अहिले बजार घट्नुमा मुख्य चार कारण रहेको ब्रोकरहरू बताउँछन् ।
काठमाडौँ — ‘कप विथ ह्याण्डल’ आकृति बनाउने नेप्सेको प्रयास लगभग सकिएजस्तो देखिदा के अब बजार बढ्ने कुनै सम्भावना छैन् त ?
अहिले लगानीकर्ताहरूमा उब्जिएको प्रश्न नै यहीँ हो । तर, बजारले अहिले स्पष्ट दिशा देखाइसकेको भने छैन ।
नेप्सेमा बनाइएको बोलिङगर ब्याण्डले भने बजार अहिलेको तहमा टेवा पाएर बढ्न सक्ने संकेत गरिरहेको छ ।
अहिले सेयर बजार सूचक नेप्सेले कायम गरेको औसत बिन्दुमा टेवा पाइरहेको देखिन्छ । मंगलबार नेप्से ‘बोलिङ्गर ब्यान्ड’ मा औसत रेखासम्म पुगेर फर्किएको छ ।
मंगलबारको यसको औसत रेखा २६२९ विन्दु हो । नेप्से मंगलबार कारोबार अवधिमा २६२८.३५ सम्म पुगेर फर्किएको थियो । बजार बन्द हुँदा भने नेप्से २६३६ विन्दुमा रह्यो । नेप्सेले मंगलबार १२.७९ अंक गुमाएको हो ।
सन् १९८० को दशकमा जोन बोलिङ्गरले ‘बोलिङ्गर ब्यान्ड’ को विकास गरेका हुन् । बजारको चाल माथिल्लो सीमा र तल्लो सीमाभित्र बजार कसरी गइरहेको छ भनेर यसबाट हेर्ने गरिन्छ ।
माथिल्लो सीमानजिक रहँदा बजारमा सेयर खरिद अधिक भइरहेको र तल्लो सीमानजिक रहँदा अधिक बिक्री भइरहेको संकेत यसले दिन्छ । यसले बजारमा कत्तिको उतारचढाव छ भनेर पनि मापन गर्छ ।
केही समयअघिसम्म बजारमा उच्च उतारचढाव देखिएकामा अहिले फेरि त्यस्तै उतारचढाव देखिएको छ ।
‘बोलिङ्गर ब्यान्ड’ का माथिल्ला र तल्ला सीमा नजिकिँदा बजारमा उतारचढाव कम रहेको बुझिन्छ । दुवै सीमा फराकिलो हुँदा भने बजारमा धेरै उतारचढाव रहेको देख्न सकिन्छ ।
यस्तो उतारचढावले अहिले बजार घट्छ र बजार बढ्छ भन्ने दुवै पक्ष बलिया देखिएको संकेत गरिरहेको छ ।
अहिले बजार घट्नुमा मुख्य चार कारण रहेको ब्रोकरहरू बताउँछन् ।
पहिलो कारण मुनाफा सुरक्षित नै रहेको ब्रोकर सन्तोष मैनाली बताउँछन् । मैनाली भन्छन्, ‘बजारमा ठूलो हिस्सा रहेका वाणिज्य बैंकहरूको सेयर मूल्य यसअघि बढेकोले अहिले यसमा नाफा सुरक्षित भइरहेको छ ।’
दोस्रो, पछिल्लो समय लकिङ अवधि सकिएका कम्पनीहरूको सेयर बिक्री बढेकोले पनि बजारमा आपुर्ति बढेको हो । यस अवधिपछी संस्थापक, स्थानीयहरूले सेयर विक्री गर्न पाउँछन् ।
तिहार अघि देखि नै घोराही, स्वेत गंगा जस्ता जलविद्युत कम्पनीहरूको सेयर बिक्री बढेको छ । हाथवे इन्भेष्टमेन्ट जस्ता पहिले नै लकिङ खुलेका अन्य केही कम्पनीहरूको समेत कारोबार बढेको ब्रोकरहरू बताउँछन् ।
तेस्रो कारण, धेरै कम्पनीहरूको उत्साहप्रद वित्तीय विवरण नआउनु पनि हो । बैंकिङ समूह, जलविद्युत समूह र केही उत्पादनमुलक कम्पनीहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो देखिएपनि अन्य क्षेत्रमा अपेक्षा गरिएको जस्तो सुधार नदेखिएकोले पनि प्रभाव परेको ब्रोकरहरूको भनाई छ ।
चौथो, पछिल्लो समय विकसित भइरहेको घटनाक्रम । कतिपय राजनीतिक दलहरूले यसअघि देखि नै छठपछि आन्दोलन गर्ने बताउँदै आएका थिए । यसैबीच सरकार प्रमूखको भारत भ्रमण चलिरहेकोले आगामी दिनमा कस्तो राजनीतिक वातावरण बन्छ भन्ने पखाईमा पनि लगानीकर्ता रहेको ब्रोकरहरूको भनाई छ ।
त्यसैले पनि धेरै लगानीकर्ताहरू 'पर्ख र हेर' कै अवस्थामा छन् । यी घटनाक्रम कसरी विकसित हुन्छ भन्ने आधारमा नै बजारको प्रवृत्ति स्पष्ट हुने बताउँछन् ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।