३० कात्तिक, धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार दुर्घटनामा परेका एक बालक बेपत्ता छन् ।
मृत्यु हुनेमा बुंगल नगरपालिका–१० बस्ने अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेको डीएसपी जोराले बताए ।
अटोमा सवार बालक बेपत्ता छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।