स्थायी घर मकवानपुर भए पनि रसुवा र नुवाकोटमा पुगेका उनीहरूको विवरण आधिकारिकता यकिनका लागि सरकारी निकायमा पठाइँदैछ।
हेटौंडा — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका मकवानपुरका ५० जनाको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय गरिएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति मकवानपुरको मंगलबार बसेको बैठकले स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत गरी ५० जनाको नामावलीसहितको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकाका १४, थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका ५, बकैया गाउँपालिकाका ३, मकवानपुरगढीका ३, भीमफेदी गाउँपालिकाका २, कैलाश गाउँपालिकाका २ र इन्द्रसरोवर गाउँपालिकाका १ जना गरी भोटेकोशीको बाढी र पहिरोमा बेपत्ता भएका ५० जनाको नाम सूचीकृत गरेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको हो । ५० जना बेपत्तामध्ये चार जना महिला छन् ।
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिकता यकिन गर्न सरकारले तयार पारेको ‘रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिकता विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ अनुसार विवरण संकलन गरिएको थियो ।
मकवानपुरमा स्थायी बासिन्दा भए पनि विभिन्न कामको सिलसिलामा रसुवा र नुवाकोट जिल्लामा पुगेका बेला बाढी र पहिरोमा परी बेपत्ता भएकाहरूको विवरण सम्बन्धित स्थानीय तहबाट स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित प्राप्त भएको बैठकमा जानकारी गराउँदै त्यसैका आधारमा बेपत्ताहरूको विवरण सूचीकृत गरिएको थियो ।
प्रजिअ अधिकारीका अनुसार बैठकले ती विवरणलाई एकीकृत गरी आधिकारिकता यकिनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको थियो । भोटेकोशी बाढीमा फसेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो ।
रसुवा र नुवाकोटका विभिन्न क्षेत्रबाट उनीहरूको उद्धार गरिएको थियो । रसुवा बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ । आफन्तले शव बुझेर दाहसंस्कार पनि गरिसकेका छन् । हालसम्म सनाखत भएका मृतकमा हेटौंडा–१५ का सुमन गोले, हेटौंडा–५ का उद्धव खड्का, हेटौंडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना रहेका छन् ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।