रसुवाको टिमुरेबाट भदौ १० गते बेपत्ता ४७ वर्षीय युवराज सोती र २६ वर्षीय अमृत सोतीको रामपुरस्थित कालीगण्डकी किनारमा धार्मिक विधिपूर्वक अन्त्येष्टि गरिएको हो।
पाल्पा — रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा बेपत्ता भएका पाल्पाको रामपुर नगरपालिका–७, मोहोटीका युवराज सोती (रामु) र उनका छोरा अमृत सोतीको ८४ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । बाढीमा परेर ४७ वर्षीय रामु र २६ वर्षीय अमृत रसुवाको टिमुरेबाट बेपत्ता भएका थिए ।
लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले धार्मिक परम्पराअनुसार दुवै जनाको कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको हो । परिवारले रामपुर नगरपालिका–६ स्थित परेवाघाटमा कालीगण्डकी नदी किनारमा उनीहरूको अन्त्येष्टि गरेको हो ।
रामपुर–७ का वडाध्यक्ष दोवराज तिवारीका अनुसार परिवार र आफन्तले लामो समयसम्म खोजी गरे पनि बाबुछोराको अवस्थाबारे कुनै जानकारी पाउन सकेनन् । उनीहरूको खोजीमा परिवारका सदस्य चितवन, गोरखा, पोखरा, काठमाडौं हुँदै रसुवासम्म पुगेका थिए । शव भेटिने आशामा परिवारका सदस्यले डीएनए परीक्षणका लागि नमुनासमेत दिएका थिए । तर, कतैबाट खबर नआएपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको आफन्त खेम रानाले बताए । कुशको शवलाई युवराजका भाइ नवीन सोतीले दागबत्ती दिए ।
चार वर्षयता रामपुर नगरपालिका–७, शीतलनगरकी ४३ वर्षीया सरिता सुती मगरको जीवनमा पीडामाथि पीडा थपिएको छ । उनले चार वर्षअघि छोरी गुमाएकी थिइन् । अहिले भोटेकोशीको बाढीमा श्रीमान् र छोरा गुमाएकी छन् । ‘छोरीको वियोग भुल्न नपाउँदै अर्को घटना भयो,’ उनले भनिन्, ‘मेरो बाँच्ने आधार श्रीमान् र छोराको मृत्युले थप पीडा भएको छ ।’
निस्दी गाउँपालिका–३, झिरुवास भलुवा घर भएका सुती परिवार बसाइँ सरेर रामपुर आएका हुन् । अहिले घरमा सरिता एक्लै छिन् । श्रीमान् र छोरा फर्केर आउने आशा गर्दागर्दै ८४ दिन बित्यो । आफन्त र छिमेकी बेला–बेला आएर उनलाई साथ दिन्छन् । खोजीका लागि वडाध्यक्ष तिवारीलगायतले पनि पहल गरेका थिए । तर, लामो समयसम्म युवराज र अमृतको अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो ।
‘मलाई पीडामाथि पीडा थपिएको छ,’ उनले भनिन्, ‘चार वर्षअघि छोरी गुमाएँ । अहिले श्रीमान् र छोरा दुवै गुमाएँ । मैले कसरी सहनु ? दैवको खेल मैमाथि किन लागेको हो खै ?’ छोरा र श्रीमान्को तस्बिर देखाउँदै उनले भनिन्, ‘यस्तो विपद् मैमाथि किन परेको हो, थाहा छैन ।’
सरिताका श्रीमान् युवराज लामो समयदेखि घरबाहिर रहेर काम गर्दै आएका थिए । करिब एक दशकदेखि धादिङ, नुवाकोट, रसुवा र आसपासका जिल्लामा उनले निर्माणसम्बन्धी ठेक्का तथा पेटी ठेक्काको काम गर्दै आएको वडाध्यक्ष तिवारीले बताए । एक पटकमा २० देखि २५ जनासम्म मजदुर लिएर उनी निर्माणस्थलमै कामको व्यवस्थापनमा खटिन्थे । कामकै सिलसिलामा उनी रसुवाका विभिन्न जलविद्युत् आयोजनामा पुगेका थिए ।
पछिल्लो समय युवराजले कुन कम्पनीअन्तर्गत, कुन ठाउँमा र कस्तो काम गरिरहेका थिए भन्ने जानकारी सरितालाई थिएन । घरमा खेतीपातीको काम उनले सम्हाल्थिन् । काम सिकाउन युवराजले छोरालाई पनि सँगै लगेका थिए । पढाइ सकेपछि अमृत काम सिक्न बुवासँगै हिँड्न थाले । प्लस टु उत्तीर्ण गरेका अमृतलाई बुवाले करिब तीन वर्षदेखि निर्माण तथा ठेक्कापट्टाको काममा आफूसँगै लग्दै आएका थिए ।
केही समयअघि मात्रै अमृत घर आएका थिए । नागरिकता तथा अन्य आवश्यक कागजपत्र बनाएर उनी पुनः बुवासँगै काममा फर्किएका थिए । भदौ १० गते रसुवामा बाढी आएपछि बाबुछोरासँगको सम्पर्क एकाएक टुटेको सरिताले बताइन् । त्यसपछि आफन्त र छिमेकीले सम्भावित ठाउँमा खोजीका लागि पहल गरे । सम्बन्धित निकायसँग पनि सम्पर्क गरे । तर, झन्डै तीन महिना बित्न लाग्दासमेत युवराज र अमृतको कुनै ठोस खबर आएन ।
पाल्पामा यसअघि भोटेकोशी बाढीमा बेपत्ता भएका तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापाको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो । बेपत्ता भएको २४ दिनसम्म कुनै खबर नआएपछि परिवारले दोभान (कचल) खोलाको बन्चरे पहाड घाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरेको थियो ।
भोटेकोशी बाढीमा बेपत्ता तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्कीको पनि कुशको शव बनाएर कालीगण्डकी नदीमा अन्तिम संस्कार गरिएको थियो । लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जरका रूपमा कार्यरत कार्की बेपत्ता भएको १७ दिनपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको थियो । तानसेन नगरपालिका–३, वसन्तपुरका तिलबहादुर राना (तिलक) को पनि कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो । उनी स्याङ्जाको बेलाटारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत थिए ।
गत भदौ १० गतेको भोटेकोशी बाढीपछि पाल्पाका ११ जना सम्पर्कविहीन भएकामा निस्दी गाउँपालिका–३ का बोमबहादुर सोमै सम्पर्कमा आएका थिए । बाढीमा पाल्पाका १० जना बेपत्ता भएका थिए । तीमध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको मात्र शव फेला परेको थियो । उनको दाहसंस्कार गरिएको थियो ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।