Trending
Prev Story
Next Story

विचार | मृत्युको मुखबाट फर्किएको जीवन

Ekantipur •
November 18, 2026 • 10:32 AM
3
3 reads 0 reactions

भोटेकोशी बाढीपछि उद्धारमा खटिएका १३ दिनले मलाई अमूल्य पाठ सिकाए— विपद्ले संरचना भत्काउन सक्छ, बाटो मेटाउन सक्छ, मानिसलाई अन्धकारमा पुर्‍याउन सक्छ, तर मानवीय साहस, सहकार्य र आशालाई सजिलै पराजित गर्न नसक्ने रहेछ ।

विचार | मृत्युको मुखबाट फर्किएको जीवन

भोटेकोशी बाढीपछि उद्धारमा खटिएका १३ दिनले मलाई अमूल्य पाठ सिकाए— विपद्ले संरचना भत्काउन सक्छ, बाटो मेटाउन सक्छ, मानिसलाई अन्धकारमा पुर्‍याउन सक्छ, तर मानवीय साहस, सहकार्य र आशालाई सजिलै पराजित गर्न नसक्ने रहेछ ।

कहिलेकाहीँ मृत्युबाट जीवनमा फर्कन सक्ने दूरी असाध्यै थोरै हुन्छ । तर, त्यो दूरी पार गर्न साहस, समर्पण र संघर्षका कैयौं दिन लाग्न सक्छन् । गत भदौ १० को भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीपछि जमिनमा पुरिएका जीवनको खोजी र उद्धारमा मैले १३ दिन बिताएँ । ती दिन मेरा लागि केवल उद्धार अभियान थिएनन्, मानवता, कर्तव्य र आशाको अविस्मरणीय परीक्षा थिए ।

भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा आएको भीषण बाढी र पहिरोले प्रकृतिको रौद्र रूप देखाएको थियो । हिजोसम्म मानिसका पाइला परेका बाटा हराएका थिए । बस्ती, सडक, पुल र अन्य संरचना बाढीले बढारेर लगेको थियो । कतै पहाड चिरिएका थिए त कतै नदीले आफ्नो बाटो बदलेको थियो । सञ्चारमाध्यममा देखिएका दृश्यभन्दा घटनास्थलको वास्तविकता कैयौं गुणा भयावह र कारुणिक थियो ।

विपद् व्यवस्थापनमा करिब दस वर्षको अनुभव र विशेष तालिम भए पनि यस पटकको चुनौती फरक थियो । सिनामंगलस्थित सशस्त्र प्रहरी बल नेपालको नम्बर–२० विपद् तथा उद्धार गणबाट भत्किएका संरचनामा खोज तथा उद्धार गर्ने विशेष तालिम प्राप्त सीएसएसआर (कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु) टोलीको नेतृत्व गर्दै म नुवाकोटतर्फ प्रस्थान गरें । नेपाली सेनाको हेलिकोप्टरबाट हामी नुवाकोट र रसुवाको सीमामा रहेको अपर त्रिशूली ३–ए जलविद्युत् आयोजना क्षेत्रमा पुग्यौं । त्यस ठाउँमा हेलिकोप्टर अवतरण गर्ने सुरक्षित स्थानसमेत थिएन । हामी आयोजनाको सुरुङभन्दा करिब तीन किलोमिटर तल ओर्लिएर भीर, पहिरो र हिलो छिचोल्दै अघि बढ्यौं ।

आयोजनास्थलमा पुग्दा बाढीले करिब सय फिट माथिसम्म प्रभाव पारेको देखिन्थ्यो । बाहिरबाट समथर मैदानजस्तो देखिने जमिनभित्र हिलो, ढुंगा र भग्नावशेषको तह थियो । त्यहीँ कतै सुरुङको मुख पुरिएको थियो, जहाँ करिब ४० जना फसेको प्रारम्भिक सूचना थियो ।

प्राविधिक अध्ययनपछि थाहा भयो, सुरुङको मुख भेट्न मात्र करिब ६० फिट गहिरो खन्नुपर्ने रहेछ । त्यहाँबाट पनि भित्र फसेका मानिससम्म पुग्न थप दूरी पार गर्नुपर्ने थियो । मनमा बारम्बार एउटै प्रश्न उठ्थ्यो— के उनीहरू अझै जीवित होलान् ?

तर उद्धारकर्मीका लागि आशंकाभन्दा कर्तव्य ठूलो हुन्छ । हामीसँग फलाम, रड र ढलान काट्ने उपकरण थिए, तर ६० फिट गहिरो खन्न एक्स्काभेटर अपरिहार्य थियो ।

स्थानीय समन्वयबाट एउटा एक्स्काभेटर पाइयो । चालकले जोखिम मोलेर बाटो बनाउँदै मेसिन खोलासम्म ल्याए । रातको ११ बजेतिर मेसिन सुरक्षित रूपमा पारि पुग्यो । तर त्यही क्रममा दोस्रो बाढी आउने पूर्वसूचनासँगै उच्च सतर्कताको निर्देशन आयो । हामी एक्स्काभेटर त्यहीँ छाडेर सुरक्षित स्थानतर्फ फर्कियौं । त्यो रात गृहमन्त्रीज्यू पनि हामीसँगै पालमा बस्नुभयो । राति आएको अर्को बाढीले बाँकी रहेको बाटो र संरचनासमेत बगायो । संयोगवश एक्स्काभेटर भने सुरक्षित रह्यो ।

हेलिकोप्टरको वेट लिमिटेसनका कारण उद्धार सामग्री र अपरेसनल उपकरण मात्र बोकेर निस्किएका हामीसँग व्यक्तिगत सामग्रीको नाममा लगाएको एक जोर चुस्ता मात्र थियो । चार दिनसम्म लगातार परेको पानीमा भिजेकै लुगा लगाएर हिलोमा काम गर्नु चुनौतीपूर्ण थियो । दुई–तीन दिन चाउचाउकै भरमा भोक टार्नुपर्‍यो, त्यसपछि खानाको व्यवस्था भयो । पाँचौं दिनमा मात्र शान्तिबजारको निर्माणाधीन घरमा ओभानो भएर सुत्न पाइयो ।

उद्धार अभियान सामूहिक प्रयासको उत्कृष्ट उदाहरण बन्यो । नेपाल विद्युत् प्राधिकरणका इन्जिनियरहरूले प्राविधिक नक्साका आधारमा सुरुङको सम्भावित प्रवेशबिन्दु पहिचान गरिदिए । नेपाली सेनाले ठूला चट्टानहरू विस्फोट गराएर हटायो । एक्स्काभेटरले माटो र ढुंगा पन्छायो । हाम्रो सीएसएसआर टोलीले फलामे पाइप, रड, पिल्लर र ढलान काट्दै बाटो खोल्यो ।

हरेक दिन, हरेक घण्टा र हरेक मिटर खनाइसँगै आशा र अनिश्चितता एकसाथ अघि बढेका थिए । अन्तत: दस दिनको अथक प्रयासपछि सुरुङको मुख खुल्यो । त्यसपछि आएको क्षणलाई शब्दमा व्यक्त गर्न आज पनि कठिन हुन्छ । हामीले सुरुङबाट पहिले सञ्जय साह र त्यसपछि कबिर महर्जनलाई जीवितै निकाल्न सफल भयौं । सुरुङभित्रको थप खोजीमा १ सय ६० मिटरभित्र रहेको भवनको सातौं तलामा एक जनाको शवसमेत भेटियो ।

दस दिनसम्म अन्धकार र अनिश्चिततामा रहेका मानिसलाई सकुशल उद्धार गर्दाको खुसीलाई कुनै पदक वा सम्मानसँग तुलना गर्न सकिँदैन । खोज तथा उद्धारका प्रारम्भिक ७२ घण्टा अत्यन्त संवेदनशील मानिन्छन्, तर त्यसपछि पनि जीवन बच्ने सम्भावना समाप्त हुँदैन । दस दिनपछि भएको यो जीवित उद्धार त्यसकै सशक्त उदाहरण हो ।

यस्ता जटिल अभियानमा साहस मात्र पर्याप्त हुँदैन । सही रणनीति, प्रशिक्षित जनशक्ति, उपयुक्त औजार तथा उपकरण, तत्काल परिचालन हुने तयारी योजना र प्रभावकारी अन्तरनिकाय समन्वय उत्तिकै आवश्यक हुन्छन् । नेपालको कठिन भूगोलमा भारी उपकरण हवाई मार्गबाट ढुवानी गर्न सक्ने क्षमता, हिलो हटाउने मेसिन तथा उद्धारकर्मीले बोकेर लैजान सक्ने हलुका तर शक्तिशाली कटर र अन्य उपकरणमा लगानी अपरिहार्य देखिन्छ । त्यस्तै, स्थानीय समुदायमा पूर्वसूचना प्रणाली, जोखिमसम्बन्धी जनचेतना र नियमित अभ्यासलाई प्राथमिकता दिनुपर्छ । विपद् आउनुअघि नै त्यसको सामना गर्ने क्षमता विकास गर्नुपर्छ ।

आज ती १३ दिन सम्झँदा भिजेका लुगा, चिसा रात, भोक, चोट र जोखिमपूर्ण यात्राका दृश्य आँखाअगाडि आउँछन् । तर ती सबैभन्दा स्पष्ट सम्झना छ, सुरुङबाट जीवित मानिस निस्किएको क्षणको । त्यो सफलता कुनै एक व्यक्ति वा निकायको नभई सुरक्षा निकायदेखि प्राविधिक, एक्स्काभेटर चालक, स्थानीय समुदायसहितको सामूहिक प्रयासको प्रतिफल थियो ।

ती १३ दिनले मलाई एउटा अमूल्य पाठ सिकाए— विपद्ले संरचना भत्काउन सक्छ, बाटो मेटाउन सक्छ, मानिसलाई अन्धकारमा पुर्‍याउन सक्छ, तर मानवीय साहस, सहकार्य र आशालाई सजिलै पराजित गर्न सक्दैन ।

अमृत थापा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक हुन्। उनी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा प्रशिक्षकका रूपमा कार्यरत छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

#भोटेकोशी #उद्धार
Compare →
Onlinekhabar
1w ago
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

२२ कात्तिक, काठमाडौं । गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर …

#भोटेकोशी #उद्धार
Compare →

Related Stories

Opinion & Editorial
Build #2612