नागरिक उड्डयन एकेडेमीका प्रमुख रिन्जी शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ भने महाप्रबन्धक टेकनाथ सिटौला प्रधान कार्यालय तानिएका छन् ।
काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरस्थित नागरिक उड्डयन एकेडेमीका प्रमुख रिन्जी शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको छ।
प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले कात्तिक २० गते गरेको निर्णयअनुसार शेर्पालाई काठमाडौं विमानस्थलमा सरुवा गरिएको हो । उनले मंगलबार सरुवाको पत्र बुझेको र बुधबारदेखि विमानस्थलमा जिम्मेवारी सम्हाल्ने बताए ।
'कात्तिक २० गतेको निर्णयअनुसार काठमाडौं विमानस्थलमा सरुवा भएको छ। भोलिदेखि त्यहाँ जाँदै छु,' शेर्पाले भने । ११ तहका शेर्पाले निमित्त महाप्रबन्धकका रूपमा काठमाडौं विमानस्थलको नेतृत्व गर्ने छन् ।
यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलालाई प्राधिकरणको प्रधान कार्यालयमा सरुवा गरिएको छ। १२ औं तहका सिटौला मंसिर ९ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । उनी अवकाशमा जान अब आठ दिन मात्रै बाँकी छ ।
प्राधिकरणको प्रधान कार्यालयमा सरुवा गरिएका सिटौला यसअघि विमानस्थल प्रमुख थिए । विमानस्थलमा उनको सरुवापछि उड्डयन सेवा निर्देशनालयको उपमहानिर्देशक पद रिक्त छ। उक्त पदमा कार्यरत प्रेमनाथ ठाकुर साताअघि उमेरहदका कारण अवकाशमा गएका थिए ।