साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा बिहीबार बिहानै हवाई आक्रमण गर्दै हुथी विद्रोहीका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाएको जनाएको छ ।
गठबन्धनका प्रवक्ता तुर्की अल–मल्कीले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा हुथी विद्रोहीले क्षेप्यास्त्र प्रक्षेपण प्रणाली र ड्रोनका पार्टपुर्जा निर्माण तथा जडान गर्न प्रयोग गर्दै आएका ६ वटा कार्यशाला ध्वस्त पारिएको जानकारी दिएका छन् ।
उनका अनुसार आक्रमणमा हुथी विद्रोहीको एक प्रमुख आपूर्ति केन्द्रसमेत ध्वस्त भएको छ ।
यसअघि सानामा बिहानै शृङ्खलाबद्ध भीषण हवाई आक्रमण भएको र विस्फोटका आवाज सुनिएको समाचार सार्वजनिक भएको थियो ।