हलिउडदेखि एसियाली अनुहारसम्मको चर्चा
काठमाडौँ — विश्वचर्चित जासुसी फिल्म सिरिज ‘जेम्स बन्ड’ ले आफ्नो २६ औं सिरिज लागि नयाँ ‘जेम्स बन्ड’ पाइसकेको छ । अमेजन एमजीएम स्टुडियोजले ४० वर्षीय बेलायती अभिनेता रोबर्ट प्याटिन्सनलाई यस सिरजको सातौं जेम्स बन्ड (डबल ओ सेभेन) का रूपमा आधिकारिक घोषणा गरेसँगै विश्व सिने जगतले नयाँ ‘बन्ड गर्ल’ को खोजी गर्न सुरु गरिसकेको छ ।
डेनिस भिल्नेभको निर्देशन तथा ‘पिकी ब्लाइन्डर’ सिरिजका सर्जक स्टिभन नाइटको लेखन रहने आगामी फिल्ममा प्याटिन्सनको अनुबन्धन पक्का भएसँगै अब सबैको ध्यान एउटा प्रश्नमा केन्द्रित भएको छ– प्याटिन्सनकी ‘बन्ड गर्ल’ को बन्लिन् ?
सन् १९६२ को ‘डक्टर नो’ मा उर्सुला एन्ड्रेसदेखि सन् २०२१ को ‘नो टाइम टु डाइ’ मा लिया सेडुसम्म, बन्ड फिल्महरूमा महिला पात्रहरूको भूमिका सधैं अह्म रहँदै आएको छ । निर्देशक भिल्नेभले ‘अराइभल’, ‘सिकारियो’ र ‘ड्युन’ जस्ता फिल्महरूमा महिला पात्रहरू सशक्त प्रस्तुत गरेकाले आगामी बन्ड फिल्ममा पनि ‘बन्ड गर्ल’ को भूमिका थप प्रभावशाली र आधुनिक हुने अपेक्षा गरिएको छ ।
‘भेराइटी’, ‘भोग’ र ‘भल्चर’ जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सम्भावित ‘बन्ड गर्ल’ का रूपमा हलिउडदेखि एसियाली स्टारहरूसम्मको नाम अघि सारेका छन् ।
चर्चाको शिखरमा जेन्डाया र फ्लोरेन्स प्यु
प्याटिन्सनसँग बीग स्क्रिनमा सबैभन्दा बलियो र जम्न सक्ने केमेस्ट्रीका रूपमा जेन्डायाको नाम अग्रपंक्तिमा राखिएको छ । यसै वर्ष रिलिज भएका ‘द ड्रामा’ र ‘द ओडिसी’ सँगै निर्देशक भिल्नेभकै आगामी फिल्म ‘ड्युनः पार्ट ३’ मा समेत सँगै काम गरेकीले जेन्डाया निर्देशक तथा नायक दुवैकी स्वभाविक रोजाइ बन्न सक्ने ‘भेराइटी’ को विश्लेषण छ ।
त्यस्तै, मार्भलको ‘ब्ल्याक विडो’ मा एक्सन कौशल देखाइसकेकी र ‘ड्युनः पार्ट ३’ मा प्याटिन्सनसँगै रहेकी फ्लोरेन्स प्युलाई पनि बन्डको बराबरीमा उभिन सक्ने ‘लेडी बन्ड’ का रूपमा हेरिएको छ ।
एसियाली प्रतिनिधित्वः हो–योन जुङ र अन्ना सावाई
यदि आगामी बन्ड फिल्मको कथा एसियाली पृष्ठभूमिमा बुनियो भने दक्षिण कोरियाली अभिनेत्री हो–योन जुङले इतिहास रच्न सक्ने बलियो संभावना रहेको ‘द चोसुन डेली’को दाबी छ । नेटफ्लिक्सको ‘स्क्विड गेम’ बाट विश्वव्यापी चर्चा कमाएकी जुङलाई अमेरिकी म्यागजिन ‘भोग’ ले ‘बन्ड गर्ल’ को सम्भावित सूचीमा पाँचौं स्थानमा राखेको छ ।
जुङ बनेको खन्डमा सन् १९९७ मा मलेसियाली अभिनेत्री मिसेल योहपछिकी उनी पहिलो कोरियाली ‘बन्ड गर्ल’ हुनेछिन् । यस्तै, ‘सोगुन’ बाट एमी अवार्ड जितेकी जापानीज अभिनेत्री अन्ना सावाईको नाम पनि उत्तिकै चर्चामा छ ।
‘ट्वाइलाइट’ को स्टार स्टुवार्टसहित अन्य नामहरू पनि चर्चामा
प्याटिन्सनको नाम आउनेबित्तिकै उनकी पूर्व सहकर्मी क्रिस्टिन स्टुवार्टको चर्चा नहुने कुरै भएन । मनोरञ्जन पोर्टल ‘भल्चर’ ले ‘ट्वाइलाइट’ जोडीको पुनर्मिलनले नयाँ पुस्ताका दर्शकलाई हलसम्म तान्न सक्ने भन्दै स्टुवार्टलाई एक फरक र विद्रोही ‘बन्ड गर्ल’ का रूपमा प्रस्तुत गर्न सकिने सुझाव दिएको छ ।
यसबाहेक, भिल्नेभसँग ‘सिकारियो’ मा काम गरिसकेकी अनुभवी अभिनेत्री एमिली ब्लन्ट, अस्कर विजेता लुपिता न्योङ्गो, मारियन कोटिलार्ड, मार्गट रोबी, आन्या टेलर–जोय, सिड्नी स्विनी, आद्रिया अर्जोना र ट्रान्सजेन्डर अभिनेत्री हन्टर सेफरको नाम पनि ‘बन्ड गर्ल’ को संभावित सूचीमा अटाएका छन् ।
जेफ बेजोसको अमेजन एमजीएम र निर्माताद्वय एमी पास्कल तथा डेभिड हेम्यानको सहकार्यमा बन्न लागेको यो फिल्मले ड्यानियल क्रेगपछिको बन्ड युगलाई नयाँ दिशा दिने निश्चित छ । प्याटिन्सनको रहस्यमय र गम्भीर अभिनय शैलीसँग सुहाउने ‘बन्ड गर्ल’ कसलाई छनोट गरिन्छ, त्यसले नै आगामी ‘जेम्स बन्ड’ सिरिजको रोमान्च तय गर्नेछ ।
(यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारमा आधारित भई तयार पारिएको हो ।)