सामान्य लगानीमा सुरु भएको गँड्यौला पालनले भारतको रोजगारी छाडेर स्वदेशमै काम गर्ने अवसरसँगै वार्षिक चारदेखि पाँच लाख रुपैयाँ नाफा दिलाएको छ।
कञ्चनपुर — सामान्यतया गँड्यौलालाई माटोभित्र बस्ने जीवका रूपमा मात्र बुझिन्छ । तर सही तरिकाले पालन र व्यवस्थापन गर्न सके यही गँड्यौला आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने उदाहरण बनेका छन्, कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीका उत्तम सुनार ।
चार वर्षअघि युट्युब हेरेर सामान्य रूपमा सुरु गरेको गँड्यौला पालन अहिले सुनारको परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । गँड्यौलाको प्रयोगबाट प्राङ्गारिक मल अर्थात् भर्मी कम्पोस्ट उत्पादन गर्दै आएका उनले मलसँगै गँड्यौला बिक्रीबाट पनि आम्दानी गरिरहेका छन् । अहिले उनको व्यवसायबाट वार्षिक ८ देखि ९ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ । सबै खर्च कटाउँदा वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्म नाफा हुने गरेको सुनार बताउँछन् ।
गँड्यौला पालक सुनार भन्छन्, 'सुरुमा युट्युब हेरेर आफ्नै खेतबारीमा प्रयोग गर्ने उद्देश्यले गँड्यौला पालन सुरु गरेको हुँ । यसबाट व्यावसायिक रूपमा आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन । तर विस्तारै यसको महत्त्व र बजारको सम्भावना बुझ्दै गएपछि व्यवसायलाई विस्तार गर्दै लगेँ । अहिले वार्षिक ८ देखि ९ लाख रुपैयाँसम्मको कारोबार हुन्छ र खर्च कटाएर ४ देखि ५ लाख रुपैयाँसम्म बचत हुन्छ ।'
सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्ने उद्देश्यले सामान्य रूपमा गँड्यौला पालन थालेका थिए । तर बजारको सम्भावना र प्राङ्गारिक मलको माग बुझ्दै गएपछि उनले व्यवसाय विस्तार गर्दै लगे । अहिले उत्पादन, व्यवस्थापनदेखि बिक्रीसम्म परिवारका सदस्य नै खटिने गरेका छन् ।
सुनारको यो व्यवसायले परिवारको आर्थिक अवस्थामा मात्र परिवर्तन ल्याएको छैन, रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई समेत कम गरेको छ । उत्तमका बुबा मकर सुनार पहिले रोजगारीका लागि भारत जाने गर्थे । छोराले युट्युब हेरेर गँड्यौला पालन सुरु गर्दा यसबाट परिवारको जीविकोपार्जन नै गर्न सकिन्छ भन्ने उनलाई पनि लागेको थिएन । छोराको निरन्तर मेहनत र व्यवसाय विस्तारसँगै अहिले उनी पनि भारतको रोजगारी छाडेर स्वदेशमै कृषि उद्यममा जोडिएका छन् ।
मकर भन्छन्, '२० वर्षजति भारतका विभिन्न ठाउँमा मजदुरी गरेँ । ४ वर्षअघि छोराले गँड्यौला पालन सुरु गर्दा यसबाटै परिवार चलाउन सकिन्छ भन्ने विश्वास थिएन । तर अहिले यही व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मैले पनि भारत जान छाडेको छु । आफ्नै घरमा बसेर परिवारसँगै काम गर्न पाउँदा खुसी लागेको छ ।'
मकर अहिले छोरासँगै गँड्यौला पालन र भर्मी कम्पोस्ट मल उत्पादनमा सक्रिय छन् । सामान्य रूपमा सुरु भएको कामले परिवारका सदस्यलाई आफ्नै ठाउँमा रोजगारी दिएको र घरपरिवारको आम्दानीको भरपर्दो आधार बनेको उनको अनुभव छ ।
उत्तमको अनुभवमा गँड्यौला पालन सुरु गर्न ठूलो लगानी, धेरै जग्गा वा अत्याधुनिक प्रविधिको आवश्यकता पर्दैन । सामान्य प्राविधिक ज्ञान, गोबर तथा अन्य जैविक पदार्थको व्यवस्थापन र गँड्यौलाको उचित हेरचाह गर्न सके घर वा खेतबारी नजिकैबाट पनि यसको व्यावसायिक उत्पादन सुरु गर्न सकिन्छ । आफ्नै खेतका लागि गुणस्तरीय प्राङ्गारिक मल तयार गर्न सकिने र बढी भएको मल तथा गँड्यौला बिक्री गरेर अतिरिक्त आम्दानी गर्न सकिने उनको भनाइ छ ।
गँड्यौला पालनको अर्को महत्त्वपूर्ण पक्ष यसको वातावरणीय र कृषि उपयोगिता हो । गाईभैंसीको गोबर, बोटबिरुवाका अवशेष तथा अन्य कुहिने जैविक फोहोरलाई गँड्यौलाको माध्यमबाट प्रशोधन गरेर भर्मी कम्पोस्ट मल तयार गरिन्छ । यस्तो मलले माटोमा प्राङ्गारिक पदार्थ थप्नुका साथै माटोको संरचना, पानी धारण गर्ने क्षमता र जैविक गतिविधि सुधार गर्न सहयोग पुर्याउँछ ।
वातावरणविद् भोजराज भट्टका अनुसार, कृषि उत्पादन बढाउन रासायनिक मलको प्रयोगमा निर्भर भइरहेका बेला भर्मी कम्पोस्टलाई माटोको दीर्घकालीन स्वास्थ्य सुधार गर्ने विकल्पका रूपमा लिन सकिन्छ । उनी भन्छन्, 'गँड्यौला मल माटोको प्राकृतिक उर्वराशक्ति पुनःस्थापित गर्ने उपाय पनि हो । जैविक फोहोरलाई मलमा रूपान्तरण गर्न सके फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा समेत ठूलो योगदान पुग्छ । यसले माटोको स्वास्थ्य र वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ ।'
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कञ्चनपुरका अनुसार नेपालको माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम्तीमा पाँच प्रतिशत हुनुपर्नेमा हाल औसत १ दशमलव ९६ प्रतिशत मात्रै रहेको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी र रासायनिक मलको असन्तुलित प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक गुणमा असर पारिरहेको छ । माटोमा प्राङ्गारिक पदार्थको मात्रा घट्दै जाँदा उत्पादन क्षमतामा ह्रास आउनुका साथै खेती प्रणालीको दीर्घकालीन दिगोपनामा समेत असर पर्न सक्छ । यस्तो अवस्थामा गोबर र जैविक फोहोरबाट तयार गरिने भर्मी कम्पोस्ट मलको प्रयोगले माटोको स्वास्थ्य सुधार गर्न सहयोग पुग्ने कृषि प्राविधिकहरूको भनाइ छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, कञ्चनपुरका कृषि अधिकृत ध्रुवराज जोशी भन्छन्, 'माटोको उर्वराशक्ति कायम राख्न रासायनिक मलसँगै प्राङ्गारिक मलको सन्तुलित प्रयोग आवश्यक छ । भर्मी कम्पोस्टको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सके माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउन र दिगो कृषि प्रणाली विकास गर्न सहयोग पुग्छ । यसका लागि हामीले पनि काम गरिरहेका छौँ ।'
उनका अनुसार, कृषिमा बढ्दो उत्पादन लागत, रासायनिक मलको अभाव र माटोको घट्दो उर्वराशक्तिबीच गँड्यौला पालन तथा भर्मी कम्पोस्ट उत्पादन किसानका लागि वैकल्पिक उद्यम बन्न सक्छ । यसले एकातिर घरमै उपलब्ध गोबर र जैविक फोहोरको सदुपयोग गर्न सघाउने र अर्कोतिर गुणस्तरीय प्राङ्गारिक मल उत्पादन र बिक्रीबाट आम्दानीको अवसर सिर्जना गर्ने उनले बताए ।
हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।