श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।
काठमाडौँ — मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा जोडिएपछि पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छ । सीआईबीले अदालतबाट पक्राउ अनुमति लिए पनि अर्याल पक्राउ भने परेका छैनन्।
श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई बुधबार पक्राउ गरेको छ । सोही प्रकरणमा गरिएको अनुसन्धानले अर्यालको पनि संलग्नता पाइएपछि पक्राउ अदालतबाट बुधबार नै पुर्जी लिइएको सीआईबीका एक अधिकारीले बताए।
सीआईबीले बुधबार पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिवलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ । उक्त रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता र कानुनी प्रक्रिया मिचेर विदेशी मुद्रा अपचलन गराउने तथा संगठित समूहको लाभका लागि श्रमिक ठगी हुँदा पनि कानुनी उपचार नगरेको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।