Trending
Prev Story
Next Story

चाड सकिएपछि काम खोज्दै भारत जानेको लर्को

Ekantipur •
November 18, 2026 • 06:32 AM
4
4 reads 0 reactions

कैलालीको त्रिनगर–गौरीफण्टा नाकाबाट पारिवारिक जिम्मेवारी पूरा गर्न र जीविकोपार्जनका लागि धेरै नेपाली भारततर्फ गइरहेका छन्।

चाड सकिएपछि काम खोज्दै भारत जानेको लर्को

कैलालीको त्रिनगर–गौरीफण्टा नाकाबाट पारिवारिक जिम्मेवारी पूरा गर्न र जीविकोपार्जनका लागि धेरै नेपाली भारततर्फ गइरहेका छन्।

कञ्चनपुर — सोमबार अपराह्न करिब ४ बजेको थियो । कैलालीको त्रिनगर–गौरीफण्टा नाकामा लागेको लामो लाइनमा कोही झोला बोकेर हतारिँदै थिए, कोही आफन्तसँग बिदा माग्दै थिए । कसैको अनुहारमा घर छोड्नुपर्दाको पीडा थियो त कसैको मनमा फेरि कहिले फर्किने भन्ने अनिश्चितता । कञ्चनपुरको महेन्द्रनगरस्थित ऐरी चौराहा घर भएकी अनिता धामी पनि त्यही भीडको हिस्सा थिइन् । उनी हतारमा थिइन् । केही दिनअघि मात्रै घर आएकी उनी फेरि भारत फर्किंदै थिइन् ।

अनितालाई आफ्नो देश छोडेर जान रहर छैन । तर, घरपरिवारको जिम्मेवारी र स्वदेशमा रोजगारीको अभावले उनलाई पटक–पटक भारत पुर्‍याइरहेको छ । भारतमा उनका दाइ–भाउजू छन् । उनी आफैं पनि करिब आठ वर्षदेखि भारतमा बस्दै आएकी छन् । ‘अब नानीबाबु हेर्नुपर्‍यो, घरपरिवारको जिम्मेवारी पनि छ । नेपालमा रोजगारी त्यति केही छैन । त्यसकारण पनि भारत जानैपर्‍यो,’ उनले भनिन्, ‘नेपालमै रोजगारी भएको भए आफ्ना नानीबाबु छोडेर अर्काको देशमा जान कसलाई रहर हुन्छ र ?’

देशमा सरकार फेरिए पनि आफ्नो जीवनमा परिवर्तन नआएको उनको गुनासो छ । ‘सरकार बदलिएर के भयो र ? नेपाली दाजुभाइ, दिदीबहिनी धेरैले अझै अर्काको देश जानुपर्ने अवस्था छ । त्यत्रो आन्दोलनपछिको सरकारले पनि खासै केही गरेको देखिँदैन । आफ्नै देशमा अलिकति राम्रो वातावरण बनाइदिएको भए हामी किन जानुपर्थ्यो र ?’ उनले भनिन् ।

त्रिनगर–गौरीफण्टा नाकाबाट भारत पसिरहेका धेरै नेपालीका कथामा यस्तै बाध्यता भेटिन्छ । कोही घरखर्च चलाउन, कोही छोराछोरीको भविष्य बनाउन त कोही परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न भारततिर गइरहेका थिए ।

बझाङको तल्कोट गाउँपालिका–२ का विशालबहादुर विक १४ वर्षदेखि भारतको बैंग्लोरमा काम गर्दै आएका छन्। दसैं, तिहार र छठपर्व मनाउन घर आएका उनी पनि फेरि कर्मथलो फर्किंदै थिए । उनले भने, ‘अझै हामी कति दिन विदेशमा हुने ? बाध्यताले बाहिर गएका नेपालीहरू फर्किएर आफ्नै ठाउँमा केही गर्न सक्ने वातावरण बन्नुपर्छ ।’

विशालबहादुर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी नेपाली सम्पर्क मञ्च, भारतको कर्नाटक राज्य समितिका महामन्त्रीसमेत हुन् । रास्वपाको बहुमतको सरकार बनेपछि आफूहरू आशावादी भए पनि सरकारले जनतालाई परिणाममुखी सेवा दिन सके मात्र विश्वास जित्न सक्ने उनी बताउँछन् । ‘पुराना सरकारले के गरे, के गरेनन् भन्नेभन्दा पनि अहिलेको सरकारले जति सक्दो चाँडो रिजल्ट दिनुपर्छ । आफ्नै देशमा रोजगारीको वातावरण बनोस् भन्ने चाहन्छौं,’ उनले भने ।

विदेशमा रहेका नेपालीले भोग्नुपरेका दुःख र समस्याबारे उनी जानकार छन् । विदेशमा काम गर्दागर्दै मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउनसमेत कठिन हुने र कतिपयले परिवारसँग अन्तिम भेट गर्न नपाउने अवस्थाले आफूलाई दुःखी बनाउने उनी बताउँछन् । ‘विदेशमा नेपालीले धेरै दुःख भोगिरहेका छन् । कतिपयका शवसमेत समयमै आउन सकेका छैनन् । कतिपयले आमाबुवाको मुख हेर्नसमेत पाएका छैनन् । यो पीडालाई सरकारले बुझ्नुपर्छ,’ उनले भने । विदेशमा रहेका नेपालीलाई आफ्नै ठाउँ फर्किएर काम गर्न सक्ने वातावरण बनाउन अहिलेको सरकार र पुराना राजनीतिक दलका नेताहरू सबैले मिलेर काम गर्नुपर्ने उनको अपेक्षा छ ।

बझाङकै खप्तडछान्ना गाउँपालिका–७ का हेमराज रोकाया पनि सोमबार भारतको बैंग्लोर गइरहेका थिए । उनको भनाइमा नेपाली युवालाई विदेश जान बाध्य बनाउने प्रमुख कारण स्वदेशमा उत्पादन र रोजगारीको भरपर्दो आधार नहुनु हो ।

नेपालमै कृषि र खेतीपाती गरेर जीवन चलाउने वातावरण बने आफूहरू विदेश जानुपर्ने थिएन भन्ने उनको धारणा छ। ‘आफ्नै ठाउँमा खेतीकिसानी गरेर परिवार पाल्न सक्ने अवस्था हुनुपर्छ । तर, किसानले खेती गरे पनि त्यसबाट आम्दानीको भरपर्दो आधार नभएपछि विदेश जानुपरेको हो,’ उनले भने । कृषिलाई व्यवसायका रूपमा विकास गर्न नसक्दा गाउँमा सम्भावना भएर पनि युवाहरू बाहिरिनुपरेको उनको बुझाइ छ । सरकारले किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने र बजारको सुनिश्चितता गर्नेतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् ।

कैलालीको घैलाबौनियाका प्रवीण मौनी छोरीलाई आमाबुवाको जिम्मा छाडेर श्रीमतीसहित बैंग्लोर जाँदै थिए । घरमै बसेर काम गर्ने आर्थिक अवस्था नभएको र सबै परिवार लैजान उताको आम्दानीले नभ्याउने हुँदा मन खिन्न बनाएर जानुपरेको उनले बताए । हरेक वर्ष दसैंतिहारमा घर आउने उनीहरू चाड मनाएर फर्किने गर्छन् । ‘अर्काको देशमा गएर काम गर्दा दुःख त भइहाल्छ । घरको जिम्मेवारी पूरा गर्नैपर्‍यो । नेपालमै रोजगारी भइदिए आफ्नै ठाउँमा काम गरेर खान पाउँथ्यौं,’ उनले भने । सीमा नाकामै भारत जाने लाइनमा भेटिएका उनले स्वदेशमै केही गर्न सकिने वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

भारतमा लामो समय बिताएर केही दिनअघि बैतडी पुगेका विष्णु भट्टको अनुभव पनि फरक छैन । बैतडीको दशरथचन्द नगरपालिका–१ का उनी अहिले फेरि भारत हिँडिसकेका छन् । उनका अनुसार नेपालबाट भारत जानु धेरै नेपालीका लागि बाध्यता हो । भारतमा उपलब्ध रोजगारी र कतिपय सेवा–सुविधाका कारण पनि नेपालीहरू उतै निर्भर हुनुपरेको उनको बुझाइ छ । ‘आफ्नो परिवार छोडेर अर्काको देशमा जान कसैलाई रहर हुँदैन होला । भारतसँग हाम्रो दैनिक जीवनका धेरै आवश्यकता जोडिएका छन् । नुनदेखि सुनसम्म, खाद्यान्नदेखि डिजेल पेट्रोलसम्म भारतसँग निर्भर रहनुपर्ने अवस्था छ,’ उनले भने, ‘यता सानोतिनो काम गरौं भन्दा महँगीले खर्च नै धान्दैन।’

स्वदेशमा रोजगारीको अभाव र पारिवारिक जिम्मेवारीले कामको खोजीमा विदेशिइरहेकाहरु नेपालमा राजनीतिक परिवर्तनका लागि पटक–पटक आन्दोलन भए पनि सरकार र नेतृत्व फेरिनेबाहेक जनताले सुविधा नपाएको गुनसो गरिरहेका देखिन्छन् । नेपाल–भारत सीमा नाकाबाट दैनिक हजारौंको संख्यामा भारत पस्ने नेपालीको लर्कोले यही  नेपालीका मनमा भारत जानुपर्ने बाध्यता कहिले फेरिन्छ भन्ने प्रश्न हुने गरेको भट्ट बताउँछन् ।

सीमा नाकामा भारत जाने नेपालीको चाप चाडपर्व सकिएलगत्तै बढ्ने गरेको छ । तर, रोजगारीका लागि भारत जाने नेपालीको यकिन तथ्याङ्क भने सरकारी निकायसँग छैन । सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार सीमा नाकाबाट आवतजावत गर्ने सबै व्यक्तिको अभिलेख राख्ने व्यवस्था छैन । सीमा नाकामा आवतजावत गर्ने व्यक्तिको अभिलेख भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले राख्ने गरे पनि त्यसबाट रोजगारीका लागि भारत जाने र सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जाने व्यक्तिलाई छुट्याउन नसकिने उनले बताए । किनमेल, पारिवारिक भेटघाट र रोजगारीका लागि भारत जाने सबैको आवागमन एउटै अभिलेखमा समेटिने भएकाले रोजगारीका लागि मात्रै भारत जाने नेपालीको वास्तविक संख्या यकिन गर्न कठिन हुने उनले बताए ।

यद्यपि, सीमा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिका अनुसार त्रिनगर-गौरीफण्टा नाकाबाट दैनिक दुई हजारदेखि तीन हजार जनासम्म रोजगारीका लागि भारत जाने गरेका छन् । त्यस्तै, कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट दैनिक एक हजार पाँच सयदेखि दुई हजार जनासम्म भारत जाने गरेको उनीहरूको अनुमान छ । सामान्य अवस्थाको तुलनामा दसैंतिहारजस्ता चाडपर्व सकिएलगत्तै भारत फर्किने तथा रोजगारीका लागि जानेको संख्या तीनदेखि चार गुणासम्म बढ्ने गरेको उनीहरू बताउँछन् ।

यी दुई प्रमुख नाकाबाहेक कञ्चनपुर र कैलालीका भारतसँग जोडिएका अन्य सीमा क्षेत्र तथा पहाडी जिल्ला बैतडी र दार्चुलाका विभिन्न नाकाबाट पनि दैनिक सयौँ नेपाली भारत जाने गरेका छन् । सीमा क्षेत्रमा लामो समयदेखि देखिँदै आएको यो आवागमनमा विगतका वर्षको तुलनामा खासै परिवर्तन नदेखिएको संघसंस्थाका प्रतिनिधिहरूको भनाइ छ ।

तीन तहका सरकारका नीति तथा कार्यक्रमले वास्तविक रूपमा रोजगारी सिर्जना गर्न नसक्दा युवाहरु बाहिरिनु परेको भारतमै रोजगारी गरिरहेको भट्टले बताए । 'प्रदेश सरकारले रोजगारी र उत्पादन बढाउने लक्ष्य राख्दा पहाडी जिल्लाका बस्ती किन रित्तिँदै छन् ? संघीय सरकारले आर्थिक समृद्धिको कुरा गरिरहँदा सीमा नाकामा भारत जानेहरूको लर्को किन घटिरहेको छैन ? यी प्रश्नको जवाफ अब सरकारका नीति तथा कार्यक्रमले व्यवहारमै दिनुपर्ने देखिन्छ,' उनले भने ।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
प्रधानमन्त्री बालेन नोभेम्बर २२ देखि भारतको दुईदिने राजकीय भ्रमणमा जाने

प्रधानमन्त्री बालेन नोभेम्बर २२ देखि भारतको दुईदिने राजकीय भ्रमणमा जाने

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी नोभेम्बर २२ र २३ (मंसिर ६ र ७) गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा नेपाल ...

#भारत #जाने
Compare →

Related Stories

World News
Build #2612