तिलक वर्माको कप्तानीमा रहेको भारतीय टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी, रिंकु सिंह, हर्षित राणालगायतका खेलाडी छन् ।
काठमाडौँ — नेपालले शुक्रबार बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको सुरुआत गर्दैछ । कतारको दोहामा एसियाका इमर्जिङ खेलाडीबीचको प्रतियोगिता बिहीबार सुरु भइसकेको छ ।
नेपालले वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुने खेलमा भारत ‘ए’ को सामना गर्नेछ । प्रतियोगिताअघि भारत ‘ए’ का कप्तान तिलक वर्माले नेपाली क्रिकेटको प्रशंसा गरेका छन् ।
कप्तानहरूको पत्रकार सम्मेलनमा उनले पछिल्ला केही वर्षमा नेपालले क्रिकेटमा उल्लेखनीय प्रगति गरेको बताएका हुन् । ‘पछिल्ला केही वर्षलाई हेर्ने हो भने नेपालले अफगानिस्तानसँग निकै राम्रो प्रदर्शन गरिरहेको छ । इमर्जिङ लेभलमा मात्र होइन, सिनियर टोलीको स्तरमा पनि उनीहरूको प्रदर्शन राम्रो छ । नेपाल र अफगानिस्तानसँग खेल्न निकै उत्साहित छु । सबै प्रतिद्वन्द्वी राम्रा छन्, तर नेपाल र अफगानिस्तानसँगको प्रतिस्पर्धा विशेष रोमाञ्चक हुनेछ,’ तिलकले भने ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर अन्तर्राष्ट्रिय अनुभव र युवा प्रतिभाको राम्रो संयोजन छ । कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, देव खनाल र लोकेश बमजस्ता खेलाडी नेपाली टोलीका महत्त्वपूर्ण सदस्य हुन् ।
विशेषगरी बलिङमा सन्दीप लामिछाने र ललित राजवंशी नेपालको प्रमुख हतियार बन्न सक्छन् । सोमपाल कामीले चोटका कारण प्रतियोगिता गुमाउने भएपछि उनलाई प्रतिस जिसीले प्रतिस्थापन गरेका छन् भने यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टिममा समावेश गरिएको छ ।
जारी एनपीएलमा शीर्ष चारमा नपरेका टोलीका खेलाडीमात्र नेपाली टोलीमा रहेका छन् र सोहीअनुरूप मयनले स्थान बनाएका छन् । एनपीएलको फाइनलमा पुगेको डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सका सन्दीप जोरा र अभिशेष गौतम पनि टिममा छन् । साथै सुदूरपश्चिमका ईशान पाण्डेले एसिया कप राइजिङ स्टार्समा शीर्ष क्रममा ब्याटिङ गर्ने छन् ।
ब्याटिङतर्फ कुशल भुर्तेल र लोकेश बमबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । जारी एनपीएलमा २ सय ४२ रनसहित लोकेश शीर्ष रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । कुशलको पोखराले खास प्रदर्शन गर्न नसके पनि उनले एनपीएल ३ मा २ सय ३५ रन प्रहार गर्दै लय समातेका छन् ।
तर, भारत ‘ए’ विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन । भारतीय टोलीमा अन्तर्राष्ट्रिय र इन्डियन प्रिमियर लिग (आईपीएल) को अनुभव बटुलेका खेलाडीहरूको बाहुल्य छ । तिलक वर्माको कप्तानीमा रहेको टोलीमा आक्रामक ओपनर अभिषेक शर्मा, युवा ब्याटर वैभव सूर्यवंशी र विस्फोटक फिनिसर रिंकु सिंह मुख्य आकर्षणका रूपमा छन् । त्यस्तै, तीव्र गतिका बलर हर्षित राणा पनि भारतीय टोलीमा फर्किएका छन् । अभिषेक शर्मा र वैभव सूर्यवंशीबाट भारतले आक्रामक सुरुवातको अपेक्षा गर्नेछ । मध्यक्रममा रिंकु सिंहको उपस्थितिले टोलीलाई थप बलियो बनाएको छ । बलिङमा हर्षित राणाको गति र आक्रामकता नेपालका ब्याटरका लागि चुनौती बन्न सक्छ ।
यी दुई टोलीबीच यसअघि सन् २०२३ को इमर्जिङ टिम्स एसिया कपमा प्रतिस्पर्धा भएको थियो । श्रीलंकाको कोलम्बोमा भएको उक्त खेलमा भारत ‘ए’ ले नेपाललाई ९ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले एक विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । समूह ‘बी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार यूएई र तेस्रो खेलमा आगामी मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
अर्को समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तानका ‘ए’ टोली तथा हङकङको राष्ट्रिय टोली रहेका छन् । ८ टोली सहभागी ५० ओभरको प्रतियोगितामा दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
सुबास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।