ्दै विपन्न विद्यार्थी

Ekantipur •
November 21, 2026 • 08:02 AM
1
1 reads 0 reactions

दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले शुल्क तिर्न नसकेका विद्यार्थी, उपचारविहीन विपन्न नागरिक र हिंसापीडितलाई सेवासुविधाको रकमबाट सहयोग गर्दै आएकी छन्।

उपप्रमुखको सेवासुविधाले पढ्दै विपन्न विद्यार्थी

दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले शुल्क तिर्न नसकेका विद्यार्थी, उपचारविहीन विपन्न नागरिक र हिंसापीडितलाई सेवासुविधाको रकमबाट सहयोग गर्दै आएकी छन्।

बैतडी — निर्वाचनका बेला उम्मेदवारहरूले आफू निर्वाचित भए सरकारी सेवासुविधा नलिने र जनताकै हितमा खर्च गर्ने प्रतिबद्धता जनाउनु नौलो होइन । तर, निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने जनप्रतिनिधि भने कमै भेटिन्छन् ।

बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले भने आफूले पाउने सेवासुविधा विपन्न नागरिक र आर्थिक अभावमा पढाइ छाड्नुपर्ने अवस्थामा पुगेका विद्यार्थीको सहयोगमा खर्च गर्दै आएकी छन् ।

निर्वाचनका बेला मतदातासँग गरेको प्रतिबद्धताअनुसार उनले आफूले पाउने सेवासुविधाको रकम नगरभित्रका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाइमा खर्च गर्ने गरेकी हुन् ।

विद्यालय तथा शैक्षिक संस्थाको शुल्क तिर्न नसक्दा प्रमाणपत्र लिन नपाएका र आर्थिक अभावकै कारण बीचमै पढाइ छाड्नुपर्ने अवस्थामा पुगेका विद्यार्थीलाई उनले आर्थिक सहयोग गर्दै आएकी छन् ।

उपप्रमुख चन्दका अनुसार अहिलेसम्म ११ जना विद्यार्थीलाई जनही ५० हजार र पाँच जनालाई जनही ६० हजार रुपैयाँका दरले सहयोग गरिसकेकी छन् । शुल्क तिर्न नसक्दा अध्ययन पूरा गरे पनि प्रमाणपत्र लिन नपाएका तथा आर्थिक अभावले थप अध्ययन गर्नबाट वञ्चित विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गरिएको उनले बताइन् ।

उनको सहयोगले चार वर्षदेखि प्रमाणपत्र लिन नपाएकी कृषि जेटीए उत्तीर्ण निशा दमाईंले पनि प्रमाणपत्र प्राप्त गरेकी छन् । ६० हजार रुपैयाँ शुल्क बुझाउन नसक्दा उनको थप अध्ययन गर्ने बाटो रोकिएको थियो । उपप्रमुख चन्दले उक्त रकम तिरिदिएपछि निशाले प्रमाणपत्र प्राप्त गरेकी हुन् । निशाजस्तै आर्थिक अभावका कारण शैक्षिक प्रमाणपत्र रोकिएका र पढाइलाई निरन्तरता दिन नसकेका अन्य विद्यार्थीले पनि उनको सहयोगले पढाइलाई निरन्तरता दिन पाएका छन् ।

विद्यार्थीको शिक्षामा मात्रै होइन, आर्थिक अभावका कारण उपचार गर्न नसकेका विपन्न नागरिक तथा हिंसापीडितलाई समेत चन्दले सहयोग गर्दै आएकी छन् । आफूले पाउने सेवासुविधाको रकमले नपुगे व्यक्तिगत रकमबाट समेत आवश्यकताअनुसार सहयोग गर्ने गरेको उनको भनाइ छ ।

‘राजनीति सेवा गर्नका लागि हो, कमाइ गर्नका लागि होइन । म पदमा भए पनि नभए पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेकी छु,’ उनले भनिन्, ‘मैले थाहा पाएका र सहयोगको अपेक्षासहित मसम्म आइपुगेका नागरिकलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएकी छु ।’

उनका अनुसार जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधालाई व्यक्तिगत लाभभन्दा नागरिकको आवश्यकतामा उपयोग गर्नुपर्छ भन्ने मान्यताले आफूले यस्तो गरेको बताइन् ।

आफूहरू जनताको काम गर्न जनताले विश्वास गरेर पठाएका हुनाले राम्रो काम गरे जनता आफैँ काम देखेर प्रशंसा गरिहाल्ने भएकाले आफूले सामाजिक सञ्जालमा गरेका कामको पोस्ट नगर्ने गरेको उनले बताइन् ।

नगरपालिकाका कार्यक्रमबाट सबैले भत्ता बुझ्दा पनि उपप्रमुख चन्दले भत्ता नबुझ्ने गरेको नगरपालिकाका न्यायिक समिति शाखा प्रमुख अम्बादत्त बोगटीले बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
सुदूरपश्चिम सरकारले ९ विद्यार्थीलाई एमबीबीएसमा छात्रवृत्ति दिने

सुदूरपश्चिम सरकारले ९ विद्यार्थीलाई एमबीबीएसमा छात्रवृत्ति दिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले शैक्षिक सत्र २०८३/८४ का लागि ९ जना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छात्रवृत्ति कार्य...

#विद्यार्थी
Compare →
Onlinekhabar
2d ago
अध्यागमन कडाइ नीतिले बेलायतमा घटे नेपाली विद्यार्थी

अध्यागमन कडाइ नीतिले बेलायतमा घटे नेपाली विद्यार्थी

३ मंसिर, लन्डन । बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लोकप्रिय गन्तव्यहरूमध्ये एक मानिन्छ । तर, सरकारको कठोर अध्यागमन नीतिका कारण अहिले यहाँ आउने विदेशी विद्यार्थी क्रमशः घट्न थालेको तथ्यांकले देखाएका छन् । बेलायत पढ्न आउने नेपालीसहित अन्तर्राष्ट्रिय …

#विद्यार्थी
Compare →
Bizshala
4d ago
एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) बाट लेखिएको देखाउने सफ्टवेयरको रिपोर्टलाई मात्रै आधार बनाएर विद्यार्थीका...

#विद्यार्थी
Compare →
Nagarik News
6d ago
रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।

#विद्यार्थी
Compare →
Arthasansar
3w ago
सर्बियामा विद्यार्थी आन्दोलनको जित, भुसिचले स्वीकारे चुनावी हार

सर्बियामा विद्यार्थी आन्दोलनको जित, भुसिचले स्वीकारे चुनावी हार

सर्बियाका लामो समयदेखि प्रभावशाली नेता अलेक्जान्डर भुसिचले विद्यार्थी नेतृत्वको आन्दोलनसँग आकस्मिक संसदीय निर्वाचनमा हार स्वीकार गरेपछि देशभर उत्सव मनाइएको छ।...

#विद्यार्थी
Compare →

Related Stories

Education & Youth
Build #2612