कैलाली उद्योग वाणिज्य संघले मंसिर २२ देखि पुस ५ गतेसम्म ४२५ स्टलसहित महोत्सव सञ्चालन गर्ने जनाएको छ।
कैलाली — करिब पाँच लाख दर्शक र १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्यसहित धनगढीमा सुदूरपश्चिम महोत्सव-२०८३ आयोजना हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले आगामी मंसिर २२ देखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा महोत्सव सञ्चालन गर्न लागेको हो ।
महोत्सवमा विभिन्न व्यवसाय र उत्पादनसँग सम्बन्धित करिब ४२५ वटा स्टल राखिने सँघले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधि क्षेत्रका उत्पादन तथा सेवाले महोत्सवमा स्थान पाउनेछन् । आयोजकले महोत्सव सञ्चालनका लागि करिब चार करोड रुपैयाँ लगानी हुने अनुमान गरेको छ ।
यस वर्षको महोत्सवमा व्यापारिक गतिविधिसँगै कृषि उत्पादन र प्रविधिको प्रदर्शनलाई पनि महत्व दिइएको छ । ताजा तरकारी, कृषि उपज, नवीनतम कृषि प्रविधि तथा स्थानीय उत्पादन प्रदर्शनीमा राखिनेछन् । यसले स्थानीय कृषक र उद्यमीलाई उपभोक्तासँग प्रत्यक्ष जोड्ने तथा उत्पादनको बजार विस्तार गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
दर्शकको आकर्षण बढाउन ‘अम्ब्रेला स्ट्रिट’ लगायतका संरचना तयार गरिने छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारका सांगीतिक तथा सांस्कृतिक प्रस्तुत सँगै सुदूरपश्चिमका लोकगीत, लोकनृत्य र मौलिक परम्परालाई पनि विशेष स्थान दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार भारतलगायत अन्य क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत सहभागी गराउने तयारी छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवलाई प्रदेशको आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा लिइएको बताए । उनका अनुसार महोत्सवले व्यापारिक कारोबारमा मात्र नभई स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमशीलता, रोजगारी सिर्जना र लगानी आकर्षणमा समेत योगदान पुर्याउनेछ ।
बिगतका महोत्सवमा सहभागी भएर प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै कतिपय युवाले आफ्नै व्यवसाय सुरु गर्न सफल भएको अध्यक्ष ओझाको भनाइ छ । यसपटक पनि महोत्सवले नयाँ उद्यमी जन्माउन र स्थानीय व्यवसायलाई प्रोत्साहन गर्न सहयोग पुग्ने उनको अपेक्षा छ ।
प्रदेशको पर्यटन, कृषि, उद्योग र व्यापारलाई एउटै थलोमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ । स्थानीय भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई पनि महोत्सवको महत्वपूर्ण पक्षका रूपमा राखिएको छ ।
महोत्सव व्यवस्थापनका लागि मूल आयोजक समितिसहित २४ वटा उपसमिति गठन गरिएको छ । भीड व्यवस्थापन र सुरक्षालाई ध्यानमा राख्दै निजी तथा सरकारी सुरक्षा जनशक्ति परिचालन गरिनेछ । साथै, महोत्सवस्थलमा सीसीटीभी क्यामेरामार्फत निगरानी गरिने आयोजकले जनाएको छ ।
मौसमजन्य जोखिम तथा सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पनि तयारी थालिएको छ । आवश्यक सुरक्षा सामग्री, दक्ष जनशक्ति र विपद् प्रतिकार्यको व्यवस्था मिलाउन धनगढी उपमहानगरपालिका तथा सम्बन्धित निकायसँग आग्रह गरिएको अध्यक्ष ओझाले बताएका छन् ।