२९ कात्तिक, काठमाडौं । युरोपेली संघ (ईयू) ले गाजामा हालै परेको भारी वर्षा र आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ ।
ईयूले शनिबार इजरायललाई राहत तथा मानवीय सहायता संस्थाहरूलाई कुनै अवरोधबिना गाजामा प्रवेश गर्न दिन आग्रह गरेको हो ।
साथै, राहत सामग्री र अस्थायी आवास मर्मतका लागि आवश्यक सामग्रीसमेत गाजामा पुर्याउन अनुमति दिनुपर्ने बताएको छ। ईयूले गाजाका सबै सीमा नाका पुनः खोल्न पनि माग गरेको छ ।
रिपोर्टहरूका अनुसार भारी वर्षा र बाढीका कारण गाजामा करिब ७० हजार टेन्ट डुबानमा परेका छन् । ती टेन्टमा करिब २० लाख जनसंख्याको ठूलो हिस्सा आश्रित रहेको बताइएको छ ।
बाढीका कारण प्रभावित नागरिकलाई स्वच्छ खानेपानी, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भएको छ । यसले पहिले नै कठिन अवस्थामा रहेका विस्थापित नागरिकको समस्या थप बढाएको छ ।