रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित पुलमा चार जना सवार स्कुटर अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रौतहट — रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित पुलमा सोमबार स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उक्त स्कुटरमा चार जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा यमुनामाई गाउँपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान, भारत सीतामढी जिल्ला भकुरहरका १७ वर्षीय सुनिल पासवान, जमुवागाउँका १६ वर्षीय प्रिन्स पासवान र १८ वर्षीय अनिकेत पासवान घाइते भएका थिए ।
प्रहरी चौकी बडहर्वाबाट प्रहरीको टोली घटनास्थल पुगी घाइते अवस्थाका चारै जनालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारका क्रममा चिकित्सकले प्रिन्स र अनिकेतलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । मृतक दुवै किशोरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखेको छ ।
दुर्घटनामा घाइते आकाशको दुवै हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका अर्का घाईते सुनिलको गौरमा उपचारपछि थप उपचारका लागि वीरगंज लगिएको छ ।
स्कुटरमा सवार सुनिल पसवान, प्रिन्स पसवान र अनिकेत पसवान भारतीय नागरिक हुन् । घटनास्थलमा उद्धार गर्न पुगेका बडहर्वा चौकीका प्रहरी सहायक निरीक्षक सियाराम साहले स्कुटरमा चारजना सबार रहेको जानकारी दिए ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।