३ मंसिर, काठमाडौं । आर्मेनियाको एक राजनीतिक बहस कार्यक्रमको प्रत्यक्ष प्रसारणका क्रममा पत्रकार र अतिथि वक्ताबीच हात हालाहाल भएको छ।
आर्मेनियाको सरकारी प्रसारकको कार्यक्रम ‘द ग्रेट डिबेट’ मा शुक्रबार देशको राजनीतिबारे छलफल गरिरहेका पत्रकार बोरिस मुराजी र राजनीतिक विश्लेषक हारुत्युन म्क्र्च्यानबीच चर्काचर्कीपछि कुटाकुट भएको हो।
सत्तारूढ दल र पूर्वराजनीतिक नेतृत्वसँग जोडिएका संवेदनशील प्रश्न उठेपछि बहस उग्र बनेको थियो। म्क्र्च्यानले पत्रकार मुराजीलाई आर्मेनियाका पूर्वराष्ट्रपति सर्ज सार्ग्स्यानसँगको कथित व्यक्तिगत सम्बन्धबारे प्रश्न गरेपछि विवाद सुरु भएको बताइएको छ।
के भएको थियो आर्मेनियाको टिभी बहसमा ?
पूर्वराष्ट्रपति सार्ग्स्यानको खुलेर आलोचना गर्दै आएका पत्रकार मुराजीले उक्त प्रश्नलाई अपमानजनक र अस्वीकार्य भन्दै आपत्ति जनाएका थिए। त्यसपछि दुवै जनाबीच गालीगलौज सुरु भयो। केहीबेरमै उनीहरू एकअर्कातर्फ झम्टिँदै हात हालाहालमा उत्रिए।
सरकारी टेलिभिजनबाट प्रसारित भिडियोमा दुवै जनाले एकअर्कालाई मुक्का र लात्ती प्रहार गरेको देखिन्छ। स्थिति नियन्त्रणमा लिन प्राविधिक टोलीका सदस्य र कार्यक्रमका प्रस्तोताहरू हस्तक्षेप गर्न पुगेका थिए।
घटनाको भोलिपल्ट फेसबुक लाइभमार्फत प्रतिक्रिया दिँदै मुराजीले म्क्र्च्यानले ‘सीमा नाघेको’ दाबी गरे। उनले भने, ‘जब उनले अन्ततः त्यसरी सीमा नाघे, मैले छोटो समयका लागि ती व्यक्तिलाई ठीक बाटोमा ल्याउने काम सम्हाल्नुपर्यो। मैले केही कदम चालें। उनका बुवाले गर्नुपर्ने काम मैले गर्नुपर्यो।’
घटनाप्रति आर्मेनियाको टेलिभिजन तथा रेडियो आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै खुला हिंसा र अपशब्दलाई कुनै पनि अवस्थामा जायज ठहर्याउन नसकिने बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘खुला हिंसा र अपशब्दलाई बहसमा निम्त्याइएका अतिथि, उग्र छलफल, रेटिङको व्यर्थ होडबाजी वा औपचारिक निष्पक्षताको नाममा समेत जायज ठहर्याउन सकिँदैन।’
मेक्सिकोको लाइभ सोमा पनि यस्तै घटना
आर्मेनियाको यो घटनाभन्दा केही साताअघि मेक्सिकोमा पनि प्रत्यक्ष टेलिभिजन कार्यक्रमका क्रममा अप्रत्याशित घटना भएको थियो। त्यहाँ कार्यक्रमका प्रस्तोताले रिसाएर लात्ती हानेको ड्रोन उछिट्टिएर एक मोडेलको अनुहारमा लागेको थियो।
मङ्गलबार राति प्रसारित लेट-नाइट कमेडी कार्यक्रम ‘एस सो’ का प्रस्तोता अर्नेस्टो चाभाना मोडेलहरूको समूहसँग एउटा खण्ड छायाङ्कन गरिरहेका थिए। त्यही बेला नजिकैबाट होचो उचाइमा ड्रोन उडेर आएपछि उनले माइक्रोफोनमा ‘यो चिजलाई मबाट टाढा लैजाऊ’ भन्दै रिसाएर लात्ती हानेका थिए। उनको लात्ती लागेर उछिट्टिएको ड्रोन मोडेल इसाबेला रोजासको अनुहारमा ठोक्किएको थियो।
सुरुमा सहकर्मी र दर्शकहरू अचम्मित हुँदै हाँसेका थिए। तर, रोजासले पीडाले अनुहार समातेपछि माहोल एकाएक शान्त भयो। उनको अनुहारबाट रगत बग्न थालेपछि अन्य कलाकारहरू वरिपरि जम्मा भए। दुई महिलाले उनलाई सेटबाट बाहिर लगे।
त्यसपछि चाभानाले प्राविधिक टोलीतर्फ फर्केर ‘तिमीहरूले के गर्यौ, हेर’ भनेका थिए।
केही मिनेटपछि कार्यक्रममा फर्किएकी रोजासले आफू ठीक रहेको दर्शकहरूलाई बताइन्। यद्यपि, मुस्कुराउँदा उनको ओठको एक भाग फुटेको र दाँत वरिपरि रगत देखिएको थियो।
पछि प्रस्तोता चाभानाले घटनाको जिम्मेवारी लिँदै रोजाससँग माफी मागे। उनले भने, ‘मलाई अत्यन्तै दुःख लागेको छ। अहिले जे भयो, त्यसको जिम्मेवार म हुँ। मलाई आफूले गरेको कामप्रति निकै लज्जा र संकोच लागेको छ। मैले मेरो अगाडि ल्याइएको यो चिजमा लात्ती हानें… मलाई थाहा छैन, सायद मेरा नयाँ जुत्ताका कारण त्यस्तो भयो।’