दुईपल्ट फाइनल खेलिसकेको छ, तर दुवै पटक पराजित भएको छ । शनिबार तेस्रो फाइनलमा लुम्बिनीको सामना गर्दा यो तथ्य मेट्ने अवसर हुनेछ, सुदूरपश्चिमसँग ।
काठमाडौँ — भर्खर तीन सिजनमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको फाइनल खेल अगाडि तथ्यांकले भन्छ, सुदूरपश्चिम रोयल्स नै त्यस्तो टिम हो, जसले यो प्रतियोगितामा सबैभन्दा बढी खेल खेलेको छ, अनि सबैभन्दा बढी खेल जितेको पनि छ ।
त्यति मात्र होइन, यो टिम लगातार तेस्रो पल्ट फाइनल खेल्दैछ । अनि लगातार तीन पल्ट क्वालिफायर–वान खेल्ने टिम पनि यही हो । सुरुआती दुवै सिजन लिग चरणको समाप्तीमा यो टिम शीर्ष स्थानमा रहेको थियो । यो सिजन भने दोस्रोमा रह्यो, तर उसलाई फाइनल खेल्न भने कसैले रोक्न सकेन ।
सन् २०२४ को पहिलो सिजन सुदूरपश्चिमले नौ खेल खेलेको थियो । त्यसमा दुई हार मात्रै रहे, एउटा लिग चरणमा, अर्को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध । त्यस्तै सन् २०२४ को दोस्रो सिजन पनि यो टिमले नौ खेल नै खेलेको थियो, यसमा पनि दुई हार मात्रै रह्यो । एउटा लिग चरणमा, अर्कोमा लुम्बिनी लायन्सविरूद्ध फाइनलमा ।
यसपल्ट तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्स लिग चरणमा दुई खेलमा पराजित भयो । अनि क्वालिफायर–वानमा लुम्बिनीविरुद्ध पनि । तर क्वालिफायर–टुमा सुदूरपश्चिम चितवन राइनोजलाई हराउन सफल रह्यो ।
समग्रमा भन्दा सुदूरपश्चिमले अहिलेसम्म २७ खेल खेलेको छ, आजको फाइनलसहित एनपीएलमा उसको २८ औं खेल हुनेछ । सुदूरपश्चिमको खातामा २० जित छन् । यो त शानदार प्रदर्शन नै हो । हारको संख्या भने सात मात्रै छ । यसको अर्थ सुदूरपश्चिम कमै मात्र पराजित हुन्छ ।
यो टिमसँग जोडिएको एउटै दुर्भाग्य भनेको यसले दुईपल्ट फाइनल खेलिसकेको छ, तर दुवै पटक पराजित भएको छ । उपाधि जित्ने सुख उसले अहिलेसम्म आत्मसात् गर्न पाएको छैन । आफ्नो तेस्रो फाइनलमा लुम्बिनीको सामना गर्दा यो तथ्य मेट्ने भने अवसर हुनेछ, सुदूरपश्चिमसँग ।