Trending
Prev Story
Next Story

काठका पुलमा कुँदिएको सिंजाको इतिहास

Nagarik News •
November 19, 2026 • 10:43 AM
2
2 reads 0 reactions

मोटरसाइकलमा रारा घुम्न हिँडेका सिन्धुलीका आशिष पौड्याल सिंजाको चिउडी पुगेपछि रोकिए। सडक छेउमै देखिएको काठको अनौठो पुलले उनको ध्यान खिच्यो।

काठका पुलमा कुँदिएको सिंजाको इतिहास

मोटरसाइकलमा रारा घुम्न हिँडेका सिन्धुलीका आशिष पौड्याल सिंजाको चिउडी पुगेपछि रोकिए। सडक छेउमै देखिएको काठको अनौठो पुलले उनको ध्यान खिच्यो। पुलमा पुगेपछि उनले सेल्फी खिचे। उनी मात्रै होइन, सिंजा हुँदै रारा पुग्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक यो पुल देखेपछि केहीबेर रोकिन्छन्। पुलसँग तस्बिर खिच्छन् र गन्तव्यतर्फ लाग्छन्।कर्णाली राजमार्गअन्तर्गत नाग्मा–मुगु गमगढी सडकखण्डमा पर्ने जुम्ला र कालिकोटको सिमानास्थित व्यापारिक केन्द्र नाग्माबाट मुगुतर्फ जाँदा हिमा नदीको किनारमा देखिने यो काठेपुल सामान्य आवतजावतको संरचना होइन।

जुम्लाको सिंजा गाउँपालिका–३ धितालीहीस्थित हिमा नदीमाथि बनेको पुलमा काठबाट कुँदिएका रंगीबिरंगी प्रतिमा छन्। पुलका दायाँबायाँ उभिएका ऐतिहासिक व्यक्तित्व र विभिन्न आकृतिले यात्रुलाई आकर्षित गर्छन्।आधुनिक फलामे तथा झोलुङ्गे पुलको बीचमा फरक देखिने यो संरचना अहिले पर्यटकका लागि तस्बिर खिच्ने थलो बनेको छ। रारा जाने क्रममा पुल देखेका पोखराका भक्तबहादुर उपाध्यायले यस्तो काठको पुल र त्यसमा बनाइएका चित्र अन्यत्र नदेखेको बताए।‘अधिकांश जिल्लामा आधुनिक झोलुङ्गे पुल मात्रै देखेको छु,’ उनले भने, ‘यी काठका पुलहरू इतिहास भइसकेका छन्।’पुलमा राखिएका प्रतिमा हेर्दा सिंजाको इतिहास र खस सभ्यताको झल्को पाइन्छ। नेपाली भाषाको उत्पत्ति क्षेत्र मानिने सिंजा उपत्यकाको ऐतिहासिक पहिचानलाई काठमा कुँदेर पर्यटकमाझ चिनाउने प्रयास गरिएको छ। पुलमा नागराज मल्ल, शिव जोशी धिताल, आदिकवि भानुभक्त आचार्य र गौतम बुद्धका प्रतिमा राखिएका छन्।झन्डै १२ सय वर्षअघि सिंजा शक्तिशाली राज्यको केन्द्र थियो। नागराज मल्लले कर्णाली क्षेत्रमा राज्य स्थापना गरी शासन सुरु गरेका थिए। सिंजा उपत्यका त्यस राज्यको केन्द्र थियो।

नागराजको शासनकालमा यो राज्य राजनीतिक, सांस्कृतिक र आर्थिक रूपमा समृद्ध थियो। उनकै शासनकालमा खस भाषा व्यापक भएको मानिन्छ। त्यसैले सिंजालाई नेपाली भाषाको उत्पत्ति क्षेत्रका रूपमा चिनिन्छ।समयक्रममा राज्यको अस्तित्व समाप्त भए पनि सिंजाको ऐतिहासिक पहिचान यहाँका भाषा, संस्कृति, परम्परा र सम्पदामा अझै जीवित छ। यही पहिचानलाई काठका प्रतिमामार्फत देखाउने प्रयास गरिएको हो।धितालीही गाउँको इतिहास पनि यसैसँग जोडिएको छ। कालिकोटको मेहलमुडीबाट आएका शिव जोशी धितालले सिंजा आएर गाउँ बसालेको किंवदन्ती छ। उनी कहिले आएर गाउँ बसाले भन्ने यकिन मिति कसैले बताउन सक्दैन।

तर स्थानीयले अहिले पनि उनको योगदान सम्झने गरेका छन्। सिंजाको विकासमा उनले महत्वपूर्ण योगदान गरेको स्थानीयको बुझाइ छ। उनले बसाएको गाउँमा अहिले धिताल, रोकाया, रेग्मीलगायत समुदायको बसोबास छ।यो काठेपुल २०८१ साल असोजमा निर्माण गरिएको हो। सिंजा राज्यको प्रतिनिधित्व गर्ने ऐतिहासिक व्यक्तित्वका प्रतिमासहित पुल बनाउन स्थानीय सरकारले लगानी गरेको हो। पुलमा प्रतिमा कुँद्ने काम भने सिंजा गाउँपालिका–३ नराकोटका ४६ वर्षीय खुम्मीलाल सार्कीले गरेका हुन्।

खुम्मीलालले काठमा चित्र कुँद्ने र प्रतिमा बनाउने कुनै औपचारिक तालिम लिएका छैनन्। यस विषयमा औपचारिक अध्ययन पनि गरेका छैनन्। यो उनको पुर्ख्यौली पेसासमेत होइन। तर आफ्नै रुचि र निरन्तर अभ्यासले उनी अहिले सिंजाको इतिहास र मौलिकता काठमा उतार्ने कलाकार बनेका छन्।१२ वर्षको उमेरमा विद्यालय जान सुरु गरेका उनले दुई कक्षासम्म मात्रै पढे। विद्यालयमा हुने चित्रकला प्रतियोगितामा भने उनी प्रथम हुन्थे। घरमा काम गर्ने मान्छे नभएपछि उनको पढाइले निरन्तरता पाउन सकेन।

तर चित्रकलाप्रतिको रुचि रोकिएन।‘मैले आफ्नै लगावबाट काठका चित्र र सामग्री बनाउन सिकेको हुँ,’ उनले भने।विद्यालय छाडेपछि पनि उनले काठमा चित्र बनाउने कामलाई निरन्तरता दिए। सुरुमा परिवारका सदस्यले उनको रुचिलाई राम्रो मानेनन्। अरू काम गर्न छाडेर अनावश्यक काममा लागेको भन्दै गालीसमेत गर्थे।‘घरमा काम गर्ने मान्छे कोही नभएपछि मैले विद्यालय नियमित जान पाइनँ। यो सीप भने आफैं सिकेँ,’ उनले भने, ‘तालिम पनि लिएको होइन, आफ्नै रहरले बनाउन सिकेको हुँ।

म सानैदेखि अरू काममा भन्दा काठका चित्र बनाउने गर्थें। घरका सदस्यले अरू काम गर्न छोडेर बहुलाएर नचाहिने काम गर्छ भन्थे।’अहिले भने त्यही रुचि उनको पेसा बनेको छ। स्थानीय तहहरूले काठका प्रतिमा तथा चित्र बनाउन उनलाई बोलाउने गरेका छन्। निश्चित पारिश्रमिक लिएर स्थानीय तहले माग गरेअनुसारका सामग्री तयार पारिदिन्छन्।तर खुम्मीलालको चाहना प्रतिमा बनाउनु मात्रै होइन, ती प्रतिमाबाट सिंजाको पहिचान झल्कियोस् भन्ने पनि छ। सिंजामा केही निर्माण गर्ने र त्यसमा खर्च गर्ने योजना बनाउँदा स्थानीय इतिहास र सभ्यता झल्किने सामग्री बनाउन उनले जनप्रतिनिधिलाई सुझाव दिने गरेका छन्।‘म त यो क्षेत्रमा खर्च गरेर केही कुरा बनाउने हो भने सिंजालाई चिनाउने कुरा बनाऔं भन्छु, कसैले त सहजै मान्छन् पनि,’ उनले भने, ‘कसैले आफ्नो जिद्दी छोड्दैनन्। मेरो काम चित्र बनाउने हो, उनीहरूले भनेकै पनि बनाइदिन्छु।’सिंजा गाउँपालिकाले प्रतिमा निर्माण गरेबापत आफूलाई तीन लाख रुपैयाँ उपलब्ध गराएको उनले बताए।‘स्थानीय सरकारले मलाई सीप र कलाको सम्मान गरेकोमा खुसी छु,’ उनले भने।

उनको घरमा राष्ट्रिय जनावर गाई, राष्ट्रिय चरा डाँफेलगायत चराचुरुङ्गी र धामीझाँक्रीका तस्बिरसमेत काठमा कुँदिएका छन्। काठबाट विभिन्न सामग्री बनाउने उनको रुचि अहिले पनि उस्तै छ।सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार खुम्मीलाल सार्की चित्रकलामार्फत सिंजा सजाउने मुख्य व्यक्ति हुन्।‘खुम्मीलालको कलाकृतिले सिंजा सजिएको छ भन्न पनि मिल्छ। जति बनाउनुपर्ने हो, त्यति त हामीले बनाउन सकेका छैनौं,’ अध्यक्ष धितालले भने, ‘उनको कलाकृति उत्कृष्ट भएर हामीले अहिले बनाएका प्रतिमा उनलाई नै बनाउन दिएका थियौं। उनले राम्रो बनाए।’उनका अनुसार खुम्मीलालका कलाकृतिले सिंजाको पहिचान झल्काउन सहयोग गरेका छन्। सिंजा क्षेत्रको पवित्र धार्मिक स्थल केदारनाथमा ढुंगाबाट बनाइएका मूर्ति र धारासमेत खुम्मीलालकै सीपबाट तयार भएका हुन्।खुम्मीलालले सिंजा गाउँपालिकाका लागि मात्रै होइन, हिमा गाउँपालिकाका लागि पनि काठका प्रतिमा बनाएका छन्। नाग्मा–मुगु गमगढी सडकखण्डमा पर्ने हिमा गाउँपालिका-४ चिउडीस्थित हिमा नदीमाथिको पुलमा उनले विभिन्न प्रतिमा कुँदेका छन्।

सिंजा उपत्यकामै पर्ने हिमा गाउँपालिकाले उनलाई प्रतिमा बनाउन बोलाएको थियो। उनका अनुसार गाउँपालिकाले यस कामका लागि एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो।उक्त पुलमा उनले सशस्त्र द्वन्द्वका सहिद, द्वन्द्वका नायक नेता तथा खस सभ्यता झल्काउने पहिरनसहितका महिला र पुरुषका प्रतिमा बनाएका छन्। यसरी एउटै पुलमा इतिहास, द्वन्द्वको स्मृति र मौलिक पहिचानलाई समेट्ने प्रयास गरिएको छ।खुम्मीलालको विशेषता के छ भने उनी प्रतिमा बनाउन आधुनिक मेसिन तथा औजार प्रयोग गर्दैनन्। उनीसँग भएका पुरानै औजारबाट काठ कुँद्ने र विभिन्न आकृति बनाउने गर्छन्।‘मैले आधुनिक औजारको प्रयोग अहिलेसम्म गरेको छैन। मसँग भएका पुरानै औजारबाट अहिलेसम्म कलाकृति गरिरहेको छु,’ उनले भने, ‘यिनैबाट मेरो सात जनाको परिवार चलेको छ। हामी दुई जना र पाँच बालबालिका छौं। यहाँ हुने यस्ता काममा मजस्ता स्थानीयलाई नै काम दिएकाले सजिलो पनि भएको छ।’

उनका लागि कला परिवार पाल्ने आधार बनेको छ। स्थानीय तहले दिने कामबाट परिवारको जीविकोपार्जन भइरहेको छ। अर्कोतर्फ स्थानीय सीप र कलाले सार्वजनिक संरचनामा स्थान पाउन थालेका छन्।सिंजाको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएका सामग्री बनाउन पनि उनी सक्रिय छन्। हरेक वर्ष भदौको पहिलो सातादेखि सिंजामा कृष्णजात्रा सुरु हुन्छ। लामो समयसम्म चल्ने यो जात्रामा ढाल, खुकुरी र तरबार नचाएर लाखे नाच देखाइन्छ। जात्रामा प्रयोग हुने ढाल, खुकुरी र तरबारसमेत खुम्मीलालले काठबाट बनाउने गरेका छन्।उनले अहिलेसम्म २० वटा ढाल र १० वटा खुकुरी बनाइसकेको बताए। यो काम गर्न थालेको एक–दुई वर्ष मात्रै भएको छ। सुरुमा यसका लागि उनलाई कुनै अर्डर आएको थिएन।‘सकेसम्म गाउँपालिकाले सहयोग गरिहाल्छ, नभए म निःशुल्क काम गर्छु भनेर बनाउन थालेको हुँ,’ उनले भने, ‘अहिलेको जात्रामा मैले बनाएका सामान प्रयोग गरेर लाखे नाचिन्छ, यसमै खुसी छु।’

गाउँपालिका अध्यक्ष धितालका अनुसार सिंजा क्षेत्रका धार्मिक स्थलमा रहेका मूर्तिलगायतका कलाकृति पनि खुम्मीलालकै सीपबाट तयार भएका छन्। उनले भान्सामा प्रयोग हुने अम्खोरादेखि पहिरनका रूपमा प्रयोग हुने पोते, सिक्काको माला र तिलहरीसम्म काठबाटै बनाएका छन्।उनको कलाकृति सिंजामा मात्रै सीमित छैन। छिमेकी जिल्ला कालिकोटको जुबिथामा बनेको मन्दिरमा पनि पुरातात्त्विक संस्कृति झल्किने गरी काठका कलाकृति बनाएर उनले काम सम्पन्न गरेका छन्।मौलिकता झल्किने कलाकृति बनाउँदै आएका खुम्मीलालको अबको योजना भने काठकै रोबर्ट बनाउने छ। काठबाट हिँड्न सक्ने रोबर्ट बनाएर त्यसलाई खस भाषा बोल्ने यन्त्रका रूपमा विकास गर्ने उनको सोच छ।‘

रोबर्ट बनाउन त अहिले पनि सक्छु होला, तर त्यसमा चाहिने मेसिन किन्नुपर्छ,’ उनले भने, ‘काठकै हिँड्ने रोबर्ट बनाएर त्यसले हाम्रो खस भाषा बोल्न सक्ने गरी काम गर्ने योजना छ।’काठबाट रोबर्ट बनाउने उनको योजना पूरा हुन आवश्यक मेसिन र प्रविधि जुटाउनुपर्नेछ। अहिलेसम्म परम्परागत औजारबाटै कलाकृति बनाउँदै आएका उनी नयाँ प्रविधिसँग जोडिएर फरक सिर्जना गर्ने सोचमा छन्। उक्त पुहरु हेर्न र तस्बिर खिच्न पर्यटक पुग्ने गरेका छन्। सिंजा हुँदै रारा जाने आन्तरिक तथा बाह्य पर्यटकले काठेपुल देखेपछि सेल्फी खिचेर मात्रै अगाडि बढ्ने गरेका छन्।पहिले स्थानीय आवश्यकताले निर्माण गरिएका काठेपुल अहिले पर्यटकीय आकर्षणका माध्यम बन्न थालेका छन्। तर यस्ता पुलको परम्परा भने विस्तारै हराउँदै गएको छ।जुम्लाका विभिन्न स्थानीय तहमा अझै काठेपुल छन्। तर पछिल्लो समय सरकारले बजेट व्यवस्था गरेर झोलुङ्गे पुल निर्माण गर्न थालेपछि परम्परागत काठेपुल विस्थापित हुँदै गएका छन्।

कतिपय पुल जीर्ण अवस्थामा छन् भने कतिपयको अस्तित्व नै संकटमा परेको छ।विगतमा जुम्लीहरूले सरकारी रकम नलिई आफ्नै आवश्यकता र सीपअनुसार काठेपुल निर्माण गर्ने गरेका थिए। पुल बनाउने सीप भएका स्थानीयले खम्बाको टुप्पोमा विभिन्न चित्र र मूर्तिसमेत कुँद्थे। त्यसैले ती पुल आवतजावतको साधन मात्रै थिएनन्, स्थानीय कला, संस्कृति र सामुदायिक श्रमका नमुना पनि थिए।अहिले हिमा नदीमाथि बनेका कलात्मक काठेपुलले त्यही परम्परालाई नयाँ स्वरूपमा प्रस्तुत गरेका छन्। पुलका काठमा कुँदिएका ऐतिहासिक व्यक्तित्व, खस पहिरन, धार्मिक आकृति र स्थानीय जीवनशैलीले सिंजाको पहिचान उजागर गरिरहेका छन्।जुम्ला ऐतिहासिक सिंजा सभ्यता, खस भाषा, मौलिक कला र संस्कृतिको महत्वपूर्ण क्षेत्र हो। यहाँका पुराना काठेपुललाई संरक्षण गरेर सांस्कृतिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ। तर जीर्ण अवस्थामा रहेका पुलको संरक्षण, पुराना संरचनाको अभिलेखीकरण र स्थानीय कलाकारको सीपलाई निरन्तरता दिने विषयमा ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित: ३ मंसिर २०८३ १६:२८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4h ago
चट्टानमा अड्कियो शारदा नदीको पुल, पाँच वर्षदेखि निर्माण सामग्री असरल्ल

चट्टानमा अड्कियो शारदा नदीको पुल, पाँच वर्षदेखि निर्माण सामग्री असरल्ल

पाँच वर्षअघि पिलरका लागि खाल्डो खन्दा कडा चट्टान भेटिएपछि रोकिएको ६८ मिटर लामो पुलको काम डिजाइन परिवर्तनमा ढिलाइ हुँदा अझै पुनः सुरु भएको छैन।

#पुल
Compare →
Onlinekhabar
9h ago
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा

स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा

३ मंसिर, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बनेको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–११ बुढाथोकीडाँडा र वडा नं. ७ सेनापुक जोड्ने ४४४ मिटर लामो पुल सञ्चालनमा आएको हो । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै …

#पुल
Compare →
Hamro Patro News
1d ago
युक्रेनी आक्रमणबाट पुटिनको प्रतिष्ठित क्रिमिया पुल ध्वस्त

युक्रेनी आक्रमणबाट पुटिनको प्रतिष्ठित क्रिमिया पुल ध्वस्त

काठमाडौं : युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण गरेको छ । युक्रेनी मिसाइल र ड्रोनको योजनाबद्ध आक्रमणबाट पुलको मुख्य सडक खण...

#पुल
Compare →

Related Stories

Technology
Build #2612