पोल, तार र ट्रान्सफर्मर जडान भएको सात वर्ष बित्दा पनि बनगाड कुपिण्डे–७ र ८ का सयभन्दा बढी परिवारले विद्युत् पाएका छैनन्।
सल्यान — सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ स्थित सङ्ग्रहीको रमचाउने, गैरीकटेरी र वडा ८ को ज्यामिरे बस्तीमा पोल गाडेर तार तान्नुका साथै ट्रान्सफर्मर जडान गरेको सात वर्ष बितिसकेको छ। तर स्थानीयले अहिलेसम्म बिजुली बाल्न पाएका छैनन्। नजिकैका बस्ती राति झिलिमिली हुँदा यी तीन बस्तीका बासिन्दा भने अझै अँध्यारोमा बस्न बाध्य छन्।
निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै विवाद उत्पन्न भएपछि र २०७९ को अन्त्यतिर अख्तियारमा उजुरी परेपछि काम रोकिएको थियो। त्यसयता ट्रान्सफर्मर जडान भइसके पनि स्थानीयले विद्युत् सेवा उपभोग गर्न पाएका छैनन्।
तीन बस्तीका सयभन्दा बढी परिवार विद्युत् सेवा नपाउँदा प्रभावित भएका छन्। नगरपालिकाको बजेटमा सञ्चालित योजनाअन्तर्गत २०७६ वैशाखमै ती बस्तीमा बिजुलीका पोल गाडेर पूर्वाधार तयार पारिएको थियो। तत्कालीन नगरप्रमुख गोविन्द पुन र वडाध्यक्ष विनय केसीको कार्यकालमा सुरु भएको योजनाले लामो समय बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन। विद्युत् सेवा नहुँदा स्थानीय विभिन्न सुविधाबाट समेत वञ्चित भएका छन्।
अख्तियारमा उजुरी परेका कारण निर्माण कम्पनीले काम गर्न नसक्दा बस्तीका बासिन्दा अहिलेसम्म बिजुली बाल्नबाट वञ्चित भएको रमचाउनेका स्थानीय दोर्ण बस्नेतले बताए। लामो समयदेखि काम रोकिएपछि गाडिएका पोलसमेत ढल्न थालेको उनले जानकारी दिए।
'ट्रान्सफर्मर जडान गरेपछि सबैले २५/२० हजार खर्च गरी घरघरमा वायरिङ गरेका थिए। वायरिङसमेत पुरानो भइसकेको छ। बत्ती बल्ने छाँटकाँट देखिँदैन। पटकपटक सम्बन्धित निकायमा आग्रह गर्दै आए पनि कुनै फाइदा भएको छैन,' उनले भने, 'बत्ती नहुँदा बालबालिकाले राति अबेरसम्म पढ्न पाएका छैनन्। मोबाइल चार्ज गर्न अन्यत्र जानुपर्छ।'
ढोरपिपल, गाइदुवा र पाँच सय मिटर मात्रै दूरीमा रहेको वडा ८ को चिसापानी बजारमा बिजुली बलिसके पनि आफ्नो क्षेत्रमा भने राजनीतिक पूर्वाग्रहका कारण विद्युत् सेवा नपुगेको जस्तो देखिएको उनको आरोप छ।
गैरीकटेरीकी स्थानीय महिला विमला बुढाले लामो समयदेखि बत्ती बाल्न नपाउँदा रात परेपछि घरायसी काम गर्न कठिनाइ हुने गरेको बताइन्। बिजुली आउँछ भनेर सुरुमा खुसी भए पनि त्यो खुसी क्षणिक बनेको उनले सुनाइन्। गाउँमा पोल गाड्नुका साथै ट्रान्सफर्मरसमेत जडान गरिएको भए पनि बिजुली बल्ने सम्भावना नदेखिएपछि नजिकैका बस्तीमा राति बलेको बत्ती हेरेर चित्त बुझाउनुपरेको उनको भनाइ छ।
बनगाड कुपिण्डे नगरपालिका–७ का वडाध्यक्ष जीवनसिंह ठकुरीले ठेकेदारले गुणस्तरीय काम नगरेको भन्दै विवाद उत्पन्न भएपछि र अख्तियारमा उजुरी परेपछि काम रोकिँदा बस्तीका बासिन्दाले बिजुली बाल्न नपाएको बताए। पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान हुन नसकेको उनले जानकारी दिए।
उनका अनुसार केही वर्षदेखि बत्ती नबल्दा स्थानीय सौर्य टुकीको भरमा बस्दै आएका छन्। विद्युत् सेवा नहुँदा सय परिवार प्रभावित छन्। अख्तियारले केही महिनाअघि नै मुद्दाको टुंगो लगाइसकेको भए पनि पछिल्लो समय काम रोकिनुको कारण भने आफूलाई थाहा नभएको वडाध्यक्ष ठकुरीले बताए।
नगरपालिकाका इन्जिनियर महेश देवकोटाले सुरुमा अख्तियारमा उजुरी परेका कारण काम हुन नसकेको र त्यसको टुंगो लागेपछि पनि प्राविधिक तथा समन्वयको अभावमा योजना अलपत्र परेको बताए। अख्तियारमा मुद्दा टुंगिएपछि विद्युत् प्राधिकरण सल्यानसँग समन्वय गर्दा लाइन विस्तारमा कहाँ समस्या छ भन्नेबारे जानकारी नदिइएको उनको भनाइ छ। पालिकामा प्राविधिक अभाव हुँदा पनि काम अघि बढाउन नसकिएको उनले बताए।
झन्डै दुई करोड रुपैयाँको उक्त योजनाको काम सुनिता कविता कन्स्ट्रक्सनले गरेको थियो। अख्तियारमा मुद्दा परेपछि निर्माण कम्पनीले ५० लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउन नसकेको देवकोटाले जानकारी दिए। 'निर्माण कम्पनीले काम सम्पन्न गरिसकेको थियो। पालिकाले थप पोल गाड्न र तार तान्न बजेट पनि विनियोजन गरेको थियो। तर काम हुन सकेन,' उनले भने।
विद्युत् प्राधिकरण सल्यानका प्रमुख नरेशदत्त रावलले पोल गाडेको र तार तानेको धेरै वर्ष भइसकेकाले केही स्थानमा पोल तथा तारमा क्षति पुगेको बताए। नगरपालिकालाई पोल र तार मर्मत गर्न आग्रह गरे पनि अहिलेसम्म मर्मत नभएकाले लाइन जडान गर्न नसकिएको उनको भनाइ छ। पोल र तार मर्मत गरिदिए तत्काल लाइन जडान गरेर बत्ती बाल्न सकिने उनले बताए।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।