ज्येष्ठ नागरिकहरूले उपचार, हेरचाह र सामाजिक सुरक्षामा सहज पहुँचका लागि छुट्टै मन्त्रालय, आयोग तथा सुविधासम्पन्न ज्येष्ठ नागरिकग्रामको माग अघि सारेका छन् ।
धनकुटा — जीवनको ऊर्जाशील समय परिवार, सन्तान र समाजको भविष्य निर्माणमा खर्चिएका ज्येष्ठ नागरिक तिनै सन्तानहरू रोजगारी र अवसरको खोजीमा टाढिँदै जाँदा एक्लोपन, उपेक्षा र असुरक्षामा बाँचिरहेका छन् । उनीहरूले स्वास्थ्य उपचार, हेरचाह र सामाजिक सुरक्षाजस्ता आधारभूत आवश्यकतासमेत सहजरूपमा पाउन नसकेको अवस्था छ । यिनै समस्या समाधानका लागि आवाज उठाउन देशभरबाट धनकुटामा भेला भएका ज्येष्ठ नागरिकले छुट्टै मन्त्रालय, आयोग र सुविधासम्पन्न ज्येष्ठ नागरिकग्राम स्थापनाको माग अघि सारेका छन् ।