काठमाडौं । चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक प्रहार गर्ने पाँचौ खेलाडी बनेका हुन् ।
एनपीएलको तेस्रो सिजनको एलिमिनेटरमा चितवनका मिशाराले काठमान्डु गोर्खाजविरुद्ध शतक प्रहार गरेका हुन् । उनले ५९ बल खेल्दै ५ चौका र १० छक्का मद्दतमा अविजित १२० रन बनाए ।
देव खनालसँग ओपनिङ गरेका मिशाराले अन्तिमसम्म ब्याट क्यारी गर्दै एनपीएल इतिहासमा व्यक्तिगत उच्च स्कोर समेत बनाए ।
यसअघि एनपीएलको दोस्रो संस्करणमा कर्णाली याक्समा मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाएका थिए । त्यसबेला सबैभन्दा छिटो ४१ बलमै शतक प्रहार गरेका उनले ४४ बल खेल्दै ६ चौका र १२ छक्का मद्दतमा ११४ रन बनाएका थिए ।
यस सिजन शतक बनाउने मिशारा दोस्रो खेलाडी हुन् । यसअघि लिग चरणमा पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सिंह सम्राले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।
एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा अहिलेसम्म पाँच शतक बनेका छन् । त्यसमा तीन टिमका खेलाडीले मात्र शतक बनाएका छन् । पोखरा एभेन्जर्सका तीन तथा कर्णाली र चितवनका एक-एक खेलाडीले शतक प्रहार गरेका थिए ।
सन् २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका अमेरिकी खेलाडी आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो शतक बनाएका थिए ।
उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा अविजित १०४ रन बनाएका थिए । गौस र दिनेश खरेलले अविजित १७६ रनको साझेदारी गरेपछि पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको थियो ।
यस्तै दोस्रो सिजन कर्णालीका मार्क वाट र पोखराकै एडम रोसिङ्गटनले शतक प्रहार गरे । मार्क वाटले लुम्बिनीविरुद्ध शतक प्रहार गर्दा पोखराका रोसिङ्गटनले भने कर्णाली याक्स विरुद्ध नै शतक प्रहार गरे ।
रोसिङ्गटनले ५८ बल खेल्दै ११ चौका र ७ छक्का मद्दतमा अविजित १०८ रन बनाएका थिए ।
तेस्रो संस्करणमा पनि पहिलो शतक पोखराकै खेलाडीको नाममा रह्यो । ओपनर युवराज सम्राले कर्णाली याक्सविरुद्ध नै शतक प्रहार गरे ।
पोखराका मार्की प्लेअर कुशल भुर्तेल भने लिग चरणमा काठमान्डु गोर्खाजविरुद्धको खेलमा शतक बनाउन बाट एक रनले चुके । उनी ९९ रन बनाएर आउट भएका थिए ।