सन् १९७७ मा पृथ्वीबाट प्रक्षेपण गरिएको यो यान करिब पाँच दशकदेखि अन्तरिक्ष यात्रामा छ । ‘गोल्डेन रेकर्ड’मार्फत मानव सभ्यताको सन्देश बोकेर तारामण्डलतर्फ अघि बढिरहेको यसको सन्देश पृथ्वीमा आइपुग्न अब प्रकाशकै गतिमा पनि पूरा एक दिन लाग्नेछ ।
अन्तरिक्ष यात्रा थालेको करिब ४९ वर्षपछि अमेरिकी अन्तरिक्ष निकाय, नासाको अन्तरिक्षयान भोयजर-१ ले पृथ्वीबाट एक प्रकाश-दिनको दूरी पार गर्न लागेको छ । नेपाली समयअनुसार बुधबार दिउँसो ४ बजेर १ मिनेट ७ सेकेन्डमा भोयजरले उक्त उपलब्धि हासिल गर्न लागेको हो ।
त्यसबेला भोयजर-१ पृथ्वीबाट करिब १६ अर्ब ९ करोड ४८ लाख माइल अर्थात २५ अर्ब ९० करोड २० लाख किलोमिटर टाढा हुनेछ । सन् १९७७ सेप्टेम्बर ५ मा प्रक्षेपण गरिएको यो अन्तरिक्षयानले झन्डै पाँच दशकदेखि यात्रा जारी राख्दै एक प्रकाश-दिनको दूरी पार गर्ने पहिलो मानव निर्मित वस्तुको कीर्तिमान बनाउन लागेको हो ।
यो उपलब्धिलाई विशेष बनाउन नासाले विश्वभरका अन्तरिक्षप्रेमीलाई सहभागी गराउने कार्यक्रम घोषणा गरेको छ । ‘साइन ब्राइट फर भोयजर लाइट-डे’ नाम दिइएको अभियानमा मंगलबार साँझ (नोभेम्बर १७) मा विश्वभरका मानिसलाई मोबाइल फोन, टर्च तथा अन्य प्रकाशका स्रोत प्रयोग गरी प्रतीकात्मक रूपमा उज्यालो फैलाउन आग्रह गरिएको छ । नासाले स्मार्टफोन र ट्याब्लेटबाट भोयजरको संकेत चिह्न ‘भीजीआर’ लाई मोर्स कोडमा चम्काउन मिल्ने डिजिटल उपकरण पनि तयार पारेको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित जेट प्रपल्सन ल्याबोरेटरी (जेपीएल) मा नोभेम्बर १९ मा भोयजर अभियानका वैज्ञानिक तथा इन्जिनियरसँग छलफल र प्रश्नोत्तर कार्यक्रम आयोजना हुने नासाले जनाएको छ । प्लानेटरी सोसाइटीले पनि नोभेम्बर १८ मा सार्वजनिक प्रत्यक्ष प्रसारणमार्फत उक्त उपलब्धिलाई सेलेब्रेट गर्ने भनेको छ ।
एक प्रकाश-दिन भनेको प्रकाशले २४ घण्टामा पार गर्ने दूरी हो । प्रकाश प्रतिसेकेन्ड करिब २ लाख ९९ हजार ७ सय ९२ किलोमिटरको गतिमा यात्रा गर्छ । यस हिसाबले एक प्रकाश-दिन करिब २५ अर्ब ९० करोड किलोमिटर हुन्छ । भोयजर-१ भने प्रतिघण्टा करिब ६१ हजार किलोमिटरको गतिमा अघि बढिरहेको छ । प्रकाशले एक दिनमा पार गर्ने दूरी तय गर्न यसलाई झन्डै ५० वर्ष लागेको हो ।
करिब ७ सय २२ किलोग्राम तौल भएको भोयजर-१ अन्तरिक्षयान सुरुमा मूलतः बृहस्पति र शनि ग्रहको अध्ययन गर्ने उद्देश्यले निर्माण गरिएको थियो । सन् १९७९ मार्चमा बृहस्पति र सन् १९८० नोभेम्बरमा शनिको नजिकबाट गुज्रिएपछि यसले आफ्नो यात्रा जारी राख्यो । शनिको चन्द्रमा ‘टाइटन’को नजिकबाट गुज्रिँदा त्यसको गुरुत्वाकर्षणले यसको मार्ग परिवर्तन भयो । त्यसपछि यो ग्रहहरू परिक्रमा गर्ने समतलभन्दा माथिल्लो दिशातर्फ अघि बढ्यो । सन् २०१२ अगस्टमा सूर्यबाट आउने सौर्य वायुको प्रभाव क्षेत्र ‘हेलियोस्फियर’को सीमा ‘हेलियोपज’ पार गर्दै भोयजर-१ ‘इन्टरस्टेलर स्पेस’ मा प्रवेश गरेको थियो । इन्टरस्टेलरमा पुग्ने यो पहिलो अन्तरिक्षयान पनि हो ।
भोयजर-१ मा पृथ्वी र मानव सभ्यताबारे जानकारी दिने एउटा विशेष गोलो चक्का राखिएको छ । त्यसलाई ‘गोल्डेन रेकर्ड’ भनिन्छ । सुनको जलप लगाइएको तामाको यो डिस्कमा पृथ्वीका ११५ वटा तस्बिर, प्राकृतिक ध्वनि, विभिन्न संस्कृतिका संगीत र ५५ वटा भाषामा रेकर्ड गरिएका अभिवादन समावेश छन् । खगोलशास्त्री कार्ल सागनको नेतृत्वमा तयार पारिएको यो सामग्री अन्य ग्रहमा कसैले फेला पारे मानव सभ्यताको परिचयका रूपमा ग्रहण गर्ने हेतुले पठाइएको हो । डिस्कको बाहिरी भागमा यसलाई कसरी बजाउने र पृथ्वीको अवस्थिति कसरी पत्ता लगाउने भन्ने सांकेतिक निर्देशन पनि राखिएको छ ।
भोयजर-१ मा रहेको ‘गोल्डेन रेकर्ड’ ।
यो अन्तरिक्षयानमा तीनवटा रेडियोआइसोटोप थर्मोइलेक्ट्रिक जेनेरेटर छन् । तिनले नै यानलाई ऊर्जा उपलब्ध गराउँछन् । समयसँगै ऊर्जा उत्पादन घट्दै गएपछि नासाका इन्जिनियरहरूले विद्युत् बचाउन यानका विभिन्न उपकरण र प्रणाली क्रमशः बन्द गर्दै आएका छन् ।
भोयजर-१ सँगै अन्तरिक्षको बाहिरी क्षेत्रमा यात्रा गरिरहेका अन्य अन्तरिक्षयानमा यसको जुम्ल्याहा भोयजर-२ सँगै पायोनियर-१०, पायोनियर-११ र न्यु होराइजन्स पनि छन् । भोयजर-२ सन् १९७७ अगस्ट २० मा प्रक्षेपण गरिएको थियो । यसले बृहस्पति र शनिको अध्ययनपछि अरुण र वरुण ग्रहको नजिकबाट अवलोकन गरेको थियो । ती दुवै ग्रहको नजिक पुगेर अध्ययन गर्ने एक मात्र अन्तरिक्षयान भोयजर-२ हो । यो सन् २०१८ नोभेम्बरमा इन्टरस्टेलरमा प्रवेश गरेको थियो । नासाका अनुसार भोयजर-२ ले पनि सन् २०३५ नोभेम्बरमा एक प्रकाश-दिनको दूरी पार गर्नेछ ।
सन् १९७७ अप्रिल २७ मा क्यालिफोर्नियास्थित नासाको जेट प्रपल्सन ल्याबोरेटरीको स्पेस सिमुलेटर थर्मल भ्याकुम चेम्बरमा भोएजर यान । तस्बिर : नासा
सन् १९७२ मा प्रक्षेपण गरिएको पायोनियर-१० भने बृहस्पतिको नजिक पुगेर अध्ययन गर्ने पहिलो अन्तरिक्षयान थियो । पायोनियर-११ सन् १९७३ मा प्रक्षेपण गरिएको थियो । यसले बृहस्पति र शनिको अध्ययनपछि तारामण्डलतर्फ आफ्नो यात्रा जारी राखेको छ । पायोनियर-१० भने टौरस तारामण्डलको एल्डेबरान तारातर्फ अघि बढिरहेको छ । सन् २००६ मा प्रक्षेपण गरिएको न्यु होराइजन्सले सन् २०१५ मा प्लुटो र सन् २०१९ मा काइपर बेल्टमा रहेको खगोलीय पिण्ड ‘एरोकोथ’को अध्ययन गरेको थियो । यी अन्तरिक्षयानले सौर्यमण्डलबाट बाहिरिने फरक-फरक मार्ग समातेका छन् ।
यी पाँचमध्ये भोयजर-१, भोयजर-२ र न्यु होराइजन्ससँग नासाले आफ्नो डीप स्पेस नेटवर्कमार्फत सञ्चार कायम राखेको छ । तर, पायोनियर-१० र पायोनियर-११ सँगको सञ्चार भने दशकौंअघि टुटिसकेको छ । पायोनियर-११ बाट अन्तिम संकेत सन् १९९५ सेप्टेम्बरमा प्राप्त भएको थियो भने पायोनियर-१० को अन्तिम कमजोर संकेत सन् २००३ जनवरी २३ मा प्राप्त भएको थियो । दुवै यानले पृथ्वीबाट सम्पर्कविच्छेद भए पनि अन्तरिक्षमा आफ्नो यात्रा जारी राखेका छन् ।
भोयजर-१ एक प्रकाश-दिनको दूरीमा पुग्दा पृथ्वीबाट पठाइएको रेडियो सिग्नल त्यससम्म पुग्न नै २४ घण्टा लाग्नेछ । त्यसपछि यानबाट पठाइएको जवाफ पृथ्वीमा आइपुग्न थप २४ घण्टा लाग्छ। अर्थात्, एउटा सन्देश पठाएर त्यसको जवाफ पाउन करिब दुई दिन कुर्नुपर्नेछ । भोयजर परियोजनाकी व्यवस्थापक सुजेन डोडले भनेकी छन्, ‘भोयजरलाई अभिवादन गर्न सन्देश पठाएपछि जवाफ आउन दुई दिन पर्खनुपर्छ ।’ नासाका अनुसार एक प्रकाश-दिनको दूरी पार गर्दा यानको वातावरण वा यसभित्रका उपकरणमा भने कुनै परिवर्तन आउने छैन । यो उपलब्धि मुख्यतः मानव निर्मित वस्तुले पृथ्वीबाट तय गरेको दूरीको ऐतिहासिक कीर्तिमान हो ।
एक प्रकाश-दिनको दूरी पार गरे पनि भोयजर-१ को वैज्ञानिक यात्रा तत्काल रोकिने छैन । हाल यसमा दुईवटा वैज्ञानिक उपकरण मात्र सञ्चालनमा छन् । म्याग्नेटोमिटरले अन्तरिक्षमा रहेको चुम्बकीय क्षेत्र र प्लाज्मा वेभ उपकरणले प्लाज्मा तरंगको अध्ययन गरिरहेका छन् । यानको ऊर्जा क्रमशः घट्दै जानु यसको सञ्चालनको मुख्य चुनौती हो । नासाको अनुमानअनुसार हालको ऊर्जा र सञ्चार क्षमता कायम रहे सन् २०३६ तिर दुवै भोयजर अन्तरिक्षयान नासाको डीप स्पेस नेटवर्कको सञ्चार पहुँचबाहिर पुग्न सक्छन् ।
तर, वैज्ञानिक उपकरण बन्द भए पनि यी अन्तरिक्षयान अन्तरिक्षमा यात्रा गरिरहनेछन् । भोयजर-१ अबको करिब ४० हजार वर्षपछि उर्सा माइनर तारामण्डलमा रहेको एसी प्लस ७९ ३८८८ नामक ताराबाट करिब १.७ प्रकाश-वर्षको दूरीबाट गुज्रने अनुमान गरिएको छ । मानव निर्मित प्रविधिले पृथ्वीबाट कति टाढासम्म यात्रा गर्न सक्छ भन्ने देखाएको भोयजर-१ को यात्रा त्यसपछि पनि जारी रहनेछ ।