नेपाल जलवायुजन्य विपद्को चपेटामा रहे पनि मुख्य वार्तामा विकसित राष्ट्रहरूले नेपाललाई न्याय दिन हिच्किचाएको भन्दै युवा तथा अभियन्ताहरूले नेपालले न्यायका लागि थप मिहिनेत गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
अन्ताल्या (टर्कीए) — टर्कीएको अन्ताल्यामा भेला भएका नेपाली युवा अभियन्ता, अनुसन्धानकर्ता, वार्ताकर्तालगायत वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अभियन्ताहरूले कोप-३१ को वार्ताप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल जलवायूजन्य विपद्को चपेटामा रहे पनि मुख्य वार्तामा विकसित राष्ट्रहरूले नेपाललाई न्याय दिन हिच्किचाएको भन्दै युवा तथा अभियन्ताहरूले नेपालले न्यायका लागि थप मिहिनेत गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
छलफल कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, मन्त्रीका प्रमुख सल्लाहकार अभिषेक श्रेष्ठसहित कोप-३१ मा सहभागी दुई दर्जनभन्दा बढी युवाको सहभागिता थियो । छलफलमा अभियन्ता प्रज्वल विक्रम राणाले सरकारले नेपालको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउन र न्याय प्राप्तिका लागि हरसम्भव प्रयास गर्नुपर्ने सुझाव दिए । उनले भने, 'हामी युवाहरूले पनि रचनात्मक कार्यक्रममार्फत दबाब सिर्जना गरिरहेका छौँ । सरकारले पनि आफ्नो अडान कायम राखोस् ।'
जलवायु तथा वातावरण अभियन्ता प्रसुज मौनालीले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै नेपालीले न्याय पाउने गरी वार्ता गर्न सुझाव दिए । जवाफमा मन्त्री चौधरीले कोप-३१ मा युवा तथा वातावरण अभियन्ताहरूले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै आफू न्याय प्राप्तिका लागि प्रयासरत रहेको बताइन् । उनले भनिन्, 'रचनात्मक सुझाव दिनुहोला । कोपमा थप केही दिन संघर्ष गरेर न्याय प्राप्त गरेरै घर फर्किनेछौँ ।'