१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
२० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो ।
तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो । बुधबार एक न्यायाधीशको इलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा भएका थिए ।
मन्त्रिपरिषदको निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।