पृथ्वीबाट प्रकाशलाई एक दिन लाग्ने दूरी पार गर्दै, १६ अर्ब माइलभन्दा टाढा पुगेको नासाको यानसँग सम्पर्क गर्न सन्देश पठाएको दुई दिनपछि मात्रै जवाफ आउँछ।
काठमाडौँ — सन् १९७७ मा पृथ्वीबाट अन्तरिक्ष यात्रामा निस्किएको अमेरिकी अन्तरिक्ष निकाय नासा (नासाको) भ्वाएजर–१ यानले अर्को ऐतिहासिक कीर्तिमान बनाउँदैछ। करिब ४९ वर्षदेखि अन्तरिक्षको अनन्त यात्रामा रहेको यो यान नोभेम्बर १८ अर्थात आजकै दिन पृथ्वीबाट प्रकाशलाई पुग्न एक दिन लाग्ने दूरीमा पुग्नेछ।
नासाको विज्ञान मिसन निर्देशनालयकी प्रमुख निकी फक्सले गत अक्टोबरमा नासाको जेट प्रोपल्सन ल्याबोरेटरी प्रवेश गर्दै गर्दा एउटा चिन्ताजनक सन्देश पाइन्– ‘आज बिहान भ्वाएजर–१ बाट कुनै तथ्यांक प्राप्त भएन।’
फक्स यो अन्तरिक्ष यानलाई आफ्नो साथीका रूपमा लिन्छिन्। उनका अनुसार भ्वाएजर–१ ले हरेक दिन पृथ्वीमा एउटा पोस्टकार्ड पठाएजस्तै तथ्यांक पठाउँछ। शून्य र एक (० र १) का रूपमा आउने ती तथ्यांकलाई वैज्ञानिकहरूले अन्तरग्रहीय अनुसन्धानका महत्त्वपूर्ण सूचनामा रूपान्तरण गर्छन्।
अक्टोबरमा यानबाट तथ्यांक आउन बन्द भएपछि फक्सलाई यसको यात्रा निर्धारित कीर्तिमानसम्म पुग्न सक्ला कि नसक्ला भन्ने चिन्ता लागेको थियो। तर भ्वाएजर टोलीका सदस्यले उनलाई आश्वस्त पार्दै भने, ‘चिन्ता नगर्नुहोस्, हामी यसलाई फेरि ठीक पार्छौं।’ वैज्ञानिकहरूले कुनै आदेश पठाउनुअघि नै यानले आफैं समस्या समाधान गर्यो।
यसपटक यान करिब ४८ घण्टा सम्पर्कविहीन भएको थियो। सन् १९७७ सेप्टेम्बर ५ मा प्रक्षेपण भएयता यसले अनेक प्राविधिक चुनौती पार गरिसकेको छ। अहिले यसको ऊर्जा बचत गर्न १० मध्ये दुईवटा उपकरण मात्रै सञ्चालनमा छन्। यही उपायले यानलाई थप समयसम्म काम गर्ने अवस्थामा राखेको छ।
नोभेम्बर १८ मा अमेरिकी पूर्वी समयअनुसार बिहान ५ बजेर १६ मिनेट (नेपाल समयअनुसार दिउँसो ३ बजेर १ मिनेट) मा भ्वाएजर–१ पृथ्वीबाट एक प्रकाश-दिनको दूरीमा पुग्नेछ। प्रकाशले २४ घण्टामा पार गर्ने दूरीलाई एक प्रकाश-दिन भनिन्छ।
भ्वाएजर–१ अहिले पृथ्वीबाट १६ अर्ब माइलभन्दा बढी टाढा छ। एक प्रकाश-दिनको दूरी भनेको करिब १ करोड ६० लाख ९४ हजार ७ सय ९९ माइल अर्थात् २५ अर्ब ९० करोड २० लाख ६८ हजार ३ सय ५६ किलोमिटर हो।
तुलनाका लागि पृथ्वीबाट चन्द्रमाको औसत दूरी करिब ३ लाख ८४ हजार ४ सय किलोमिटर छ। यस हिसाबले एक प्रकाश-दिन भनेको पृथ्वी र चन्द्रमाबीचको दूरीलाई करिब ६७ हजार ३ सय ८३ पटक जोडेजत्तिकै हो।
भ्वाएजर–१ को यो उपलब्धि अन्तरिक्ष विज्ञानका लागि मात्रै होइन, पृथ्वीबाट सञ्चार गर्ने प्रविधिका दृष्टिले पनि महत्त्वपूर्ण छ। यानसँग पठाएको सन्देश त्यहाँ पुग्न एक दिन लाग्छ भने त्यसको जवाफ पृथ्वीमा आइपुग्न अर्को एक दिन लाग्छ।
भ्वाएजर–१ र २ को म्याग्नेटोमिटर अनुसन्धानका प्रमुख एडम साबोका अनुसार यानलाई कुनै आदेश पठाएपछि त्यो सफल भयो कि भएन भन्ने थाहा पाउनै दुई दिन कुर्नुपर्छ। आवश्यक परे थप सुधारका लागि फेरि आदेश पठाउनुपर्ने हुन्छ।
यानको दिशा नियन्त्रण गर्ने प्रणालीमा समस्या आएर पृथ्वीतर्फ रहेको रेडियो एन्टेना अर्कैतर्फ फर्कियो भने सञ्चार झन् चुनौतीपूर्ण हुन्छ। निकी फक्सका अनुसार यति टाढा रहेको यानलाई पुनः पृथ्वीतर्फ फर्काउन आदेश पठाएर त्यसको प्रतिक्रिया कुर्नु निकै कठिन काम हो।
४९ वर्षअघि सुरु भएको अन्तरिक्ष यात्रा
भ्वाएजर–१ ले सन् १९७७ सेप्टेम्बर ५ मा बृहस्पति र शनिग्रहको अध्ययन गर्ने उद्देश्यसहित यात्रा सुरु गरेको थियो। पछि यसले सौर्यमण्डलको सीमाभन्दा बाहिरसम्म पुग्ने ऐतिहासिक उपलब्धि हासिल गर्यो।
यसले बृहस्पतिको विशाल रातो धब्बा को आकर्षक तस्बिर खिच्नुका साथै पृथ्वीको चर्चित ‘ पेल ब्लु डट ’ तस्बिर पनि पठाएको थियो। उक्त तस्बिरमा पृथ्वी सूर्यको प्रकाशको एउटा सानो किरणभित्र नीलो थोप्लोजस्तो देखिन्छ।
सन् २०१२ मा भ्वाएजर–१ अन्तरतारकीय अन्तरिक्ष मा प्रवेश गर्ने मानव निर्मित पहिलो वस्तु बनेको थियो। त्यतिबेला यसमा प्रयोग भएको प्रविधिलाई टोलीका एक सदस्यले ठट्टा गर्दै ‘प्रागैतिहासिक प्रविधि’ भनेका थिए।
यसको जुम्ल्याहा यान भ्वाएजर–२ भने भ्वाएजर–१ भन्दा १६ दिनअघि प्रक्षेपण गरिएको थियो। तर फरक मार्ग हुँदै यात्रा गरेको भ्वाएजर–२ सन् २०१८ मा अन्तरतारकीय अन्तरिक्षमा प्रवेश गरेको थियो। यसले एक प्रकाश-दिनको दूरी पार गर्न भने अझै करिब नौ वर्ष लाग्ने अनुमान छ।
भ्वाएजरका प्लाज्मा वेभ उपकरणका सह-अनुसन्धानकर्ता विलियम कुर्थले आफ्नो सम्पूर्ण व्यावसायिक जीवन यी यानबाट प्राप्त तथ्यांकसँग बिताएका छन्। उनले भनेका छन्, ‘म र यी यानमध्ये कसले अर्कोलाई उछिन्छ भन्ने सोच्ने दिन आउला भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ।’
भ्वाएजर–१ का डेटा सिस्टम इन्जिनियर केली पेरीका अनुसार सन् १९७० को दशकमा परियोजनाको नेतृत्व गरेका जोन कासानीले यी यान निर्माण गर्दा ३० वा ४० वर्ष चल्ने गरी नभई बिग्रिन नदिने गरी डिजाइन गरिएको बताएका थिए। कासानीको सन् २०२५ मा ९२ वर्षको उमेरमा निधन भएको थियो।
भ्वाएजर–१ र २ अहिले सूर्यको चुम्बकीय प्लाज्माले बनेको क्षेत्र र त्यसबाहिरको अन्तरतारकीय माध्यमबीचको सीमा अर्थात् हेलियोपजभन्दा बाहिरको क्षेत्रमा यात्रा गरिरहेका छन्।
एक प्रकाश-दिनको दूरी पार गर्नु आफैंमा कुनै नयाँ वैज्ञानिक क्षेत्र प्रवेश गर्नु होइन। तर यसले अन्तरिक्षयान सञ्चालन र पृथ्वीसँग सञ्चार गर्नुपर्ने चुनौतीलाई स्पष्ट पार्छ।
नासाका वैज्ञानिकका अनुसार यी यानले अन्तरतारकीय अन्तरिक्षबारे मानवको बुझाइ विस्तार गरिरहेका छन्। बृहस्पति, शनि, अरुण र वरुण ग्रहका नजिकका तस्बिर उपलब्ध गराउनुका साथै तिनका केही नयाँ चन्द्रमासमेत पत्ता लगाउन भ्वाएजर मिसनले सहयोग गरेको थियो।
प्लाज्मा वेभ उपकरणका सह-अनुसन्धानकर्ता कुर्थका अनुसार यी यानले अध्ययन गरेका ग्रह र चन्द्रमामध्ये कुनै पनि वैज्ञानिकले सोचे जति सरल थिएनन्। प्रत्येक चरणमा तिनले ब्रह्माण्डको प्रकृतिबारे नयाँ आश्चर्य देखाएका छन्।
अन्तरतारकीय अन्तरिक्षमा प्रवेश गरेपछि पनि भ्वाएजरले वैज्ञानिकका लागि नयाँ प्रश्न खडा गरेको छ। नासाका अनुसार सूर्यबाट निस्कने आँधीका कारण पृथ्वीको आकाशमा देखिने ध्रुवीय प्रकाश (अरोरा) सिर्जना गर्ने धक्काका तरंग हेलियोपजभन्दा बाहिर पनि कायम रहेको तथ्य यानले पठाएका तथ्यांकबाट देखिएको छ।
साबोका अनुसार सूर्यबाट उत्पन्न हुने यस्ता प्रभाव यति टाढासम्म कायम रहनु अपेक्षाभन्दा फरक हो। अन्तरतारकीय अन्तरिक्षमा पुग्दा यस्ता प्रभाव हराइसक्नुपर्ने अनुमान थियो। तर सूर्यले निकै टाढाको अन्तरिक्षको वातावरणलाई समेत प्रभावित गरिरहेको छ।
त्यस्तै, अन्तरिक्षमा प्लाज्माको घनत्व दूरी बढ्दै जाँदा बढिरहेको देखिएको छ। सौर्यमण्डलको सीमामा देखिएको चुम्बकीय क्षेत्रको दिशा अन्तरतारकीय क्षेत्रमा प्रवेश गरेपछि पनि तत्काल परिवर्तन भएको छैन। यस्तो किन भइरहेको छ भन्नेबारे वैज्ञानिक अझै स्पष्ट छैनन्।
भ्वाएजर–१ को एक प्रकाश-दिनको दूरी पार गर्ने उपलब्धिलाई उत्सवका रूपमा मनाउन नासाले विश्वभरका मानिसलाई आकाशतर्फ टर्चलाइट बालेर मोर्स कोडमार्फत यानलाई सन्देश पठाउन आह्वान गरेको छ।
यद्यपि, भ्वाएजर–१ ले ती सन्देश प्राप्त गर्न सक्ने छैन। यो अभियानको उद्देश्य यानसँग वास्तविक सञ्चार गर्नु नभई लामो समयदेखि मानव सभ्यताको प्रतिनिधित्व गर्दै अन्तरिक्षमा यात्रा गरिरहेको यानप्रति सम्मान व्यक्त गर्नु हो।
भ्वाएजर परियोजनामा पछिल्लो एक वर्षदेखि ऊर्जा विश्लेषकका रूपमा काम गरिरहेकी भावना गुप्ताका अनुसार आफू जन्मिनुभन्दा दशकौंअघि प्रक्षेपण भएको अन्तरिक्षयानमा काम गर्ने अवसर पाउनु दुर्लभ अनुभव हो।
निकी फक्सका लागि भ्वाएजर–१ केवल एउटा अन्तरिक्षयान होइन, लामो समयदेखिको साथी पनि हो। उनका अनुसार ४९ वर्षको उमेरमा पनि यसले नयाँ कीर्तिमान बनाउँदै र अन्तरिक्षको नयाँ सीमा पार गर्दै मानवजातिको ज्ञानलाई अझ अगाडि बढाइरहेको छ।
‘पेल ब्लु डट’ तस्बिरले पृथ्वी ब्रह्माण्डको विशालतामा कति सानो छ भन्ने देखाएको थियो। केली पेरीका अनुसार ४९ वर्ष लगाएर एक प्रकाश-दिनको दूरी पार गर्न लागेको भ्वाएजर–१ अहिलेको पुस्ताका लागि त्यस्तै अर्को स्मरणीय उपलब्धि हो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा लगायत अन्तरिक्षसम्बन्धी प्रकाशित रिपोर्टहरुको सहयोगमा
गोविन्द देवकोटा कान्तिपुर मिडिया ग्रुपमा आबद्ध छन् । ईकान्तिपुरका डेस्क इडिटर रहेका उनी समसामयिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।