'सुडान–इथियोपियाबीचको यो तनावलाई धेरैले सामान्य रुपमै लिएका हुनसक्छन् । तर, यसलाई बेवास्ता गर्दा यो अझै चुलिन सक्छ । जसले ठूलो मात्रामा मानिसहरूको विस्थापन निम्त्याउन सक्छ ।'
कायरो — अफ्रिकाको हर्नका दुई छिमेकी देश सुडान र इथियोपियाबीचको तनाव चुलिएको छ । दुवै देशले आ–आफ्नो देशमा संघर्ष गरिरहेका सशस्त्र समूहहरूलाई छिमेकीले सघाएको आरोप लगाएका छन् ।
इथियोपियाले सुडानी सेनासँग लडिरहेका अर्धसैन्य बलहरूलाई आफ्नो भूभाग प्रयोग गरी शिविर खडा गर्न, ड्रोन उडाउन र सीमापार आक्रमणहरू गर्न छुट दिएको आरोप सुडानको छ ।
गत नोभेम्बरको सुरुआतमा सुडानी सेनाले यससम्बन्धी प्रमाणसहित इथियोपियाविरुद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र अफ्रिकी युनियनको शान्ति तथा सुरक्षा परिषद्मा उजुरी दर्ता गराएको छ । त्यसको केही दिनभित्रै इथियोपियाले सुडानी महावाणिज्य दूतावासका ६ जना कर्मचारीलाई निष्कासन गर्दै उक्त नियोग बन्द गर्न आदेश दिएको छ ।
यता, इथियोपियाले भने आफ्नो देशमा विद्रोह गरिरहेको टिग्रे समुहलाई सुडानी सेनाले सहयोग गरेको आरोप लगाएको छ ।
क्षेत्रीय गठबन्धनहरूको प्रतिस्पर्धा, स्रोतसाधन र विवादित भूमिजस्ता जटिल मुद्दाहरूले बढाएको यो तनावले क्षेत्रीय द्वन्द्व अझै फैलिन सक्ने जोखिम पैदा गरेको विश्लेषकहरु बताउँछन् ।
सन् २०२३ को अप्रिलमा सुडानी सेना र अर्धसैन्य बल ‘र्यापिड सपोर्ट फोर्स’ (आरएसएफ) बीचको लामो समयदेखिको तनाव पूर्ण युद्धमा परिणत भएको थियो । जसले फेरि एकपटक सुडानलाई गृहयुद्धमा धकेल्यो ।
द्वन्द्वबारे निगरानी गर्ने संस्था ‘एक्ल्ड’ का अनुसार सुडानमा त्यसयता अहिलेसम्म कम्तीमा ५९ हजार मानिसको ज्यान गइसकेको छ । यद्यपि वास्तविक संख्या योभन्दा निकै बढी रहेको सहायता समूहहरूको चेतावनी छ । यस गृहयुद्धले करिब १ करोड ३० लाख मानिस विस्थापित भएका छन् ।
चौथो वर्षमा प्रवेश गरेको यस युद्धका दौरान सुडानी सेनाले उत्तर, पूर्व र मध्य क्षेत्रहरूमा आफ्नो नियन्त्रण कायम राखेको छ । जसमा सुडानका लाल सागरका बंदरगाहहरू, तेल प्रशोधन केन्द्रहरू र पाइपलाइनहरू पर्छन् ।
यता, आरएसएफ र उसका सहयोगीहरूले पश्चिम डार्फर र दक्षिण सुडानको सिमाना जोडिएको कोर्डोफनका केही भागहरू नियन्त्रणमा लिएका छन् । यी दुवै क्षेत्रमा प्रशस्त तेल र सुनखानी छन् । यस युद्धको पछिल्लो केन्द्र भने इथियोपियासँग जोडिएको सुडानको ब्लु नाइल्स प्रान्त बनेको छ ।
द्वन्द्व अनुगमन गर्ने येल विश्वविद्यालयको ‘ह्युमनिटेरियन रिसर्च ल्याब’ का अनुसार गत अगस्टको अन्त्यमा सुडानी सीमानजिकैको इथियोपियाली सहर आसोसास्थित एक सैन्य अखडामा सैनिक वाहन र उपकरणहरू वृद्धि भएको देखिएको लगाएको थियो । उपग्रह तस्बिर (स्याटेलाइट इमेजरी) अध्ययन गर्दा आरएसएफका लडाकुहरु त्यहाँ देखिएको ल्याबले जनाएको थियो ।
अनुसन्धान समूहका प्रमुख नेथानिएल रेमण्डले भनेका छन्, ‘आरएसएफले दोस्रो मोर्चा खोल्ने प्रयासस्वरूप इथियोपियाबाट गतिविधि सञ्चालन गरिरहेको छ ।’
अर्कोतर्फ, इथियोपियाले सुडानी सेनाले टिग्रे विद्रोहीहरूलाई सघाएको दाबी गरेको छ । इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा सेप्टेम्बरमा पुनः लडाइँ सुरु भएको छ, जहाँ सन् २०२० देखि २०२२ सम्म 'टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’ र इथियोपियाली संघीय सेनाबीच चलेको थियो । दुई वर्षपछि शान्ति सम्झौतामा पुगेर टुंगिएको द्वन्द्व गत सेप्टेम्बरदेखि फेरि सुरु भएको हो ।
यस द्वन्द्व सुडान इरिट्रिया र इजिप्टले टिग्रे विद्रोहीहरुलाई सघाएको इथियोपियाका सेना प्रमुख फिल्ड मार्सल बिरहानु जुलालेको आरोप छ । तर, तीनवटै देशले यस आरोप खण्डन गरेका छन् । यही विवाद लम्बिदैं गएपछि गत नोभेम्बरको सुरुआतमा इथियोपियाले आसोसास्थित सुडानी मिसनका ६ जना कर्मचारीलाई निष्कासन गर्दै कन्सुलर कार्यालय बन्द गरिदिएको हो ।
इन्टरनेसनल क्राइसिस ग्रुपका हर्न अफ अफ्रिका प्रोजेक्ट डाइरेक्टर एलान बोसवेलले भनेका छन्, ‘इथियोपिया र सुडानबीच बढ्दो प्रोक्सी वारले दुवै देशलाई थप अस्थिर बनाउनेछ ।’
एक्ल्डका वरिष्ठ अफ्रिका विश्लेषक ल्याड सेर्वाटका अनुसार यस द्वन्द्वमा दुई देशमात्रै संलग्न छैनन्, अन्य देशहरुले पनि अप्रत्यक्ष सहयोग गरिरहेका छन् । ‘आन्तरिक द्वन्द्वको यो समयमा उनीहरूको आपसी सम्बन्ध बाह्य समर्थकहरूद्वारा निर्देशित छ,’ सेवार्टले भने,‘इथियोपियालाई युएई र सुडानलाई इजिप्ट–इरिट्रियाले सघाइरहेका छन् ।’
टर्कीले भने सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ । सेर्वाटका अनुसार इथियोपियाले आरएसएफलाई रसद (लजिस्टिक) सहयोग मात्रै गरेको हो । मुख्य सहयोग युएईले गरिरहेको छ ।
उसले यस समुहलाई हतियार र आर्थिक सहयोग गरिरहेको छ । यद्यपि, युएईले सुडानको युद्धमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको बताउँदै आएको छ ।
विद्रोहीहरुलाई आश्रय दिएको आरोप–प्रत्यारोपबाहेक इथियोपिया–सुडान सम्बन्ध बिग्रनुका अन्य कारणहरु पनि छन् । नाइल नदीमा इथियोपियाले निर्माण गरेको अफ्रिकाकै सबैभन्दा ठूलो जलविद्युत परियोजनाको मुद्दा पनि यसमा समावेश छ ।
इथियोपिया–सुडान सीमानजिकै करिब ५ अर्ब डलरको लागतमा निर्माण सम्पन्न भएको ‘ग्रान्ड इथियोपियन रिनासान्स ड्याम’ले इथियोपियाको ऊर्जा उत्पादन र अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
तर, यसले इजिप्ट र सुडानसँग विवाद उत्पन्न गराएको छ । सीमा क्षेत्रमा पर्ने नदी भएकाले सुडान र इजिप्टसँग जलस्रोत सम्झौता नगरी यस ड्याम सञ्चालन गर्न नपाइने दुई देशको अडान छ ।
अर्को विवादित मुद्दा ‘अल–फाशागा’ सीमा क्षेत्रको हो, जहाँ इथियोपियाली किसानहरूले लामो समयदेखि खेती गर्दै आएका छन् । इन्टरनेसनल क्राइसिस ग्रुपका अनुसार सन् २०२० को अन्त्यमा जब इथियोपियाली सेना टिग्रे विद्रोहीहरूसँगको लडाइँमा व्यस्त थियो, तब सुडानी सेनाले उक्त क्षेत्रमा आफ्नो नियन्त्रण पुनः स्थापित गर्ने प्रयास गरेको थियो ।
येल अनुसन्धान समूहका अनुसार सुडान–इथियोपियाबीचको यो तनावलाई धेरैले सामान्य रुपमै लिएका हुनसक्छन् । तर, यसलाई बेवास्ता गर्दा यो अझै चुलिन सक्छ । जसले ठूलो मात्रामा मानिसहरूको विस्थापन निम्त्याउन सक्छ ।