चेन्नई सुपर किंग्सले मंगलबार उनलाई टोली मेन्टरको जिम्मेवारी दिएको छ । मैदानमा हेलिकोप्टर शटमार्फत विपक्षी बलरलाई निराश बनाउने धोनीले अब डगआउटबाट नयाँपुस्तालाई बाटो देखाउने छन् ।
काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीका रूपमा महेन्द्रसिंह धोनीको युग सकिएको छ । चेन्नई सुपर किंग्सले मंगलबार उनलाई टोली मेन्टरको जिम्मेवारी दिएको छ । मैदानमा हेलिकोप्टर शटमार्फत विपक्षी बलरलाई निराश बनाउने धोनीले अब डगआउटबाट नयाँपुस्तालाई बाटो देखाउने छन् ।
धोनीले आईपीएलमा १९ वर्ष बिताए । त्यसमध्ये १७ सिजन चेन्नईको पहेंलो जर्सीमा मैदान उत्रिए । सन् २०१६ र २०१७ मा चेन्नईमाथि प्रतिबन्ध लागेपछि भने उनी राइजिङ पुने सुपरजायन्ट्सबाट मैदान उत्रिए ।
आईपीएलमा २ सय ७८ खेल खेल्दै ५ हजार ३१४ रन बनाएका धोनीको कप्तानीमा चेन्नईले ५ आईपीएल र दुई च्याम्पियन्स लिग टी–२० उपाधि जितेको छ । सन् २०२४ मा उनले ऋतुराज गायकवाडलाई कप्तानी सुम्पिएका थिए । अर्को वर्ष ऋतुराज चोटग्रस्त भएपछि धोनीले फेरि कप्तानी सम्हाले पनि चेन्नईलाई पुरानो लयमा फर्काउन सकेनन् । सन् २०२६ मा चोटका कारण उनले एउटा पनि खेल खेल्न सकेनन् । उनको अन्तिम आईपीएल खेल २० मे २०२५ मा राजस्थान रोयल्सविरुद्ध रह्यो, जहाँ उनले १६ रन बनाएका थिए । इतिहासमै यो पहिलो पटक हुनेछ, जहाँ खेलाडीका रूपमा महेन्द्रसिंह धोनी आईपीएलमा देखिने छैनन् ।
चेन्नईका मालिक रूपा गुरुनाथका अनुसार सन् २०२७ का लागि टोलीबाट बाहिरिने खेलाडी सूची तयार पार्नेक्रममा भिडियो कलमा धोनीले शान्त स्वरमा भनेका थिए, ‘त्यो सूचीमा मेरो नाम पनि राखिदिनुहोस् ।’ यससँगै उनले झन्डै दुई दशक लामो आईपीएल यात्रामा पूर्णविराम लगाएका छन् ।
सन् २००८ को पहिलो आईपीएल अक्सनमा चेन्नईले धोनीलाई टोलीमा भित्र्याएको थियो । त्यतिबेला सायद कसैले कल्पना गरेका थिएनन्, एक दिन यही खेलाडी चेन्नईको पर्याय बन्नेछन् । जर्सी सार्वजनिक कार्यक्रममा तमिल भाषामा सम्बोधन गर्न आग्रह गर्दा उनले ठट्टा गर्दै समर्थकलाई तमिल बोल्न नआए पनि ट्रफी जिताउने वाचा गरेका थिए । पहिलो सिजनमै टोलीलाई फाइनल पुर्याएका उनले त्यसपछिका वर्षमा आफ्नो वाचा पूरा गरे । उनको कप्तानीमा चेन्नईले सन् २०१० र २०११ मा लगातार दुई पटक उपाधि जित्दै आफ्नो दबदबा स्थापित गर्यो । सन् २०१६ र २०१७ मा चेन्नईबाट टाढा रहनुपर्दा पनि उनको सम्बन्ध टुटेन । सन् २०१८ मा टोलीमा फर्किएपछि ३० वर्षमाथिका खेलाडीको बाहुल्य रहेको चेन्नईलाई ‘ड्याड्स आर्मी’ भन्दै आलोचना गरियो । तर, धोनीले त्यही टोलीलाई उपाधि जिताए । सन् २०२३ मा पाँचौं पटक उपाधि जितेपछि रवीन्द्र जडेजालाई खुसीले उचालेको दृश्यसहित धोनीका अनगिन्ती अविस्मरणीय क्षण छन् ।
आँकडामा पनि धोनीको उपलब्धि उत्तिकै विशाल छ । आईपीएलमा कप्तान भएर २ सय ३५ खेल खेल्दै उनले १ सय ३६ जित दिलाएका छन् । अन्तिम ५ ओभरमा ३ हजार ४६८ रन र अन्तिम ओभरमा मात्रै ८ सय ४४ रन बनाएका उनी प्रतियोगिताकै उत्कृष्ट फिनिसरमध्ये एक हुन् । विकेटकिपरका रूपमा १ सय ५४ क्याच र ४७ स्टम्पिङसहित २०१ खेलाडीलाई आउट गराएका छन् ।
चेन्नईका मालिक एन श्रीनिवासनले पनि धोनीविना चेन्नईको कल्पना गर्न नसकिने बताएका छन् । सन् २००८ मा उनलाई टोलीमा भित्र्याउने आफ्नो सबैभन्दा उत्कृष्ट निर्णय भएको स्मरण गराउँदै उनले धोनी सधैं चेन्नईको पहिचान रहने र टोली नै उनको घर भएको बताए । धोनीले एकपटक आफ्नो अन्तिम टी–२० खेल चेन्नईमै खेल्ने इच्छा व्यक्त गरेका थिए । समर्थकसामु आफ्नै मैदानबाट धन्यवाद भन्न चाहन्थे । तर चोट र परिस्थितिका कारण उनको त्यो इच्छा पूरा हुन सकेन । अन्ततः चेन्नईले आफ्नो ‘थाला’ लाई मैदानमा औपचारिक बिदाइ गर्ने अवसरसमेत पाएन ।
सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।