काठमाडौंस्थित लाभाना स्किन एन्ड हेयर क्लिनिककी कन्सल्टेन्ट डर्माटोलोजिस्ट तथा कस्मेटिक सर्जन डा. श्रेया बस्ताकोटीका अनुसार काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु प्रदूषणका कारण पनि छालाको हेरचाह गर्ने तरिका फरक हुन सक्छ ।
काठमाडौँ — छालाको हेरचाह कसरी गर्ने भन्ने विषयमा पछिल्लो समय इन्टरनेटमा अनेकथरी जानकारी पाइन्छन् । तर इन्टरनेटमा आएका सबै जानकारी उपयोगी हुँदैनन् । छालाको हेरचाह हावापानी, भौगोलिक अवस्था र मौसमअनुसार फरक हुने चिकित्सकहरू बताउँछन् ।
काठमाडौंस्थित लाभाना स्किन एन्ड हेयर क्लिनिककी कन्सल्टेन्ट डर्माटोलोजिस्ट तथा कस्मेटिक सर्जन डा. श्रेया बस्ताकोटीका अनुसार काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु प्रदूषणका कारण पनि छालाको हेरचाह गर्ने तरिका फरक हुन सक्छ । काठमाडौं विश्वविद्यालयबाट डर्माटोलोजीमा एमडी गरेकी बस्ताकोटीले बैंकक र मुम्बईमा एस्थेटिक सम्बन्धी तालिम लिएकी उनले छालासम्बन्धी विभिन्न सेवा दिँदै आएकी छन् । उनीसँग नेपालको भौगोलिक अवस्था र हावापानी अनुसार छालाको हेरचाह कसरी गर्ने भन्ने बारेमा ‘द काठमाडौं पोस्ट’ का रिभास रिजालले गरेको कुराकानीमा आधारित सम्पादित अंश–
नेपालमा छालासम्बन्धी कस्ता समस्या देखिन्छन् ?
हिमाली तथा उच्च पहाडी क्षेत्रमा कम तापक्रम र सुख्खा हावाका कारण छाला सुख्खा तथा संवेदनशील हुने, ओठ फुट्ने, घामले छाला डढ्ने, दाग–धब्बा देखिने र छिट्टै बूढो देखिने समस्या हुन सक्छ । काठमाडौंजस्ता सहरी क्षेत्रमा वायु प्रदूषणका कारण छालाको प्राकृतिक सुरक्षा तह कमजोर हुन सक्छ । यसले छाला सुख्खा हुने, जलन हुने, डन्डीफोर तथा दाग–धब्बाको समस्या बढाउन सक्छ । तराई तथा गर्मी क्षेत्रमा भने पसिना र घर्षणका कारण छालामा साना दाना आउने, रातो हुने समस्या बढी देखिन सक्छ ।
मनसुनमा छालाको समस्या कसरी फरक हुन्छ ?
मनसुनमा हावामा चिस्यानको मात्रा बढ्ने भएकाले ढुसीको संक्रमण, डन्डीफोर तथा छालामा हुने अन्य समस्या बढ्न सक्छन् । त्यसैले मनसुनमा ढुसीको संक्रमण, छालामा सेता वा खैरा दाग देखिने समस्या तथा छाला घर्षणका कारण हुने रातोपन र जलनजस्ता समस्या बढ्न सक्छन् । यसको विपरीत, सुख्खा मौसममा तर छाला सुख्खा हुने, जलन हुने र छालाको प्राकृतिक सुरक्षा तह कमजोर हुने समस्या भने बढी देखिन सक्छ त्यसैले मौसमअनुसार छालाको हेरचाह गर्ने तरिका पनि परिवर्तन गर्नुपर्छ ।
नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्र र तराईमा सनस्क्रिनको महत्त्व कस्तो छ ?
नेपालभर नै सनस्क्रिन छालाको हेरचाहको लागि महत्त्वपूर्ण छ । नेपालको उचाई धेरै भएको स्थानमा घामको किरणलाई कम मात्र फिल्टर गर्ने हुनाले त्यहाँ घामको प्रभाव बढी हुन्छ । यसले घामले छाला डढ्ने, कालोपन तथा दाग–धब्बा देखिने र समय अगावै छालामा बुढ्यौलीका लक्षण देखिने जोखिम कम गर्न मद्दत गर्छ । तराई तथा कम उचाइका क्षेत्रमा पनि लामो समय घाममा बस्ने वा काम गर्ने भए सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
यस्तो अवस्थामा मानिसले आफ्नो छालाको राम्रो हेरचाह कसरी गर्न सक्छन् ?
राम्रो स्किनकेयरका लागि धेरै उत्पादन प्रयोग गर्नुभन्दा सरल र नियमित दिनचर्या अपनाउनु महत्त्वपूर्ण हुन्छ । स्वस्थ छालाका लागि १० चरणको स्किनकेयर आवश्यक पर्दैन । आफ्नो छालाको प्रकारअनुसार फेसवास, मोइस्चराइजर र सनस्क्रिन प्रयोग गर्नु पर्याप्त हुन सक्छ । पटक–पटक स्किनकेयरका सामान परिवर्तन गर्नुभन्दा आफ्नो छालाको आवश्यकता र वातावरण अनुसार सही उत्पादन नियमित रूपमा प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ ।