पाँच वर्षअघि पिलरका लागि खाल्डो खन्दा कडा चट्टान भेटिएपछि रोकिएको ६८ मिटर लामो पुलको काम डिजाइन परिवर्तनमा ढिलाइ हुँदा अझै पुनः सुरु भएको छैन।
सल्यान — सल्यानको शारदा नदीमा पक्की पुल निर्माण पाँच वर्षसम्म पूरा हुन सकेको छैन । पिलर गाड्न खाल्डो खन्दा कडा चट्टान भेटिएको भन्दै रोकिएको निर्माण पाँच वर्ष बित्न लाग्दासमेत अघि बढेको छैन । पुल नबन्दा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका पाँच वडाका बासिन्दा वर्षात्का बेला जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।
निर्माण कम्पनीले तत्काल सामग्री जुटाएर २०७८ मंसिरमा पुल निर्माणको काम सुरु गर्यो । तर, पिलर गाड्न खाल्डो खन्ने क्रममा जमिनमुनि कडा चट्टान भेटिएको र मेसिनमा समस्या आएको भन्दै कम्पनीले काम सुरु गरेको चार महिना नबित्दै निर्माण रोकेको थियो । काम रोकिएको झन्डै पाँच वर्ष हुन लाग्यो । निर्माण सामग्री लथालिंग अवस्थामा छन् भने केही हराइसकेका छन् । तर, अहिलेसम्म योजनाको काम पुनः सुरु भएको छैन ।
निर्माण कम्पनीका ठेकेदारले पुलको डिजाइन बदल्न माग गर्दै आएका थिए । सम्बन्धित निकायले डिजाइन परिवर्तन गर्न ढिलाइ गर्दा सुरु भएको दुई वर्षभित्रै सम्पन्न हुनुपर्ने पुल निर्माणको काम अहिलेसम्म रोकिएको हो ।
शारदा नगरपालिका–१२, १३ र १५ तथा छत्रेश्वरी गाउँपालिका–१ र २ का स्थानीयलाई बाह्रै महिना गाडीमा आउजाउ गर्न सहज होस् भनेर स्थानीयको मागअनुसार पुल निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । तर, निर्माण सुरु भएको केही समयमै काम रोकिएपछि यी क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
स्थानीयले वर्षात्को समयमा जोखिम मोलेर शारदा नदी तरेर वारपार गर्दै आएका छन् । नदीमा पानीको बहाव बढ्दा गाडीसमेत चल्न सक्दैनन् । यस्तो अवस्थामा बिरामीलाई स्थानीयले स्ट्रेचरमा बोकेर प्रहरीले निर्माण गरेको काठे पुलबाट अस्पताल पुर्याउनुपर्ने बाध्यता छ ।
पुल निर्माणको काम सुरुवाती चरणमै अलपत्र पर्दा वर्षात्का बेला श्रीनगर बजारका विभिन्न विद्यालयमा पढ्न जाने विद्यार्थी बढी समस्यामा पर्ने गरेका छन् । गाउँमा कोही बिरामी भए अस्पताल पुर्याउनसमेत गाह्रो हुने मूलडाँडाका प्रेम घर्तीले बताए । २०७८ मंसिरमा काम सुरु गर्दा निर्माण कम्पनीका ठेकेदार र मजदुर देखिए पनि त्यसपछि अहिलेसम्म नफर्किएको उनले बताए ।
‘शारदा नदीमा पक्की पुल बन्न थालेपछि श्रीनगर, खलंगा बजार तथा सरकारी कार्यालयको कामकाजका लागि वर्षात्को समयमा हिँड्न नपर्ने भो भनी खुसी भएका थियौं । त्यो खुसी धेरै समय टिकेन,’ उनले भने । निर्माण कम्पनीले सुरुमा ल्याएका अधिकांश सामग्री अहिले छैनन् । केही फलामका सरिया मात्र बाँकी रहेको उनको भनाइ छ ।
अलपत्र पुल निर्माणको काम अघि बढाउन माग गर्दै आए पनि काम हुने छाँटकाँट नदेखिएको अर्का स्थानीय बलबहादुर बुढाथोकीले बताए । पछिल्लो समय ठेकेदार र सम्बन्धित निकायले वास्ता गर्न छाडेको र फर्केर पनि नआएको उनले जानकारी गराए ।
सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अशोक चौधरीले ठेकेदारले फिल्ड रिपोर्ट पेस गर्न ढिलाइ गरेको र पुलको डिजाइन परिवर्तनमा पनि ढिलाइ हुँदा निर्माणको काम लामो समयदेखि अलपत्र परेको बताए । पिलर निर्माणका लागि खाल्डो खन्ने क्रममा २० मिटर तल कडा चट्टान भेटिएको र मेसिनले प्वाल पार्न नसकेपछि सुरुवाती चरणमै काम रोकिएको उनले जानकारी दिए ।
‘कार्यालयले रोकिएको पक्की पुलको काम अगाडि बढाउन डिजाइन बदल्ने प्रक्रिया अगाडि बढाएका छौं । पूरा भएमा रोकिएको काम पुनः सुरु हुन्छ,’ उनले भने । ६८ मिटर लम्बाइको पुलको प्रगति अहिले शून्यजस्तै रहेको उनको भनाइ छ ।
जलजला जय माँ स्वर्गद्वारी निर्माण सेवाका ठेकेदार केबी ओलीले जमिनमुनि कडा चट्टान भेटिएको र डिजाइन नबदल्दासम्म काम गर्न नसकिने भएकाले पुल निर्माण अघि बढाउन नसकिएको बताए । डिजाइन बदलिए रोकिएको काम पुनः सुरु गर्ने उनले जानकारी दिए ।
‘सडक डिभिजन कार्यालय दाङले १६ मिटर गहिराइसम्म परीक्षण गरेको रहेछ । इस्टिमेटअनुसार पिलर जडानका लागि २७ मिटर गहिराइसम्म प्वाल पार्नुपर्ने थियो । मेसिनले २० मिटरभन्दा तल प्वाल पार्न सकेन । मेसिनको प्वाल पार्ने छिजल जमिनमुनि अड्कियो । प्रयास धेरै गर्यौं, अड्किएको छिजल निकाल्न सकेनौं । त्यही भएर काम रोकियो,’ उनले भने ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।