विद्यार्थीहरूले एआईको सहयोगमा पाइथनदेखि मल्टिमिडिया सामग्रीसम्म सिक्दै समस्या समाधान, सिर्जनशीलता र व्यक्तिगत अध्ययन क्षमता विकास गरिरहेका छन्।
पाल्पा — पाल्पाको रामपुर नगरपालिका–७, बेझाडस्थित रामतुल्सी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत दिपसन न्यौपाने पछिल्लो समय एआईको प्रयोग गर्छन् ।
उनले एआईलाई प्रश्नको उत्तर खोज्ने माध्यमका रूपमा नभई सिकाइ सहायकका रूपमा प्रयोग गर्दै आएका छन् । ‘मैले आफ्नो अध्ययनलाई थप प्रभावकारी बनाउन सकेको छु,’ उनले भने, ‘पाठ्यक्रममा आधारित ज्ञानसँगै विभिन्न व्यावहारिक तथा सिर्जनात्मक सीप सिक्न सक्ने भएको छु ।’ रामतुल्सी माविमा कक्षा ९ देखि १२ सम्म सूचना तथा प्रविधि विषयको कक्षा सञ्चालनमा छ ।
तानसेन–४, सिल्खानटोलस्थित मोहनकन्या माविमा कक्षा ११ मा अध्ययनरत सिमिता श्रेष्ठले पनि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अध्ययन गर्छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट पाठ्यक्रममा आधारित ज्ञानसँगै विभिन्न व्यावहारिक तथा सिर्जनात्मक सीप सिक्दै आएकी छन् । एआईको प्रयोगबाट पावरपोइन्ट प्रस्तुतीकरण, भिडियो निर्माणका साथै प्रोग्रामिङ तथा कोडिङ सिकिरहेको उनले बताइन् । ‘कतिपय त्रुटि पत्ता लगाउने, सुधार गर्ने तथा साना–साना परियोजना निर्माण गर्ने अभ्यास गर्दै आएकी छु,’ उनले भनिन्, ‘विद्यार्थीलाई केवल कोड कण्ठ गर्नेभन्दा समस्या समाधान गर्ने तरिका सिक्ने अवसर हो जस्तो लाग्छ ।’
न्यौपाने र श्रेष्ठ मात्र होइन, पछिल्लो समय कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले एआईको सहयोगमा पाइथन, एचटीएमएल, सीएसएस, जाभास्क्रिप्टलगायत प्रोग्रामिङ भाषामा लेखिएका कोडको अर्थ बुझ्ने गरेको रामतुल्सी मावि रामपुरका सूचना प्रविधि शिक्षक चन्द्रप्रकाश भट्टराईले बताए । उनका अनुसार एआईको सहयोगमा गणित, विज्ञान, कम्प्युटर तथा अन्य विषयका जटिल विषयवस्तु सरल भाषामा बुझ्न, उदाहरण माग्न र अभ्यासका प्रश्न तयार गर्न सकिन्छ । आफूले नबुझेका विषयलाई फरक–फरक तरिकाले व्याख्या गर्न लगाएर विद्यार्थीले व्यक्तिगत सिकाइ गर्न सक्ने उनले बताए ।
आईसीटी अध्ययन गर्ने विद्यार्थीले एआईको प्रयोगबाट प्रस्तुतीकरण, रिपोर्ट लेखन, परियोजना निर्माण र अनुसन्धानका आधारभूत सीप पनि विकास गर्न सक्ने उनले बताए । कुनै विषयमा परियोजना तयार गर्दा विषय छनोट, प्रश्न निर्माण, तथ्य वर्गीकरण, सामग्रीको संरचना र प्रस्तुतीकरणको शैलीबारे एआईबाट सुझाव लिन सकिने मोहनकन्या माविका आईसीटी शिक्षक तिलक भण्डारीले बताए । एआईबाट डिजिटल सामग्री निर्माण गर्न पनि सिक्न सकिन्छ । चित्र, इन्फोग्राफिक्स, भिडियोको स्क्रिप्ट, आवाज तथा अन्य मल्टिमिडिया सामग्री तयार गर्ने अभ्यास विद्यार्थीले गर्न सक्ने उनले बताए । यसले विद्यालय तहदेखि नै डिजिटल सिर्जनशीलता र सञ्चार सीप विकास गर्न सहयोग पुर्याउन सक्ने मोहनकन्या माविका प्रधानाध्यापक दीपक ज्ञवालीले बताए ।
एआईको प्रयोगबाट अंग्रेजी तथा अन्य भाषाको लेखन र सञ्चार सीप सुधार गर्न सकिन्छ । विद्यार्थीले आफूले लेखेको सामग्रीको व्याकरण, वाक्य संरचना र शब्द छनोट जाँच्न तथा नयाँ शब्दको प्रयोग सिक्ने गरेको रामतुल्सी मावि रामपुरका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।
एआईमार्फत विद्यार्थीले साइबर सुरक्षा र डिजिटल सुरक्षाका आधारभूत विषय पनि बुझ्न सक्ने उनले बताए । ‘शिक्षा विभाग वा शिक्षा मन्त्रालयले अहिलेसम्म एआई प्रयोगको कुनै गाइडलाइन पठाएको छैन,’ उनले भने, ‘जसले गर्दा विद्यार्थी र शिक्षक आफैंले प्रयास गर्ने गरेका छौं ।’
पछिल्लो समय विद्यार्थीले बलियो पासवर्ड निर्माण, दुई तहको प्रमाणीकरण, फिसिङ, अनलाइन ठगी, व्यक्तिगत सूचना सुरक्षा तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा समेत चासो दिने गरेको उनले बताए । तर एआईबाट प्राप्त सामग्रीलाई जस्ताको तस्तै कपी गरेर गृहकार्य वा परियोजनामा प्रयोग गर्नुको सट्टा तथ्य जाँच गर्ने, स्रोत खोज्ने र आफ्नै भाषामा प्रस्तुत गर्ने सीप विकास गर्नुपर्ने उनको सुझाव छ । एआईले अपूर्ण जानकारी दिन सक्ने भएकाले विद्यार्थीले यसको उत्तरलाई अन्तिम सत्यका रूपमा लिन नहुने प्रअ लम्सालले बताए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।