चीनको सान्या सहरमा गत २६ र २७ सेप्टेम्बरमा आयोजित हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई वीरगन्ज महानगरपालिकाले बिहीबार सम्मान गरेको हो ।
पर्सा — चीनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण र काँस्य पदक जित्न सफल वीरगन्जका तीन खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ । चीनको सान्या सहरमा गत २६ र २७ सेप्टेम्बरमा आयोजित हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई महानगरपालिकाले बिहीबार सम्मान गरेको हो ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगन्जका तीनै जनाले पदक जितेका थिए । प्रतियोगितामा २४ देशका खेलाडी सहभागी थिए । वीरगन्जकी अवन्तिका झाले तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् भने सान्वी शर्मा र अवन्सिका गुप्ताले काँस्य पदक हासिल गरेका थिए । प्रशिक्षक दिपेश मानन्धरका अनुसार प्रतियोगितामा सहभागी वीरगन्जका तीनै खेलाडीले पदक जित्न सफल भएका हुन् ।
खेलाडीहरूलाई सम्मान गर्दै महानगर प्रमुख राजेशमान सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर वीरगन्जको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गरे । खेलाडीहरूको सफलताले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उनले उनीहरूको मिहिनेत, लगनशीलता र प्रतिभाको प्रशंसा गरे ।
महानगर प्रमुख सिंहले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताए । खेलाडीलाई आवश्यक प्रोत्साहन र अवसर प्रदान गर्दै नगरको खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउन आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाइ थियो ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।