सातै प्रदेशका टोली सहभागी हुने प्रतियोगिताका खेल कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा सञ्चालन हुनेछन्।
कञ्चनपुर — यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही मंसिर ७ देखि २१ सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल मैदान र कैलालीको धनगढीस्थित फाप्ला मैदानमा संयुक्त रूपमा आयोजना हुने भएको हो ।
प्रतियोगिताको तयारी तीव्र पारिएको कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । उनका अनुसार प्रतियोगिता सञ्चालन हुने महेन्द्रनगरको कभर्डहल मैदान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । 'मैदानको पिच र आउटफिल्ड सम्याउने काम लगभग सकिएको छ भने मैदान परिसरको सरसफाइसमेत भइरहेको छ,' चन्दले भने, 'प्रतियोगितामा सातै प्रदेशका टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन धनगढीस्थित फाप्ला मैदानमा र फाइनल खेल महेन्द्रनगरस्थित कवर्डहल मैदानमा गर्ने तयारी छ । प्रतियोगिताका अन्य खेल दुवै मैदानमा सञ्चालन हुनेछन् ।'
प्रतियोगिता सुरु हुनुअघि बाँकी कामसमेत सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए । प्रतियोगितामा सहभागी सातै प्रदेशका खेलाडी तथा अफिसियलको बसोबासका लागि होटेलको व्यवस्था गरिएको छ । खेलाडीहरूको खानपान व्यवस्थापनअन्तर्गत होटेलमै बसोबासको व्यवस्था गरिएको र दिउँसो खेलको बीचमा खाना भने खेलमैदानमै उपलब्ध गराइने अध्यक्ष चन्दले जानकारी दिए ।
प्रतियोगिता सफल बनाउन अध्यक्ष चन्दले सुदूरपश्चिमवासीसँग सहयोग र समर्थनको अपिल गरेका छन् ।
हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।