Trending
Prev Story
Next Story

भारतले सामान रोक्दा टिंकर र छाङ्ग्रुका विकास आयोजना अलपत्र

Ekantipur •
November 20, 2026 • 06:03 AM
6
6 reads 0 reactions

भारतीय बाटो हुँदै ल्याइएका पाइप, पुलका लट्ठा र निर्माण सामग्री एसएसबीले रोकेपछि टिंकर र छाङ्ग्रुमा खानेपानी तथा झोलुंगे पुल निर्माणको काम अलपत्र छ।

भारतले सामान रोक्दा टिंकर र छाङ्ग्रुका विकास आयोजना अलपत्र

भारतीय बाटो हुँदै ल्याइएका पाइप, पुलका लट्ठा र निर्माण सामग्री एसएसबीले रोकेपछि टिंकर र छाङ्ग्रुमा खानेपानी तथा झोलुंगे पुल निर्माणको काम अलपत्र छ।

टिंकर (दार्चुला) — भारतको बाटो हुँदै निर्माण सामग्री लैजान नदिँदा दार्चुलाको उत्तरी सीमावर्ती गाउँ टिंकर र छाङ्ग्रुमा विकास निर्माणका काम अलपत्र परेका छन् । भारतीय सुरक्षाकर्मीले सामान रोकेपछि छाङ्रुमा स्थानीयको श्रमदानबाट अघि बढाइएको खानेपानी आयोजना रोकिएको छ भने संघीय सरकारको लगानीमा निर्माणाधीन अर्को खानेपानी आयोजना र टिंकर जोड्ने झोलुंगे पुलको काम पनि ठप्प छ । पुलको ७५ प्रतिशत काम सकिए पनि दुई वर्षदेखि निर्माण सामग्री सीमापारि नै रोकिएका छन् ।

नेपालको सुदूर उत्तरको सीमावर्ती गाउँ छाङ्ग्रुमा खानेपानीको समस्या हुन थालेको ६ वर्ष भयो । एक सय २५ परिवारका लागि यहाँ जम्मा दुईवटा मात्रै धारा छन् । तर ती धारामा सबैलाई पुग्ने पानी आउँदैन । ‘पञ्चायतकालमा बनाएको खानेपानी हो । पहिला धारामा चौबीसै घण्टा पानी आउँथ्यो । खाने मान्छे पनि कम थिए,’ स्थानीय जगत ऐतवाल भन्छन्, ‘अहिले गाउँमा मान्छे पनि बढे । पाँच–छ वर्षयता धारामा पहिलेजस्तो पानी पनि आउन छोड्यो ।’ गाउँभन्दा करिब चार किलोमिटर टाढा रहेको मुहानमै पानी निकै घटेकाले खानेपानीको समस्या भएको उनले सुनाए।

खानेपानीको समस्या भएपछि यहाँका स्थानीय गाउँदेखि २० मिनेट टाढा रहेको कुवाबाट पानी ल्याएर खाइरहेका छन् । ‘जाँदा २० मिनेट लागे पनि उकालो भएकाले भारी बोकेर फर्किंदा ४०/५० मिनेट लाग्छ,’ छाङ्ग्रुकी ८० वर्षीया राधा बोहराले भनिन्, ‘घोडा–खच्चर हुनेहरूले त्यसमै बोकाएर ल्याउँछन् । केही नहुनेलाई पानी बोक्नकै दुःख छ । हामीजस्ता बूढाबूढीलाई त एक घण्टा लाग्छ ।’ अहिले प्रयोग गरिरहेको मुहानमा पानी घटेपछि समस्या झन् बढेको उनले बताइन् ।

खानेपानीको निकै समस्या भएपछि स्थानीयले वडा, पालिका र प्रदेश सरकारसम्म पुगेर अनुरोध गरे । तर उनीहरूको समस्या कतै सुनुवाइ भएन । कसैले नसुनेपछि यहाँका स्थानीयले करिब साढे तीन किलोमिटर टाढा रहेको गलेनधारु भन्ने ठाउँको मुहानबाट आफैं पानी ल्याउने जमर्को गरे । गाउँका सबै परिवारले आफ्नो गच्छेअनुसार रकम उठाए । छाङ्ग्रु घर भएर विदेशमा बस्नेहरूले पनि खानेपानी बनाउन रकम दिए ।

रकम जुटेपछि गाउँमा भएका केही पुराना पाइपसमेत प्रयोग गरेर स्थानीय हेमेन्द्र बोहराको अगुवाइमा छाङ्ग्रुका बासिन्दा आफैं खानेपानी आयोजना बनाउन कस्सिए । पाइपलाइन खन्ने, ढुंगा बोक्नेलगायतका काम श्रमदानबाट गरियो । गत वैशाखमा अपुग पाइप, फिटिङ्सलगायतका सामान दार्चुला सदरमुकाममा किनियो । तर खरिद गरिएका सामान भारतको बाटो हुँदै सीमाबिन्दु सीतापुल पुर्‍याएपछि भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले रोकिदिए ।

‘यो घरायसी प्रयोगको सामान होइन, निर्माण सामग्री लैजान मिल्दैन भनेर एसएसबीले रोकिदियो,’ खानेपानी निर्माणको अगुवाइ गरिरहेका हेमेन्द्रले भने, ‘सामान लैजान दिएको भए जेठमै गाउँमा पानी पुर्‍याउने योजना थियो । अहिलेसम्म रोकिएको छ ।’ यसअघि भारतीय सुरक्षाकर्मीले भ्याट बिल र दार्चुला प्रशासनको सिफारिसका आधारमा सामान छोड्ने गरेको भए पनि यो वर्षदेखि कडाइ गरिरहेको उनले बताए । ‘भ्याट बिल, जिल्ला प्रशासनको सिफारिस सबै देखायौं तर लैजान दिएनन् । माथिको आदेश हो भन्छन् । कहाँको आदेश हो, थाहा छैन,’ उनले भने ।

भारतीय सुरक्षाकर्मीको अवरोधका कारण छाङ्ग्रु मात्रै होइन, नेपालको उत्तरपश्चिम सीमाको अर्को गाउँ टिंकरको विकास निर्माण पनि प्रभावित भएको छ । निर्माण सामग्री भारतीय भूमिमै अड्किँदा टिंकर गाउँलाई लाङछुपुसँग जोड्ने झोलुंगे पुलको निर्माण दुई वर्षदेखि अलपत्र छ ।

संघीय सरकारको करिब चार करोड लागतमा निर्माणाधीन यो पुलको ७५ प्रतिशत काम सकिए पनि लट्ठा र स्टिलका पाता नेपाल ल्याउन नदिँदा निर्माण सम्पन्न हुन सकेको छैन । व्यास गाउँपालिका–१ र भारत जोड्ने सीतापुल नजिक गर्ब्याङ भन्ने ठाउँमा पुलका सामग्री बेवारिसे अवस्थामा छोड्नुपरेको निर्माण कम्पनी जङ्सन निर्माण सेवाका तर्फबाट टिंकर पुलमा काम गर्ने प्रतिनिधि धनलाल पुनले बताए ।

दसैंअघि पुलको लट्ठा बोक्न ६७ जना कामदार रोल्पाबाट ल्याएको तर एसएसबीले सामान उठाउन नदिएपछि उनीहरूलाई त्यसै फर्काउनुपरेको उनले सुनाए । ‘सामान उठाउन दिएनन् । हामीले ल्याएका कामदारको गाडीभाडा, खाना र बाटो खर्च त तिर्नुपर्‍यो,’ उनले भने, ‘कामै नगरी कम्पनीलाई १०/१२ लाख घाटा लाग्यो ।’ २०८२ साल मंसिरमै निर्माण सामग्री गर्ब्याङ पुर्‍याए पनि सुरक्षाकर्मीले उठाउन नदिएको उनको भनाइ छ ।

पुलको सामान लैजान सहजीकरणका लागि काठमाडौंदेखि दिल्लीसम्म धाउँदा हैरानी खेप्नुपरेको निर्माण कम्पनीका तीर्थ खड्काले बताए । ‘काठमाडौंस्थित दूतावासले पनि सामान लैजान दिनु भनेर पत्र लेखेको छ । हामीले दिल्लीसम्म पनि प्रतिनिधि पठाएर सामान छुटाउने कोसिस गर्‍यौं । तर सकेनौं,’ उनले भने, ‘एसएसबीले कुनै हालतमा सामान लैजान मिल्दैन भन्छ । त्यही सामान अड्केका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।’  नेपालबाट छाङरु र टिंकर पुग्ने पैदल जाने बाटोसमेत नहुँदा भारतबाटै हिँड्नुको विकल्प नभएको उनले बताए ।

टिंकर पुलको सामान भारतीय बाटो हुँदै नेपाल लैजान सहजीकरणका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भारतीय दूतावासलाई कूटनीतिक नोट पठाएको थियो । उक्त नोटपछि भारतीय दूतावासले भारतीय भन्सार कार्यालयहरूलाई कुनै ढिलाइ वा अवरोध नगरी नेपालसम्म सामान लैजान सहजीकरण गरिदिन आशयको पत्रसमेत लेखिसकेको छ । यद्यपि एसएसबीले पत्र देखाउँदासमेत सामान लैजान नदिएको निर्माण कम्पनीको भनाइ छ ।

एसएसबीले रोकेका कारण छाङ्ग्रुमै संघीय सरकारको लगानीमा बन्दै गरेको लिफ्टिङ खानेपानी आयोजनाको निर्माण पनि रोकिएको छ । जीआई पाइप, सिमेन्ट, सरिया, फिटिङ्सलगायतका सामान जेठमै सीमाक्षेत्रमा पुर्‍याए पनि त्यहाँबाट नेपालतर्फ लैजान नपाएको छाङ्ग्रु लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष सुरेन्द्र ऐतवालले बताए।

‘सडक नजिक सामान राखेका थियौं । एसएसबीले पारि लैजान नदिएपछि सुरक्षित ठाउँमा राख्छौं भन्दा पनि उठाउन दिएन,’ उनले भने, ‘बर्खाको पानीले त्यहाँ राखेको सिमेन्टजति सबै बिग्रियो ।’ अहिले पनि खानेपानीका सबै सामान सडकमा अलपत्र रहेको उनले सुनाए ।

एक पटक दूतावासले पत्र लेखेर पनि सामान लैजान नदिएपछि अर्को प्रक्रिया सुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए । ‘दूतावासको पत्रले नमानेपछि फेरि उहाँहरूले अर्को निवेदन दिनुभएको छ,’ पौडेलले भने, ‘परराष्ट्र मन्त्रालयमार्फत हामीले फलोअप गरिरहेका छौं ।’ उनले सीमामा अड्किएको निर्माण सामग्री कहिले छुट्छ भन्नेबारे भन्न नसकिने बताए ।

व्यास गाउँपालिकाको सीतापुलमा २०५८ सालसम्म नेपालको भन्सार कार्यालय थियो । माओवादी विद्रोह बढ्दै गएपछि त्यहाँबाट हटाइएको भन्सार अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन । भन्सार कार्यालय नहुँदा सीमाका गाउँमा विकास निर्माण मात्रै होइन, एसएसबीको अवरोधका कारण स्थानीयलाई घर निर्माणका सामग्री लैजानसमेत समस्या हुने गरेको छ ।

‘दैनिक उपभोगका लागि भनेर सीमित मात्रामा दाल, चामल, नुनतेल ल्याउन दिन्छ । निर्माण र व्यापारका सामान आउनै दिँदैन,’ टिंकरका चरन टिंकरीले भने, ‘भन्सार भइदिएको भए यो समस्या समाधान हुने थियो ।’ उनले भन्सार स्थापना गर्न गाउँपालिका र जिल्ला समन्वय समिति दार्चुलामार्फत पटक–पटक अनुरोध गरे पनि सरकारले नसुनेको बताए ।

दार्चुला भन्सार कार्यालयका प्रमुख मधु खनालले सीतापुलपारि भन्सार कार्यालयको जग्गा भए पनि अन्य पूर्वाधार केही नभएको बताए । तत्काल भन्सार स्थापना हुनेबारे कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ । ‘अहिले दार्चुलाकै मूल भन्सारमा पनि खासै कारोबार छैन । त्यसैले छोटी भन्सारको कुरा नभएको होला,’ खनालले भने, ‘खलंगाको मोटरपुल सञ्चालन भएर यहाँको भन्सार व्यवस्थित भएपछि त्यताको बारेमा छलफल हुन्छ होला ।’ उनले प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा रहेका बेला दार्चुलाको खलंगामा बनेको नेपाल–भारत जोड्ने मोटरपुल उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
4h ago
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्य तीव्र पार्न निर्देशन दिएका छन्।

#विकास #आयोजना
Compare →

Related Stories

World News
Build #2612