सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षे अवधि पूरा गर्दै आफ्ना इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद प्रतिफल दिन सफल भएको छ। योजना परिपक्व भई खारेजी प्रक्रिया पूरा भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम भुक्तानी गर्नसमेत शुरु गरिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो बन्दमुखी सामूहिक लगानी कोष योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो। ५६ करोड रुपैयाँ कोष आकार रहेको योजनाले २०८३ असार २१ गते आफ्नो सात वर्षे अवधि पूरा गरेको हो।
योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई विभिन्न समयमा नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गरेको कम्पनीले जनाएको छ। शेयर बजारमा विभिन्न समयमा आएको उतारचढाव, बजार मूल्यमा भएको गिरावट र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद पनि निरन्तर प्रतिफल दिन सफल हुनुलाई कम्पनीले आफ्नो लगानी व्यवस्थापन क्षमताको उपलब्धिका रूपमा लिएको छ।
यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ ले पनि इकाईधनीलाई औसत वार्षिक १२ प्रतिशत प्रतिफल दिएको थियो। सिटिजन्स क्यापिटलले हाल सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनालगायत विभिन्न सामूहिक लगानी कोष योजनाको व्यवस्थापन गर्दै आएको छ।
यसैबीच कम्पनीले अर्को नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ’सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको उक्त योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि शुरु हुने कम्पनीले जनाएको छ।
१० वर्षे अवधि रहेको यस योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ छ। माग र आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ। यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापन क्षमताका लागि इक्रा नेपालबाट ‘एएमसी क्वालिटी थ्रीप्लस’ रेटिङ प्राप्त गरेको जनाएको छ। विगतका योजनाबाट प्राप्त अनुभव र संस्थागत क्षमताको उपयोग गर्दै नयाँ योजनालाई पनि व्यवस्थित र व्यावसायिक रूपमा सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ।