Trending
Prev Story
Next Story

बाढीले बिगारेको रानीमहल परिसर अझै बेहाल, दरबार नै जोखिममा

Ekantipur •
November 17, 2026 • 06:02 AM
2
2 reads 0 reactions

बाढीले पर्यटकीय पूर्वाधारमा क्षति पुर्‍याएपछि रानीमहलमा पर्यटकको आगमन घटेको छ । नदी कटानको जोखिम बढे पनि परिसरको पुनःस्थापना र दरबार संरक्षणको काम सुस्त देखिन्छ ।

बाढीले बिगारेको रानीमहल परिसर अझै बेहाल, दरबार नै जोखिममा

बाढीले पर्यटकीय पूर्वाधारमा क्षति पुर्‍याएपछि रानीमहलमा पर्यटकको आगमन घटेको छ । नदी कटानको जोखिम बढे पनि परिसरको पुनःस्थापना र दरबार संरक्षणको काम सुस्त देखिन्छ ।

पाल्पा — गत असोज ११ को बाढीले क्षति पुर्‍याएको पाल्पाको ऐतिहासिक रानीमहल परिसर अझै अस्तव्यस्त छ । बाढीले पुरेको पार्क, सडक र पार्किङस्थलको सरसफाइ तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापन दुई महिनासम्म हुन नसकेको हो । परिसरमा जताततै बालुवा, गिट्टी र ढुंगा थुप्रिएका छन् । नदी कटान र पहिरोको जोखिम उस्तै छ ।

बाढीपछि पर्यटकको चहलपहलसमेत केही घट्दा स्थानीय व्यवसायीसमेत चिन्तित छन् । रानीमहलका स्थानीय व्यवसायीका अनुसार गत वर्ष दसैं तथा तिहारमा दैनिक ३ हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गर्थे । यस वर्ष बढीमा १ हजार ६ सयको संख्यामा आएका छन् । रानीमहलको सुन्दरता हेर्न आउने पर्यटकबाट जीविकोपार्जन गर्दै आएका स्थानीय व्यवसायी अहिले आफ्नै व्यवसाय पुनः सञ्चालन गर्ने चिन्तामा परेका छन् ।

बाढीले सडक, पार्किङस्थल र व्यवसाय सञ्चालन गर्ने संरचनामा क्षति पुर्‍याएको स्थानीय होटल व्यवसायी अर्जुन पाण्डेयले बताए । रानीमहल आसपासका एक दर्जनभन्दा बढी होटल तथा अन्य व्यवसाय प्रभावित भएको उनले बताए । बाढीको डुबानपछि केही होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन् । तर कतिपय अझै मर्मत र सरसफाइमै व्यस्त छन् ।

रानीमहल परिसरमा बाढीले ठूलै क्षति पुगेको अनुभव आफूले पाएको पोखराबाट घुम्न आएका पर्यटक श्रीकृष्ण पौडेलको भनाइ छ । ‘बाढीले धेरै ठूलो क्षति पुगेको रहेछ,’ उनले भने, ‘तर भित्र जाने पैसा उठाउने नगरपालिकाले परिसर क्षेत्रको सरसफाइ लगायतका काम नगरेको देख्दा अचम्म लाग्यो ।’

बाढीपछि रानीमहल क्षेत्रको अवस्था अस्तव्यस्त हुँदा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ । कर उठाउन सक्रिय हुने निकायले विपत्तिपछि सरसफाइ र पुनःस्थापनामा ध्यान दिएका छैनन् । रानीमहल परिसरका व्यवसायी विमल पाण्डेयले अस्तव्यस्त बनेको महिनौं हुँदा पनि कसैलाई चासो नभएको बताए । ‘कमसेकम बालुवा, गिट्टी, ढुंगा व्यवस्थित गर्ने हो भने पनि राम्रो देखिन्थ्यो,’ उनले भने, ‘अहिले यहाँ आउने पर्यटकलाई धेरै समस्या छ ।’ नदीको दुवैतर्फ भइरहेको कटानले रानीमहलसमेत जोखिममा परेको उनले बताए । ‘पाल्पाको गौरवका रूपमा रहेको रानीमहलको संरक्षणमा कुनै पनि निकाय गम्भीर देखिएका छैनन् । परिसरमा जताततै बालुवा र फोहोर छ,’ उनले भने ।

रानीमहल क्षेत्रबाट तानसेन नगरपालिकाले वार्षिक ६० देखि ७० लाख रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ । स्थानीय व्यवसायीले राजस्व उठाउने निकायले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा पनि जिम्मेवारी लिनुपर्ने बताएका छन् । रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचना हटाइसकेको जनाएको छ । ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वको रानीमहल पुरातत्त्व विभागले स्थानीय सरकारलाई २०७५ साउनमा १० वर्षका लागि हस्तान्तरण गरेको थियो ।

पुरातत्त्व विभागले ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वको रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो । महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने समझदारीपत्रमा छ । १० वर्षे समझदारीपत्रमा महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था गरिएको छ ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले दरबार परिसरमा क्षतिग्रस्त संरचना हटाउने काम भइरहेको बताए । उनका अनुसार अस्तव्यस्त देखिएका केही संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रभित्र पर्छन् । ‘रंगरोगनका लागि दैनिक ज्यालादारीमा मान्छे खटाइएको छ,’ उनले भने, ‘परिसरको बालुवा, गिट्टी व्यवस्थापनमा अब काम हुनेछ ।’

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रानीमहल भएर आफ्नो क्षेत्रमा सवारीसाधन सञ्चालनका लागि खोला तथा नदी किनारबाटै ट्र्याक खोलेको छ । बाढीपछि निरन्तर वर्षा हुनु र त्यसलगत्तै दसैं बिदा परेकाले थप व्यवस्थापन गर्न नसकिएको तानसेन नगरपालिकाको भनाइ छ । बाढीले पुरिएका सामग्री हटाउने र बगर सम्याउने काम गरिने प्रवक्ता कार्कीले बताए । बाढीले परिसरमा क्षति पुर्‍याउनुका साथै रानीमहलको जगतर्फ नदी कटानको जोखिम पनि बढाएको छ ।

‘पश्चिमोत्तर भागमा केही भाग भासिएको जस्तो देखियो,’ रानीमहल घुम्न आएका रुपन्देहीका अनिल यादवले भने, ‘यो खतरा भएकाले सम्बन्धितले समयमै ध्यान दिनुपर्छ ।’ रानीमहलमा यसअघि सशस्त्र प्रहरी बलका गोताखोरले गरेको परीक्षणमा दरबारको जग रहेको चट्टान ३ देखि ७ फिटसम्म कटान भएको पाइएको थियो । परीक्षणका क्रममा कटान भएको भेटिए पनि तत्काल दरबार भत्किने जोखिम नरहेको बताएका थिए । तर नदीको धार दरबारको जगतर्फ नै बगिरहेकाले दीर्घकालीन संरक्षण आवश्यक रहेको उनीहरूको सुझाव थियो ।

तानसेन बजारदेखि करिब १४ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारमा रहेको रानीमहल जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हो । यो दरबार तत्कालीन राणा कमान्डर जनरल खड्गशमशेरले पत्नी तेजकुमारीको सम्झनामा विसं १९५० देखि १९५४ सालसम्म चार वर्ष लगाएर निर्माण गराएका थिए । ऐतिहासिक सम्पदाको संरक्षणसँगै बाढीले क्षति पुर्‍याएका पार्क, सडक, पार्किङस्थल र व्यावसायिक संरचनाको पुनःस्थापना गर्न स्थानीयले माग गरेका छन् ।

रानीमहलमा घोडा बाँध्ने तबेला, सैनिकहरूले पहरा दिने स्थान, सैनिक तैनाथी स्थल आदि भग्नावशेषहरू पुरातत्त्व विभागले मर्मत गर्दै छ । खड्गशमशेर नुहाउन जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटो पर्यटकका लागि हेर्नलायक सम्पदा हुन् । रानीमहलको पूर्वतर्फको भागमा खड्गशमशेरले पूजा गर्ने कोठाको नमुना छ ।

तीनतले दरबारमा माथिल्लो तला बैठक कोठा, बीचमा खड्गशमशेरका कोठीहरूले राणाकालीन कला–संस्कृति झल्काउँछन् । दरबारको बायाँ भागमा शीतलपाटी र दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुंगाले निर्मित दुईवटा पोखरी छन् । तेस्रो तहमा दायाँतर्फ पाले पहरा बस्ने गृह बनेको छ । खुड्किलोको बायाँतर्फ एकै किसिमका शिवजी र गंगाका दुईवटा मन्दिर छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
49m ago
बाढीले बिगारेको रानीमहल परिसर अझै बेहाल, दरबार नै जोखिममा

बाढीले बिगारेको रानीमहल परिसर अझै बेहाल, दरबार नै जोखिममा

बाढीले बिगारेको रानीमहल परिसर अझै बेहाल, दरबार नै जोखिममा बाढीले पर्यटकीय पूर्वाधारमा क्षति पुर्‍याएपछि रानीमहलमा पर्यटकको आगमन घटेको छ । नदी कटानको जोखिम बढे पनि परिसरको पुनःस्थापना र दरबार संरक्...

#बाढी #रानीमहल #परिसर
Compare →
Bizshala
1h ago
सर्वसाधारणलाई जोखिममा पारेको आरोपमा ओपनएआईविरुद्ध मुद्दा दायर

सर्वसाधारणलाई जोखिममा पारेको आरोपमा ओपनएआईविरुद्ध मुद्दा दायर

काठमाडौं । पर्याप्त सुरक्षा व्यवस्था नगरी कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल विकास गरेको र सर्वसाधारणलाई जोखिममा पारेको...

#जोखिम
Compare →
Onlinekhabar
2d ago
गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह

गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह

२९ कात्तिक, काठमाडौं । युरोपेली संघ (ईयू) ले गाजामा हालै परेको भारी वर्षा र आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ । ईयूले शनिबार इजरायललाई राहत तथा मानवीय सहायता संस्थाहरूलाई कुनै …

#बाढी
Compare →
Nagarik News
2d ago
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।

#बाढी
Compare →

Related Stories

Science & Climate
Build #2612