बाजागाजासहित पुगेको कलाकारको टोलीले वृद्धाश्रममा आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई देउसी–भैलो र गीतसङ्गीतमार्फत मनोरञ्जन प्रदान गर्यो । वरिष्ठ लोकगायिका तुलसी पराजुलीको संयोजनमा पुगेका २० जना कलाकारले देउसीभैलोसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
धनकुटा — छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै विश्रान्ति वृद्धाश्रम । जहाँ परिवार र आफन्तको साथबाट टाढिएका ज्येष्ठ नागरिक बस्छन् । चाडपर्वको खुसी उनीहरूका लागि सम्झनामा मात्रै सीमित हुने गर्छ । तर, धनकुटा नगरपालिका–९ मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा सोमबारको माहोल भने फरक थियो ।
बाजागाजासहित पुगेको कलाकारको टोलीले वृद्धाश्रममा आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई देउसी–भैलो र गीतसङ्गीतमार्फत मनोरञ्जन प्रदान गर्यो । वरिष्ठ लोकगायिका तुलसी पराजुलीको संयोजनमा पुगेका २० जना कलाकारले देउसीभैलोसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा ७६ वर्षीया गायिका टिकादेवी पराजुलीसहित मेघराज घिमिरे, दुर्गा पराजुली, नगेन्द्र कटुवाल, मेखराज कार्की, रमेश अधिकारी, तारा ढकाललगायत कलाकार सहभागी थिए ।
तुलसी पराजुलीले आफ्ना चर्चित गीत ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘कान्छीको छाता ढल्काइदेऊ यता’ र ‘सालै जु सालै जु’ लगायतका गीत सुनाइन् । उनीसँगै अन्य कलाकारले पनि गीत प्रस्तुत गर्दा वृद्धाश्रमका ज्येष्ठ नागरिक र सहभागीहरू नाचगानमा रमाए ।
परदेशबाट फर्किएर आफ्नै देशको माटो सम्झँदै गीत गाएकी पराजुलीलाई वृद्धाश्रमकी सक्रिय सदस्य उर्मिला श्रेष्ठले साथ दिइन् । गायिका दुर्गा पराजुलीले पनि आफ्ना चर्चित गीत सुनाइन् । ७६ वर्षको उमेरमा हालै रेकर्ड गरिएको गीत प्रस्तुत गर्दै टिकादेवीले मनोरञ्जन दिलाइन् । मेघराज घिमिरेले हुर्रा भाकामा सबैलाई नचाए ।
वृद्धाश्रममा डेढ दशकभन्दा बढी समयदेखि बस्दै आएकी चितवनकी सुशीला वैद्यले पहिलोपटक यसरी रमाइलो अनुभव गर्न पाएको बताइन् । आफन्त भए पनि भेटघाट गर्न नआउने गरेको पीडा सुनाउँदै उनले कलाकारको आगमनले मनैदेखि खुसी बनाएको प्रतिक्रिया दिइन् ।
‘म आएको यतिका वर्षपछि मनदेखि नै खुसी भएर रमाइलो गर्न पाएँ,’ उनले भनिन्, ‘कैयौँ चाडपर्वमा नदीको किनारमा आफन्त सम्झिएर आँसु खसाल्दै मन हलुका बनाएकी छु ।’
वाकरको सहायताले हिँडडुल गर्ने सुशीला गीतमा ताल मिलाउँदै हात हल्लाएर सहभागी भएकी थिइन् । भोजपुर घर भएकी ७५ वर्षीया सीता तामाङले पनि गीतमा नाचेर साथ दिइन् । उनी केही वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी छन् ।
विगतका तिहारमा अन्यत्र देउसीभैलो खेले पनि यसपटक वृद्धाश्रमका ज्येष्ठ नागरिकसँगै रमाउन पाउँदा छुट्टै आत्मसन्तुष्टि मिलेको कार्यक्रम संयोजक तुलसी पराजुलीले बताइन् ।
‘परिवारबाट टाढिएका व्यक्तिहरूको अनुहारमा खुसी ल्याउन पाएको महसुस भएको छ,’ उनले भनिन्, ‘यसले आत्मसन्तुष्टि मिलेको छ ।’
वृद्धाश्रमलाई २२ हजार रुपैयाँसहित खाद्यान्न सहयोग
देउसीभैलो टोलीले मनोरञ्जनसँगै वृद्धाश्रमलाई आर्थिक तथा खाद्यान्न सहयोगसमेत गरेको छ । टोलीले २२ हजार रुपैयाँ नगदका साथै खाद्यान्न र फलफूल वितरण गरेको हो ।
गायिका तुलसी पराजुलीको परिवारका तर्फबाट ११ हजार १०० रुपैयाँ सहयोग गरिएको थियो । समाजसेवी प्रताप थापा, सुमन तामाङलगायतले पनि आर्थिक सहयोग गरेका थिए ।
सहयोग गर्ने दाताहरूलाई विश्रान्तिका सल्लाहकार स्वामी विजयानन्द सरस्वती, व्यवस्थापक पद्मप्रसाद काफ्ले, कार्यवाहक महासचिव पुष्करप्रसाद जोशी र क्रियाशील सदस्य दिनेश श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए । वृद्धाश्रमका तर्फबाट देउसीभैलो टोलीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा फोटो तथा भिडियोसमेत खिचिएको थियो ।
रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।