दुर्घटनामा आफन्त गुमाएका तथा घाइते भएकाले नगद, गरगहना हराएको गुनासो गर्दै आएका छन् । उद्धारमा खटिने निकायबीच सामान संकलन र हस्तान्तरणको स्पष्ट जिम्मेवारी नहुँदा पीडितको आशंका र प्रहरीको जवाफबीच तालमेल देखिँदैन ।
सर्लाही — सर्लाहीको सुन्दरपुर गाउँका अवधेश यादवले मकवानपुरको चिसापानीगढीमा गत बिहीबार बिहान भएको सवारी दुर्घटना मा श्रीमती पुनम, तीन छोरी र दुई भाइ गरी परिवारका ६ सदस्य गुमाए । छठ पर्व मनाउन घर फर्कंदै गरेका उनीहरू दुर्घटनामा परेपछि यादवले एकैपटक परिवारका ६ जनालाई दागबत्ती दिनुपर्यो ।
आफन्त गुमाउनुको असहृय पीडामाथि उनलाई अर्को चिन्ताले पनि पिरोलिरहेको छ । दुर्घटनालगत्तै श्रीमतीको हातेब्यागमा रहेको नगद र सुनका गरगहना हराएका छन् । दुर्घटनाको कोलाहल र घाइतेको उपचारको हतारोमा परिवारले तत्काल सामान खोज्न नसक्ने परिस्थितिको फाइदा उठाउँदै हुने यस्ता घटनाले मानवीय संवेदनामाथि नै प्रश्न उठाएको छ । दुर्घटनापछि अवधेशको प्रश्न छ– श्रीमतीको पर्समा रहेको पैसा र गहना खै ?
सोमबार सभामुख डोलप्रसाद (डीपी) अर्याल पीडित परिवारलाई भेट्न सुन्दर गाउँ पुगेका बेला यादवले श्रीमतीको हातेब्याग देखाउँदै त्यसमा रहेको एक लाख रुपैयाँ र केही सुनका गरगहना हराएको गुनासो गरे । उनले ब्यागको चेन खोलेर भित्री भागमा नोट राख्ने स्थान देखाउँदै दुर्घटनाअघि त्यहाँ एक लाख रुपैयाँ र सुन रहेको बताए । ‘मेरो एक लाख रुपैयाँ र केही गहना हरायो । खोजीदिनुस् न,’ उनले सभामुख अर्यालसँग आग्रह गरे ।
यादवको गुनासो सुनेपछि सभामुख अर्यालले सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलसँग जानकारी मागे । एसपी पौडेलले मकवानपुरका एसपी श्यामबहादुर खत्रीसँग सम्पर्क गरेको बताए । प्रहरीले घटनास्थलमा पुगेपछि सामान सुरक्षित राख्ने र कुनै पनि सामान हिनामिना हुन नदिने भन्दै पीडितलाई आश्वस्त पार्ने प्रयास गर्यो । एसपी पौडेलले अनुसन्धानका क्रममा हराएको भनिएका सामानबारे वास्तविकता खुल्दै जाने बताए । तर, दुर्घटनास्थलबाट सामान भेटिएको खबर आफूले सुने पनि त्यसको यकिन विवरण नपाएको उनको गुनासो छ । ‘मेरो अमूल्य सम्पत्ति सबै गुमिसक्यो, अब बाँकी नै के रह्यो र ? पैसा भेटिएको भनेर नसुनाइदिएको भए पनि हुन्थ्यो,’ उनले भने ।
आफू दुर्घटनास्थल पुग्दा माथिबाट (सडक) मधेशी समुदायका एक प्रहरीले तल (गाडी खसेर पुगेको स्थान) फोन गरेर एक लाख रुपैयाँ खसेको भनेर सोधेको र उताबाट ६० हजार रुपैयाँ फेला परेको जवाफ आएको आफूले सुनेको यादव बताउँछन् । ‘सुरुमा रकम भेटिएको भनिए पनि पछि त्यो रकम कहाँ गयो ? हराउने सबै हराए, तर भेटिएको सामान पनि गायब हुनु राम्रो होइन । कृपया निष्पक्ष रुपमा खोजी गरिदिनुस्,’ उनले आग्रह गरे ।
यादवले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वपत्रकार ऋषि धमलासँग पनि पैसा र गरगहना हराएको भन्दै खोजी गरिदिन आग्रह गरेका थिए । परिवारका सदस्य गुमाएको पीडामा रहेका यादवका लागि हराएको रकम र गरगहनाको विषय आर्थिक क्षतिभन्दा पनि घटनाको पारदर्शितासँग जोडिएको छ । उनको यही गुनासो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । आफूले दुःखले कमाएको ५० हजार र साहुसँग ऋण लिएको ५० हजार रुपैयाँ छठ पर्वका लागि श्रीमतीलाई दिएर पठाएको उनले सुनाए । दुर्घटनास्थलमा उनका भाइ र श्रीमतीको रित्तो पर्स भेटिएको थियो ।
चिसापानीगढी दुर्घटनामा उद्धारका लागि सबैभन्दा पहिले भीमफेदी इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली पुगेको थियो । उक्त टोलीको नेतृत्व गरेका इलाका प्रहरी कार्यालयका सई दीपेन्द्र ढकालले घटनास्थलमा सामान छरपस्ट रहेको स्वीकार गरे पनि रकमबारे आफूलाई जानकारी नभएको बताए । ‘ब्याग, छरिएको रकमलगायत अन्य सामान हामीले केही छोएनौं । जिल्लाबाट आएको टोलीले सबै संकलन गरेको हो,’ उनले भने, ‘कसैले रकम लुकाएको भन्ने हामीलाई लाग्दैन । त्यस्तो हुनु नपर्ने हो ।’
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधव काफ्लेले दुर्घटनापछि मृतकको शव खोज्न र बाहिर ल्याउन निकै कठिन भएको अवस्थामा घटनास्थलमा नगद केही फेला नपरेको बताए । ‘त्यहाँ जे–जे समान फेला परेको थियो, हामीले चिन्न सक्ने जति बुझाएका हौं,’ उनले भने, ‘नगद र गरगहनाका कुराहरु छानबिन समिति समक्ष कुरा राख्छौं ।’
सवारी दुर्घटनापछि घाइते तथा मृतकका नगद, मोबाइल, गरगहना र व्यक्तिगत कागजात हराएको गुनासो नयाँ होइन । उद्धारका बेला घाइतेको ज्यान जोगाउनु प्राथमिकता हुने भएकाले उनीहरूसँग रहेका सामानको खोजी र अभिलेखीकरण ओझेलमा पर्ने गरेको छ । तर, पछि सामान फिर्ता नपाउँदा पीडित परिवारले चोरी भएको आशंका गर्ने गरेका छन् ।
चिसापानीगढी दुर्घटनाले पनि उद्धारपछि सामान संकलन र हस्तान्तरणको प्रक्रियामाथि प्रश्न उठाएको छ । यही प्रश्नको उत्तर खोज्न कान्तिपुरले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग सम्पर्क गरेको थियो । ठूला दुर्घटनापछि घाइते र मृतकका सामान कहाँ हराउँछन्, नगद र गरगहना कसले लैजान्छ भन्ने प्रश्नमा उनले देशभरका अधिकांश दुर्घटनामा यस्तो समस्या नआउने तर कतिपय ठूला दुर्घटनामा प्रहरी पुग्नुअघि नै स्थानीय घटनास्थलमा पुग्ने गरेकाले समस्या आउने गरेको दाबी गरे ।
‘भोटेकोशी बाढी जस्तो दर्दनाक पीडाको बेलामा पनि बगाएर ल्याएका सुन र समानहरु लगे, यस्ता प्रवृतिका मानिस पनि छन् । त्यस्ता प्रवृतिका मानिसले घटनास्थल पुगेर उद्धारको मानवीय सहायतको नाममा गलत सोच राखेर काम गरेको हुन सक्छ,’ उनले भने, ‘दुर्घटनापछि यात्रुको समान हराएको घटनामा सम्बन्धित जिल्ला प्रहरीले अनुसन्धान गर्ने र यथार्थ पत्ता लगाई कारबाही गर्ने काम गरिरहेको छ । प्रहरी महानिरीक्षकज्यूले पनि राजमार्गमा हुने दुर्घटना र त्यसपछि आउने समस्याका बारेमा गम्भीर भईलाग्न निर्देशन दिनुभएको छ ।’
प्रवक्ता काफ्लेले सवारी दुर्घटनास्थलमा जिम्मेवार प्रहरी अधिकृतहरू खटिने भएकाले उनीहरूले घाइतेलाई अस्पताल पुर्याउनेदेखि शव व्यवस्थापनसम्म कुनै कसर बाँकी नराख्ने बताए । राजमार्गमा धेरै दुर्घटना हुने भए पनि सबैमा सामान हराउने समस्या नआउने हुँदा प्रहरीले संवेदनशील भई काम गर्ने उनको दाबी छ । ‘इमान्दारिता, व्यावसायिकता र मानव जीवनको सुरक्षा तथा धनमाल सुरक्षाको जिम्मेवारी प्रहरीको हुन्छ,’ उनले भने, ‘गलत प्रवृतिका मानिसले कहिलेकाहीँ यस्ता घटना गराइरहेका हुन्छन् । दुर्घटना लगत्तै प्रहरी पुगेको घटनामा समस्या आउँदैन ।’
दुर्घटनापछि सामान हराएको गुनासो नयाँ होइन । रौतहटको चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको लच्कानजिकै २०८१ जेठ ७ गते बस दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भए । जनकपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस दुर्घटना हुँदा घाइते सबैको चन्द्रनिगाहपुर अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि घर फर्किएका केही घाइतेले आफ्ना मोबाइललगायत सामान हराएको मौखिक जानकारी प्रहरीलाई गराएका थिए । तर, प्रहरीले घटनास्थलमा फेला परेका सबै सामान सम्बन्धित व्यक्तिलाई बुझाइसकेको दाबी गरेको छ ।
२०७६ जेठ ३ गते काठमाडौंको सिनामंगलस्थित गुहृयेश्वरी स्कुल नजिकै मोटरसाइकल र ट्याक्सी ठोक्किँदा मोरङ घर भई काठमाडौंको बालकोट बस्दै आएका अरुण धिमाल र उनकी बहिनी अस्मिता दुर्घटनामा परे । बहिनीलाई कलेज पुर्याउन हिँडेका अरुणको बा ७२ प २५ नम्बरको मोटरसाइकल र बा २ ज ५२५८ नम्बरको ट्याक्सी ठोक्किएका थिए ।
दुर्घटनामा होस गुमाएका अरुण केएमसी अस्पताल पुगेको करिब आधा घण्टापछि मात्रै बोल्न सक्ने अवस्थामा आए । त्यसपछि उनीहरूले आफ्ना सामान साथमा नभएको थाहा पाए । अरुणको पर्स र बहिनीको सानो झोलासहित दुवैका मोबाइल हराएका थिए । पर्समा पाँच हजार रुपैयाँ, नागरिकता, सवारीसाधनको ब्लुबुकलगायत कागजात रहेको अरुणले प्रहरीलाई बताएका थिए । प्रहरी प्रभाग गौशालाले दुर्घटना र सामान चोरी भएको विषयमा अनुसन्धान भइरहेको जनाएको थियो । त्यसको झन्डै एक साताअघि सोही क्षेत्रको गोल्डेन गेट कलेजअगाडि भएको दुर्घटनामा पनि घाइतेका सामान हराएको गुनासो प्रहरीसमक्ष पुगेको थियो ।
दुर्घटनापछि घाइतेका सामान हराउने मात्र होइन, उद्धारमा संलग्न व्यक्तिमाथि नै चोरीको आरोप लागेका घटना पनि छन् । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारमा २०८२ साउन २९ गते स्कुटर दुर्घटनामा घाइते भएका एक व्यक्तिको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए । स्थानीयले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घााटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको भन्दै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका थिए ।
प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार अनुसन्धानका क्रममा घाइतेको उद्धारमा संलग्न शिवसताक्षी–८ का सुरज हलवाई र गोविन्द हान्देम्बु लिम्बूले उक्त सिक्री चोरी गरेको खुलेको थियो । प्रहरीले साउन ३२ गते साँझ गणेश चोकबाट दुवैलाई नियन्त्रणमा लिएको थियो । चोरी मुद्दामा अनुसन्धानपछि अदालतमा पेस हुँदा उनीहरू जनही ७० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । यो घटनाले दुर्घटनामा घाइते भएका व्यक्तिका सामानसमेत असुरक्षित हुन सक्ने देखाएको छ । सामान दुर्घटनास्थलमै हराएको, उद्धारका क्रममा छुटेको वा अन्यत्र पुगेको हुन सक्ने भएकाले प्रत्येक घटनाको छुट्टाछुट्टै अनुसन्धान आवश्यक हुने सुरक्षा अधिकारीहरू बताउँछन् ।
पूर्व–पश्चिम राजमार्गको लमाहा खण्डमा गत वर्षको साउनमा भएको यात्रुवाहक बस दुर्घटनामा बाराको सिमराका स्थानीय उत्तम पोखरेल घाइते भए । दुर्घटनापछि उनको मोबाइल हरायो । उनले मोबाइल हराएको भन्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिए । तर, घटना भएको एक वर्ष बितिसक्दा पनि उनले मोबाइल फिर्ता पाएका छैनन् । प्रहरीले खोजतलास भइरहेको बताउँदै आएको पोखरेलको गुनासो छ ।
एउटा मोबाइल हराउनु सामान्य आर्थिक क्षतिजस्तो देखिए पनि त्यसमा रहेका व्यक्तिगत विवरण, सम्पर्क नम्बर, तस्बिर तथा अन्य महत्त्वपूर्ण सूचनाका कारण पीडितका लागि त्यसको महत्त्व ठूलो हुने पोखरेलले बताए । ‘वर्षौंसम्म सामान नभेटिँदा प्रहरी अनुसन्धानप्रतिको विश्वाससमेत कमजोर बन्न सक्छ,’ उनले भने, ‘यहाँ मोबाइलको मात्र कुरा छैन । सुरक्षा र यात्रुको जीवनसित जोडिएका समानको पनि कुरा हुन्छ ।’
एक जुनियर प्रहरी अधिकृतका अनुसार ठूला दुर्घटनामा मृत्यु भएको अवस्थामा घटनास्थल पुग्ने प्रहरीले मुचुल्का तयार पार्छ । गम्भीर घाइते भएको अवस्थामा पनि मुचुल्का बनाउनुपर्ने हुन्छ । घाइते तथा मृतकका सामान संकलन गरी प्रहरी कार्यालयमा ल्याइन्छ । त्यसपछि आफन्तलाई बोलाएर सामान रुजु गरी जिम्मा लगाइन्छ । फेला नपरेका सामानको हकमा खोजी गरिन्छ । तर, सामान फेला नपरेपछि त्यसको खोजीलाई निरन्तरता दिने स्पष्ट प्रक्रिया भने नभएको प्रहरी अधिकारीहरू नै बताउँछन् ।
स्थानीयले पुगेर उद्धार गरेको अवस्थामा घटनास्थलको अवस्था हेरेर सबैभन्दा पहिले घाइतेको जीवन बचाउनुपर्ने भएकाले सामान संकलनमा संलग्न व्यक्तिहरूको पहिचान गर्नु आवश्यक हुने एक सुरक्षा अधिकारीले बताए । ‘अब दुर्घटनास्थलमा सबैभन्दा पहिला को पुग्यो र त्यसले केके गर्यो भन्ने महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यो काम गर्न सकिएन भने पीडितको समान हराएको घटनाले फोकटमा प्रहरीको बदनाम हुन्छ ।’
सवारी दुर्घटनामा घाइतेको उपचार र मृतकको व्यवस्थापनसँगै उनीहरूका व्यक्तिगत सामान सुरक्षित राख्ने व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण हुने रौतहट बस व्यवसायी संघका अध्यक्ष लालबाबु गिरीले बताए । घटनास्थलमा भेटिएका नगद, गरगहना, मोबाइल, कागजात तथा अन्य सामग्रीको तत्काल विवरण तयार गरी प्रहरीको जिम्मामा सुरक्षित राख्ने र परिवारका सदस्य वा कानुनी हकदारलाई बुझाउँदा भरपाई गराउने व्यवस्था प्रभावकारी बनाउन आवश्यक रहेको अध्यक्ष गिरीले बताए । ‘विशेषगरी ठूलो दुर्घटनामा उद्धारमा खटिएका सबै निकायबीच सामान संकलन र हस्तान्तरणको स्पष्ट जिम्मेवारी हुनुपछ,’ उनले भने, ‘घटनास्थलमा भेटिएका सामानको मुचुल्का, तस्बिर र विवरण राख्ने अभ्यासले अनावश्यक आशंका तथा आरोपलाई कम गर्न सकिन्छ ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटनामा खटिने जोकोही पनि इमानदार र जवाफदेही हुनुपर्ने बताए । ‘दुर्घटनामा सामान हराउने घटनामा कसैको यथार्थ समान हराएको पनि हुन्छ, र कसैले बनावटी कुरा पनि भेनका हुन्छन् । जे भए पनि दुर्घटनापछि समानको सुरक्षा हुनुपर्छ,’ उनले भने, ‘दुर्घटनामा घाइते, मृतकको अवस्थालाई मध्यनजर गर्दै मानवीय संवेदनशीलताको पनि ख्याल गर्नुपर्छ ।’
सडक दुर्घटनाले परिवारमा बज्रपात निम्त्याइरहेका बेला पीडितको उद्धार गर्नुपर्ने संवेदनशील घडीमा उनीहरूसँग रहेका नगद, मोबाइल र गरगहना हराउनु गम्भीर विषय भएको पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) केशबहादुर शाहीले बताए । ‘दुर्घटनामा सर्वस्व गुमाएका पीडितलाई न्याय दिन र उनीहरुको सम्पत्ति खोजी गरी फिर्ता गराउन सम्बन्धित निकाय अझै जिम्मेवार बन्न जरुरी देखिन्छ,’ उनले भने ।
सडक दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरू आफैं आफ्नो सामानको सुरक्षा गर्न सक्ने अवस्थामा नहुने भएकाले उनीहरूसँग रहेका सामान सुरक्षित राख्नु उद्धार र अनुसन्धानमा संलग्न निकायको जिम्मेवारी भएको उनले बताए । दुर्घटनास्थलबाट हराएका सामानको खोजी चोरीको अनुसन्धानमा मात्र सीमित विषय नभई प्रहरी प्रशासनलगायत सरोकारवालाको जवाफदेहिता र पीडितको विश्वाससँग पनि जोडिएको प्रश्न भएको उनले बताए ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।