सीमा सुरक्षा गुल्म र भन्सार सुरक्षा गार्डको टोलीलाई देखेपछि युवक भागेका थिए; बरामद गोलीबारे प्रहरीले अनुसन्धान थालेको छ।
काठमाडौँ — रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले मंगलबार ९ एमएमका २७ थान गोली बरामद गरेका छन् ।
सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्डबाट खटिएको टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा गोली फेला पारेको हो ।
सीमामा गस्ती गरिरहेका सुरक्षाकर्मीलाई देख्नासाथ एक युवक झोला फ्याँकेर भागेका थिए । उक्त सेतो प्लास्टिकको झोलाभित्र ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।
बरामद गरिएका गोली कसले र कुन प्रयोजनका लागि ल्याएको भन्ने खुलेको छैन । डीएसपी शाहीले घटनाबारे अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताए ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।