२८ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३ बस्ने ४७ वर्षीया सिता देबी चौधरी र बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने ३६ वर्षीय अशोक धामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय कैलाली पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।