पोखराको इमेज सहकारीको रकम हिनामिनामा दोषी ठहर गर्दै कास्की अदालतले १७ कात्तिकमा गरेको थियो ८ वर्ष कैद, १ करोड २६ लाख जरिवाना र १८ करोड ९६ लाख बिगो भराउनुपर्ने फैसला।
पोखरा र बागलुङ — पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी ठगी मुद्दामा दोषी ठहरिएका छन् । कास्की जिल्ला अदालतले सहकारीको बचत रकम हिनामिना गरेको कसुरमा नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । उनीसहित ७ जनाबाट १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगोसमेत भराउनुपर्ने फैसला भएको छ ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले गत १७ कात्तिकमा नेपालीसहित सातजनालाई कैद, जरिवाना र बिगो असुलको फैसला गरेको हो । अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । फैसलाको पूर्णपाठ तयार भइसकेको छैन । पूर्णपाठ आएपछि बिगो असुली, सहकारीको सम्पत्ति व्यवस्थापन र बचतकर्ताको रकम फिर्तासम्बन्धी थप प्रक्रिया स्पष्ट हुने अदालतले जनाएको छ ।
पोखराको सिर्जनाचोकस्थित इमेज सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा नेपालीसहित १५ जनाविरुद्ध अभियोग दर्ता भएको थियो । पहिले ५ सय २४ बचतकर्ताको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबीसहित १२ भदौ ०८० मा मुद्दा दायर भएको थियो । त्यसमध्ये विभिन्न चरणमा ४ सय जना साना बचतकर्ताको रकम फिर्ता गरेर मिलापत्र भएपछि बाँकी १ सय १० बचतकर्ताको पूरक जाहेरीका आधारमा मुद्दा अघि बढाइएको थियो ।
हाल उनी बागलुङ कारागारमा पुर्पक्षका लागि दुई वर्षदेखि थुनामा छन् । बागलुङस्थित इमेज सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी १२ असोज ०८१ मा भारतको नयाँदिल्लीबाट पक्राउ परेका थिए । १५ असोजमा जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी कारागारमा छन् । पछि पोखराको मुद्दामा पनि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । उनी जोडिएको पोखराकै सूर्यदर्शन सहकारीको मुद्दा पनि कास्की अदालतमा विचाराधीन छ ।
नेपालीले पोखरा र बागलुङमा सञ्चालन गरेको इमेज सहकारीमार्फत बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ । बागलुङमा मात्रै उनीसहितका व्यक्तिविरुद्ध १ हजार ५ सय ४३ बचतकर्ताले जाहेरी दिएका थिए । त्यहाँ १ अर्ब ३० करोड ७६ लाख ९८ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।
बागलुङको मुद्दामा भने ठूलो परिमाणमा मिलापत्र भइसकेको छ । सरकारी वकिलको कार्यालयका अनुसार हालसम्म करिब १ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको मिलापत्र भएको छ । पछिल्लो समय थप ७ करोड ३४ लाख रुपैयाँ बराबरको मिलापत्र भएको र करिब २५ करोड ३० लाख रुपैयाँ बराबरको दायित्व बाँकी रहेको छ । बाँकी बचतकर्ताको रकम भुक्तानी र नेपालीविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दाका कारण बागलुङको मुद्दा अझै टुंगिएको छैन ।
नेपालीविरुद्ध बागलुङमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमासमेत मुद्दा विचाराधीन छ । सहकारीको रकमबाट व्यक्तिगत सम्पत्ति आर्जन गरेको आरोपमा उनीमाथि १ अर्ब ५८ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ । अनुसन्धानका क्रममा बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका विभिन्न ३३ स्थानमा जग्गा खरिद गरेको भेटिएको थियो । तीमध्ये कतिपय सम्पत्ति रोक्का छन् भने केही घरजग्गा बैंकले ऋण असुलीका लागि लिलाम गरिसकेका छन् ।
बागलुङ सदरमुकामस्थित उनका दुई घर राष्ट्रिय सहकारी बैंकमार्फत २२ करोड रुपैयाँमा लिलाम भइसकेका छन् । बुर्तिवाङलगायतका स्थानमा रहेका अन्य घरजग्गासमेत लिलामी प्रक्रियामा छन् । तर, सम्पत्ति लिलाम र ऋण असुलीको प्रक्रिया अघि बढे पनि बचतकर्ताले आफ्नो रकम कहिले र कति पाउने भन्ने टुंगो लागेको छैन ।
इमेज सहकारीले वैशाख ०८० मा तरलता अभाव देखाउँदै कार्यालय बन्द गरेपछि बचतकर्ताले रकम फिर्ता पाउन छाडेका थिए । त्यसपछि नेपाली सम्पर्कविहीन भएका थिए । सहकारीको कार्यालय बन्द गरेर फरार भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । नेपाल प्रहरीले पक्राउ गर्न नसकेपछि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो ।
सहकारीको रकम व्यक्तिगत स्वार्थ र सम्पत्ति जोड्न प्रयोग गरेको आरोप उनीमाथि छ । उनी हेलिकप्टरमा यात्रा गर्ने, विभिन्न क्षेत्रमा चन्दा दिने र देशका विभिन्न सहरमा घरजग्गा जोड्ने गरेको बचतकर्ताको आरोप छ । सहकारीको रकम फिर्ता नपाएका पीडितले नेपालीको सम्पत्ति बिक्री गरेर भए पनि बचत फिर्ता गर्नुपर्ने माग गर्दै आएका छन् ।
उनी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । सहकारी ठगी प्रकरणमा उनी फरार भएपछि उपप्रमुख धनबहादुर कायतलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिइएको थियो ।
दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।
प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।