Trending
Prev Story
Next Story

क्रिमिया पुल आक्रमणको बदला लिँदै युक्रेनमा रुसको ४०० ड्रोन र ११० मिसाइल प्रहार

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

४ मंसिर, काठमाडौं । रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी मिसाइल प्रहार गरिएको छ। यो आक्रमणमा ८ जनाको मृत्यु भएको …

क्रिमिया पुल आक्रमणको बदला लिँदै युक्रेनमा रुसको ४०० ड्रोन र ११० मिसाइल प्रहार

४ मंसिर, काठमाडौं । रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी मिसाइल प्रहार गरिएको छ। यो आक्रमणमा ८ जनाको मृत्यु भएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणमा २७ वटा ब्यालिस्टिक मिसाइलसमेत प्रयोग गरेको बताएका छन्।

उनले यसलाई युद्धकै सबैभन्दा ठूला आक्रमणमध्ये एक भनेका छन्। आक्रमणबाट कैयौँ पुल, बिजुली–पानीको आपूर्ति र रेलमार्गमा क्षति पुगेको छ।

यसअघि बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमिया पुलमा भएको आक्रमणप्रति असन्तुष्टि जनाएका थिए। उनले रुसले यस आक्रमणको पीडादायी जवाफ दिने चेतावनी दिएका थिए।

रातभरको आक्रमणबाट ज्यान जोगाउन मेट्रो स्टेसनमा लुके मानिस

युक्रेनका प्रधानमन्त्री सेर्गी कोरेत्स्कीका अनुसार आक्रमणमा मारिएका ८ जनामध्ये ६ जना राजधानी किभका थिए। बाँकी २ जनाको पश्चिमी सहर लभिभस्थित एक रेल्वे स्टेसनमा मृत्यु भयो।

रातभर भएको आक्रमणका क्रममा किभमा थुप्रै विस्फोट भए। ज्यान जोगाउन मानिसहरू मेट्रो स्टेसनहरूमा लुकेका थिए। रुसले निप्रो नदीमा बनेका किभका ३ वटा पुललाई पनि निसाना बनाएको छ। सरकारले सर्वसाधारणलाई कार लिएर काममा ननिस्कन अपिल गरेको छ।

रिपोर्टहरूका अनुसार फेब्रुअरी २०२२ मा युद्ध सुरु भएयता यी पुलहरूमा भएको यो हालसम्मकै ठूलो आक्रमण हो।

जेलेन्स्कीले रुसले सकेसम्म धेरै विनाश निम्त्याउने रणनीतिअनुसार आक्रमण गरेको आरोप लगाएका छन्। उनका अनुसार रुसी सेनाले क्लस्टर वारहेड भएका मिसाइलसमेत प्रयोग गर्‍यो। यस्ता मिसाइलमा एउटा ठूलो बमबाट कैयौँ साना बम निस्कन्छन्, जसले ठूलो क्षेत्रमा क्षति पुर्‍याउन सक्छन्।

जेलेन्स्कीका अनुसार रुसले सबै मिसाइल एकैपटक प्रहार नगरी विभिन्न समूहमा छोडेको थियो। प्रत्येक आक्रमणबीच २० देखि ३० मिनेटको अन्तर राखिएको थियो। यसले गर्दा आगलागी निभाउने, भग्नावशेष हटाउने र बिजुली–पानीजस्ता अत्यावश्यक सेवा सुचारु गर्ने काममा खटिएका उद्धार तथा राहत टोलीलाई काम गर्न कठिनाइ भयो।

उनले पुटिनले यो आक्रमण निकै सोचविचार गरेर र शक्ति प्रदर्शनका रूपमा गरेको बताए। जेलेन्स्कीले चीनमा भएका बैठकहरूलाई कमजोर बताउँदै विश्व व्यवस्थालाई आफ्नै हिसाबले बदल्ने रुसको प्रयास असफल भएको दाबी गरे।

युक्रेनले यो साता तेस्रोपटक क्रिमिया पुललाई निसाना बनाएको थियो

रुसको यो आक्रमण क्रिमिया पुलमा युक्रेनले गरेको हमलापछि भएको हो। यो पुलले क्रिमियालाई रुसको क्रास्नोदार क्षेत्रसँग जोड्छ। यो साता युक्रेनले तेस्रोपटक यसलाई निसाना बनाएको थियो।

यो पुल सडक र रेलमार्ग दुवैका लागि प्रयोग हुन्छ। युरोपको सबैभन्दा लामो यो पुल पुटिनका लागि निकै महत्त्वपूर्ण मानिन्छ। युक्रेनले पछिल्ला कैयौँ महिनादेखि रुसको सैन्य आपूर्ति र सामग्री ओसारपसार गर्ने मार्गहरूलाई निसाना बनाउँदै आएको छ।

जेलेन्स्कीले युक्रेनका पुल र अन्य पूर्वाधारमा रुसले गरेको आक्रमणको जवाफमा क्रिमिया पुललाई निसाना बनाइएको बताएका छन्।

पुटिनको बैठकअघि आक्रमणको समय मिलाइएको थियो

द गार्जियनका अनुसार युक्रेनका सैन्य स्रोतहरूले चीनमा ट्रम्प र जिनपिङसँगको बैठकअघि पुटिनलाई अन्तर्राष्ट्रिय मञ्चमा असहज बनाउन पुलमाथिको आक्रमणको समय जानाजानी त्यसरी मिलाइएको बताएका छन्।

युक्रेनका एक सैन्य अधिकारीले भने, ‘यो पुल पुटिनको शासनको प्रतीक हो। यसलाई ध्वस्त पारेर बाँकी दुवै ठूला नेताहरूलाई पुटिन आफूले देखाएजति शक्तिशाली छैनन् भन्ने सन्देश दिइएको छ।‘

रुसले क्रिमिया कब्जा गरेपछि बनाएको थियो पुल

करिब ३.६ अर्ब डलरको लागतमा बनेको केर्च ब्रिज रुसले क्रिमियामा कब्जा जमाएपछि निर्माण गरेको थियो। यो पुलले रुसलाई क्रिमियासँग जोड्छ। युक्रेनले यसलाई रुसी कब्जाको प्रतीक मान्छ र यसअघि पनि यसको निर्माणलाई अवैध बताउँदै आएको छ।

युक्रेनी सेनाका अनुसार यो पुल रुसी सेनाका लागि अत्यन्त महत्त्वपूर्ण छ। यही मार्ग हुँदै दक्षिणी क्षेत्रमा तैनाथ रुसी सैनिकहरूसम्म इन्धन, गोलाबारुद र सैन्य उपकरण पुर्‍याइन्छ। यद्यपि, पुटिनले भने यो पुल सर्वसाधारणले मात्र प्रयोग गर्ने दाबी गर्दै आएका छन्।

युक्रेनले यसअघि पनि दुईपटक यो पुल उडाउने प्रयास गरिसकेको छ। सन् २०२२ मा ट्रकमा बम राखेर आक्रमण गरिएको थियो भने सन् २०२३ मा सामुद्रिक ड्रोनमार्फत यसलाई निसाना बनाइएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
युक्रेनी आक्रमणबाट पुटिनको प्रतिष्ठित क्रिमिया पुल ध्वस्त

युक्रेनी आक्रमणबाट पुटिनको प्रतिष्ठित क्रिमिया पुल ध्वस्त

काठमाडौं : युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण गरेको छ । युक्रेनी मिसाइल र ड्रोनको योजनाबद्ध आक्रमणबाट पुलको मुख्य सडक खण...

#आक्रमण #पुल #रुस
Compare →
Nagarik News
5h ago
रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

#आक्रमण #पुल #रुस
Compare →
Ekantipur
9h ago
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिन सकारात्मक छन् । तर, यस्तो व्यवस्था अमेरिकी हितअनुकूल र व्यापक सुरक्षा प्याकेजको हिस्सा हुनुपर्ने उनको भनाइ छ । कुनै पनि सम्झौता युक्रेन र युरोपसँगको परामर्शमा मात्रै गरिने उनले स्पष्ट पारे ।

#युक्रेन #रुस
Compare →
Bizshala
1d ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#युक्रेन
Compare →

Related Stories

World News
Build #2612